Skip This
दुर्गममा सेनाको स्वास्थ्य शिविर, सात सयजना लाभान्वित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २२ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २२ मंगलबार १o:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्गममा सेनाको स्वास्थ्य शिविर, सात सयजना लाभान्वित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २२ मंगलबार १o:४४:oo

दुधपोखरी गाउँपालिका– २ विचौरका ७०  वर्षीय हेमराज दवाडी गाउँमै उपचार पाउँदा निकै खुसी छन् । हातमा सधैँ बन्दुक बोकेर हिँड्ने गरेका सेना अहिले बन्दुक बोकेर होइन, गाउँलेको उपचारका लागि औषधिका प्याकेट बोकेर घरनजिकै आएको देख्दा उनी खुसी भएका छन् । उनी मात्र हाेइन, दुधपोखरी– १ बागमती गुरुङ पनि गाउँमै परीक्षण गर्न पाउँदा खुसी भएकी छिन् । 

उनी भन्छिन्, ‘सेनाले गाउँमै आएर स्वास्थ्य परीक्षण गरायो, एकदमै खुसी छु ।’ लमजुङको बेँसीसहरबाट ६ घण्टाको यात्रापछि जिल्लाकै कर्णालीको रूपमा चिनिने दुधपोखरीको बिचौर पुगिन्छ । स्वास्थ्यमा पहुँच नभएका स्थानीय घरदैलोमै उपचार गर्न सेना आएपछि खुसी भएका हुन् । 

नागरिकसँगको सम्बन्धलाई नजिक बनाउन स्वास्थ्य शिविरको आयोजना गरिएको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाको श्री नं. ३ बाहिनी अड्डाको आयोजना र चण्डीप्रसाद गणको संयोजन तथा विभिन्न स्वास्थ्य संघसंस्थाहरूको सहयोगमा दुधपोखरी गाउँपालिका– २ बिचौरस्थित बागीश्वरी माध्यमिक विद्यालयको प्रांगणमा स्वास्थ्य शिविरको आयोजना गरेको हो । 

लमजुङ जिल्लामा बसोवास गर्ने बहालवाला नेपाली सैनिक, भूपू सैनिक एवं तिनका आश्रित परिवार तथा स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गलाई लक्षित गरी नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ गराउने उद्देश्यअनुरूप पश्चिम पृतना हेडक्वार्टर पोखराको निर्देशनमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको चण्डीप्रसाद गणले जानकारी दिएको छ ।

श्री नं. ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी गौरवकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त स्वास्थ्य शिविरमा चार सय २६ जना महिला र दुई सय ५८ जना पुरुष गरी ६ सय ८४ जनाले निःशुल्क स्वास्थ्य सेवा र औषधि  पाएका थिए । शिविरिमा ४५ जनाले छाला तथा यौनरोग, एक सयजनाले जनरल तथा मेडिकलअन्तर्गत मुटुरोग, आँखा, हाडजोर्नी तथा नशा रोग, एक सयजनाले स्त्री तथा प्रसूति रोग, ५० जनाले नाक, कान, घाँटी (इएनटी), ४१ जनाले फिजियोथेरापी, ३४ जनाले मनोविमर्श, एक सय १७ जनाले दाँतसम्बन्धी सेवा पाए ।

शिविरमा चार सय ११ जनाले भिडियो एक्सरे र एक सय ५३ जनाले प्रयोगशालाको सेवा लिएको चण्डीप्रसाद गणका गणपति प्रमुख सेनानी चित्रकुमार कार्कीले बताए । स्वास्थ्य शिविरमा लमजुङको विकट मानिने दुधपोखरीमा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सञ्चालन भएपछि स्थानीय बिचौर, दुधपोखरी, इलमपोखरी, कोल्की, भलायखर्कदेखि गोरखा भच्चेकसम्मका स्थानीयले सेवा पाएका थिए ।

शिविरमा सैनिक अस्पताल पोखराका विशेषज्ञ डाक्टरहरू, लमजुङ अस्पताल, जिल्ला स्वास्थ्य कार्यालय लमजुङ, नमुना सामुदायिक अस्पताल सुन्दरबजार, श्री नं. ३ फि.ए. गुल्म, ताल बाराही डेन्टल केयर सेन्टर प्रा.लि. बेँसीसहर र चण्डीप्रसाद गणबाट खटिएका स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए । नेपाली सेनाका २२ जना र अन्य विशेषज्ञ १९ जना गरी ४१ जना चिकित्सक एवं स्वास्थ्यकर्मीको टिम शिविरमा खटिएको प्रमुख सेनानी कार्कीले जानकारी दिए । जिल्लाका दुर्गम भेगका स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्ने तथा नागरिक र सेनाबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरेको सेनाले जनाएको छ ।