Skip This
सुशासन र विकासको अभियानमा सहयोग नपाएपछि सत्ताको समीकरण फेरियो : पोखरेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २१ सोमबार
  • Saturday, 27 July, 2024
२o८o फाल्गुण २१ सोमबार १९:५३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुशासन र विकासको अभियानमा सहयोग नपाएपछि सत्ताको समीकरण फेरियो : पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २१ सोमबार १९:५३:oo

माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थालेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा सत्ता सहयात्री दलबाट सहयोग पाउन नसकेपछि राजनीतिक समीकरण फेर्नुपरेको बताएका छन्। 

माओवादी सुदूरपश्चिम इन्चार्जसमेत रहेका पोखरेलले आज धनगढीमा पत्रकारसँग कुरा गर्दै कार्यशैली कमजोर भएका मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन चाहे पनि सम्बन्धित दलले नमान्दा गठबन्धनमा समस्या देखिएको बताए।

‘प्रधानमन्त्रीले सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित अभियान सुरु गर्नुभएको छ, तर कतिपय मन्त्रीले त्यसमा न्यूनतम भूमिका पनि निर्वाह गर्न सकेनन्। उनीहरूलाई हटाउनुपर्ने आवश्यकता थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले हटाउन खोज्नुभयो तर गठबन्धनको नाममा सम्बन्धित पार्टीहरूले हटाउनै चाहेनन्।’ 

अर्थ मन्त्रालयको कार्यशैली पनि गठबन्धनमा समस्या आउनुको अर्को प्रमुख कारण रहेको उनले बताए। अर्थमन्त्रीले प्रधानमन्त्रीसँग लय मिलाएर हिँड्न नसकेको पोखरेलको भनाइ छ।

‘अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयसँग लय मिलाएर हिँड्नुपर्ने हो, तर हिँडेन। यसले सरकार सञ्चालनका हरेक कुरामा ठूलो समस्या पर्‍यो,’ उनले भने, ‘प्रधानमन्त्री कार्यकारी भए पनि प्रधानमन्त्रीका कतिपय निर्देशन मन्त्रीहरूले मानेनन्, त्यसमा सम्बन्धित पार्टीहरूले पनि सहजीकरण गरिदिएनन्।’ प्रधानमन्त्री एक्लैले मात्र परिणाम निकाल्न नसक्ने उनले बताए।

कांग्रेस महासमिति बैठकमा प्रस्तुत प्रतिवेदनमा माओवादी जनयुद्धलाई अपमान गरिनु पनि सत्तागठबन्धन समस्या निम्त्याउनुको अर्को कारण बनेको पोखरेलको भनाइ छ। सत्ता सहयात्री दल भए पनि कांग्रेसले आफ्नो प्रतिवेदनमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेको जनयुद्धलाई अपमान गरेको उनले बताए। 

‘जनयुद्धलाई अपमान गर्ने, त्यसका मूल्य-मान्यतालाई विद्रुपीकरण गर्ने काम कांग्रेस महासमितिले गर्‍यो। पश्चगामी शक्तिले चुनौती खडा गरेका वेला गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा संविधानको प्रावधानविरुद्धका विषयहरू त्यहाँ उठान भए,’ उपमहासचिव पोखरेलले भने, ‘गठबन्धनमा चलिरहँदा अब गठबन्धन नगर्ने भनेर बेमौसमी बाजा बजायो। यी कारणले पनि गठबन्धनमा समस्या आयो।’

माओवादीलाई राष्ट्रिय सभा अध्यक्ष दिन कांग्रेसले अस्वीकार गर्दा पनि अविश्वास बढेको उनको भनाइ छ। पोखरेलले एकीकृत समाजवादीलगायत दललाई पनि सरकारमा ल्याउन छलफल चलिरहेको बताए।

सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी पाएपछि पहिलोपटक यहाँ आएका उनले अर्को प्रसंगमा सुदूरपश्चिममा माओवादीभित्र देखिएको विवाद समाधान गरेर जाने बताए। उनले यहाँ पार्टीभित्रको समस्याबारे नेता-कार्यकर्तासँग आफूले छलफल थालेको बताए। 

‘पार्टीमा यहाँका समस्याबारे नेतृत्वसँग छलफल गर्नुपर्ने देखेको छु,’ पोखरेलले भने, ‘सुदूरपश्चिममा पार्टीलाई एकताबद्ध र व्यवस्थित गर्ने पहल गर्छु।’ 

प्रदेश इन्चार्ज र सहइन्चार्ज नियुक्तिको विषयमा माओवादी सुदूरपश्चिममा विवाद चर्किएको छ। संसदीय दलको नेताबाट हटाएको र आफूलाई जिम्मेवारीविहीन बनाएको भन्दै स्थायी समिति सदस्य खगराज भट्ट असन्तुष्ट छन्।