१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण २० आइतबार २३:२३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोक्षदा स्कुलको अभिभावक दिवस सम्पन्न

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण २० आइतबार २३:२३:००

मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए ।

राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद विष्णुदेवी पुडासैनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्रछात्रा तथा शिक्षिकाहरूले नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए । साथै, सोही समारोहमा विद्यालयको नाटक क्लबमा आबद्ध छात्रछात्राबाट सुरेश चन्दद्वारा लिखित तथा निर्देशित नाटक ‘स्कूल डट कम’ प्रदर्शन गरिएको थियो भने विद्यालयको योग क्लबका छात्रछात्राद्वारा योगकला पनि प्रदर्शन गरिएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि पुडासैनीले मोक्षदा स्कुलले बालबालिकालाई गुणस्तरीय शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्दै भविष्यमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गरिन् । ‘हाम्रो टोलमा खुलेको यस विद्यालयले स्थापनाकालदेखि नै राम्रो गर्दै आएको छ,’ पुडासैनीले भनिन्, ‘भविष्यमा अझै प्रगति भएको र यस क्षेत्रकै उत्कृष्ट विद्यालय बनेको देख्न पाइयोस्, शुभकामना छ ।’ 

अभिभावकहरूको खचाखच उपस्थिति रहेको सो कार्यक्रममा विशेष अतिथि जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेतीले स्वच्छ र स्वस्थ आहारविहारको विषयमा जनचेतनामूलक विचार प्रस्तुत गरेकी थिइन् । 

‘तपाईंहरू आफ्ना सन्तानलाई माया गर्नुहुन्छ भने उनीहरूलाई कुनै हालतमा पत्रु खाना (जंक फुड) नदिनहोस्,’ उपस्थित अभिभावकलाई सम्बोधन गर्दै डा. उप्रेतीले भनिन्, ‘यसले बालबालिकालाई शारीरिक र मानसिक रुपमा कमजोर बनाउँछ, शरीरका विभिन्न अंगलाई रोगी बनाउँछ ।’ 

बालबालिकाले खाने स्वस्थ र स्वच्छ खानाबाटै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सबल हुने भएकाले उनीहरूको खानपिन र आहारविहारमा अभिभावक तथा विद्यालय विशेष चनाखो हुनुपर्नेमा डा. उप्रेतीले जोड दिइन् । 

काठमाडौं महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष आशामान संगतले आफ्नो वडामा रहेको मोक्षदा स्कुलले निकै राम्रो गरिरहेको भन्दै भविष्यमा अझै राम्रो गर्न सुझाव दिए । साथै, उनले वडासित समन्वय गरेर कुनै शैक्षिक कार्यक्रम गर्न विद्यालय तयार भएमा आफूले सक्दो सहयोग पुर्याउने पनि बताए । 

‘यस वडाका बालबालिकाको शैक्षिक स्तर उकास्न कुनै कार्यक्रम लिएर आउनुहुन्छ भने हामी त्यसका लागि सहयोग गर्न तयार छौँ,’ वडाध्यक्ष संगतले भने, ‘त्यसका लागि प्रस्ट कार्यक्रम र योजना लिएर आउनुहोस् ।’  

कार्यक्रममा अभिभावकहरूका तर्फबाट मन्तव्य प्रस्तुत गर्दै अभिभावक ताराप्रसाद डाँगीले विद्यालयले कम शुल्कमा बालबालिकालाई दिँदै आएको गुणस्तरीय शिक्षालाई कायम राख्नुपर्नेमा जोड दिए । प्रविधिमैत्री शिक्षामा थप जोड दिनुपर्नेमा पनि डाँगीले विद्यालयको ध्यानाकर्षण गराए । ‘आजका बालबालिकालाई प्रविधिमा आधारित शिक्षाको खाँचो छ,’ डाँगीले भने, ‘यसतर्फ विद्यालयको थप ध्यान जाओस् ।’

विद्यालयमा दुई वर्षभन्दा बढी समयदेखि सेवा गर्ने शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ठाकुर तिमल्सेनाले विद्यालयका विविध गतिविधिमाथि प्रकाश पारेका थिए । तिमल्सेनाले कार्यक्रममा विभिन्न वक्ताहरूबाट प्राप्त सकारात्मक सुझावलाई शिरोधार्य गरी कार्यान्वनको बाटोमा लाग्ने वचनबद्धतासमेत प्रकट गरे । 

कार्यक्रममा विद्यालयका छात्रछात्राले तयार गरेका विभिन्न हस्तकला, चित्रकला तथा शैक्षिक सामग्रीहरूको प्रदर्शनी पनि गरिएको थियो ।