Skip This
भरतमोहन स्मृति फाउन्डेसनको सहयोगमा कंकाली माध्यमिकमा सीप विकास प्रशिक्षण सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १८ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १८ शुक्रबार २o:५२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भरतमोहन स्मृति फाउन्डेसनको सहयोगमा कंकाली माध्यमिकमा सीप विकास प्रशिक्षण सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १८ शुक्रबार २o:५२:oo

भरतमोहन स्मृति फाउन्डेसनले काठमाडौंस्थित कंकाली माध्यमिक विद्यालयमा सीप विकास प्रशिक्षण कार्यक्रम सुरु गरेको छ। 

फाउन्डेसनले पाँचौँ स्मृति दिवसका अवसरमा शुक्रबार विद्यालयमा औपचारिक कार्यक्रम गरी उक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको हो। फाउन्डेसनले  चार वर्षदेखि आर्थिक, सामाजिक तथा विभिन्न क्षेत्रमा कार्यक्रम गर्दै आइरहेको छ।

यसपटकबाट सीप विकासमा विद्यालयसँग सहकार्य गर्न लागेको  फाउन्डेसनकी संस्थापक लिमा अधिकारीले बताइन्। पछिल्लो समय युवा तथा विद्यार्थी कामको खोजीमा विभिन्न मुलुकका गन्तव्य खोजिरहँदा यो कार्यक्रमले स्वदेशमै रोजगार बनाउन सक्ने उनको विश्वास छ।

‘हरेक दिन युवाहरू कामको खोजीमा हिँडिरहनुभएको छ। यसलाई रोक्नका लागि पनि विद्यालयस्तरमा नै सीप विकाससम्बन्धी तालिम आवश्यक छ,’ कार्यक्रममा बोल्दै संस्थापक अधिकारीले भनिन्, ‘यही महसुसपछि फाउन्डेसनले पहिलोपटक यस विद्यालयमा यो प्रशिक्षण दिन लागेको हो।’

उनका अनुसार सीप विकास प्रशिक्षणमा विभिन्न क्षेत्रका अनुभवी तथा विज्ञहरूले प्रशिक्षण गराउनेछन्। यसमा विद्यार्थीसँगै विद्यालयबाहिरका अन्य इच्छुकले पनि सीप सिक्न पाउनेछन्।

अंग्रेजी भाषा, कम्प्युटर, डिजिटल मार्केटिङलगायत विविध विषयमा तालिम दिइनेछ। साथै पछिल्लो समय युवाहरूको रोजाइमा रहेको स्टार्टअपबारे पनि सिकाउनेछ। जहाँ लगानीदेखि थुप्रै प्रक्रियाबारे तालिम दिइनेछ। 

‘यसले युवालाई स्वरोजगार मात्र बनाउँदैन, दक्ष जनशक्ति उत्पादन पनि हुनेछ,’ उनले थप भनिन्, ‘कार्यक्रम डेढ महिनासम्म चल्नेछ।’ फाउन्डेसनकी संस्थापक अधिकारीका अनुसार आगामी दिनमा चन्द्रागिरि नगरका अन्य विद्यालयसँगै नागार्जुन नगरपालिकामा सहकार्य गर्ने कार्यक्रम रहेको छ। 

कार्यक्रममा चन्द्रगिरि नगरपालिकाका मेयर घनश्याम गिरीले फाउन्डेसनले सुरु गरेको प्रशिक्षण कार्यक्रम स्वागतयोग्य रहेको बताए। उनका अनुसार अहिले पनि नगरभित्रका विद्यालयले मौलिक सीपहरू सिकाइरहेका छन्।

पढ्दै कमाउँदैको अवधारणाअन्तर्गत मुढा बुन्नेलगायत थुप्रै कार्यक्रम भइरहेको उनले बताए। यद्यपी, फाउन्डेसनले सुरू गरेको प्रशिक्षण नयाँ भएको उनको भनाइ छ। 

‘अहिले नगरभित्रका विद्यालयहरूमा हामीले थुप्रै कार्यक्रम गरिरहेका पनि छौँ। विद्यार्थीसँग मेयर कार्यक्रम निरन्तर भइरहेको पनि छ,’ कार्यक्रममा बोल्दै मेयर गिरीले भने, ‘विद्यालयमा चाहिने भौतिक र शैक्षिक पूर्वाधारका लागि नगरले सकेको सहयोग गरिरहेको छ, आगामी दिनमा पनि गर्नेछ।’

पुरानो नैकापमा रहेको कंकाली माध्यमिक विद्यालयमा हाल नौ सय विद्यार्थी अध्ययन गर्छन्। विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पनेरूका अनुसार विद्यालयमा ७४ वटा कक्षाकोठा छन्। जहाँ प्राविधिक तथा व्यावसायिक धारअन्तर्गत कम्प्युटर इन्जिनियरिङका कक्षा ९–१२ सञ्चालित छन्।