काठमाडौंको नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाबिहार र नक्साल भगवती मन्दिरको चिनारीसम्बन्धी जानकारी दिन क्युआर कोड राखिएको छ । सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक घुम्न आउने आगन्तुकले सजिलै जानकारी पाऊन् भनेर वडा कार्यालयले प्रविधिको प्रयोग गर्न थालेको हो ।
‘घुम्न आउने सबैजसोसँग स्मार्ट फोन हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा–पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय कसैलाई सोध्नुनपरोस् भनेर कोडको विकास गरेका हौँ,’ काठमाडौं महानगरपालिका–१ का अध्यक्ष भरतलाल श्रेष्ठले भने । वडाभित्र चारवटा प्राचीन ढुंगेधारा छन् । यस वडामा नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु, आधा शिव), साई केन्द्र, सोराहिटी (तीनधारा), जमल बिहार, लाल गणेशजस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् ।
वडासचिव सर्वज्ञराज पौडेलका अनुसार ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरू वडा नम्बर १ का विभिन्न मन्दिर, ढुंगेधारा, महाबिहारजस्ता सम्पदा क्षेत्रमा पनि आउँछन् । उनीहरूलाई स्मारकका बारेमा बुझ्न सहज होस् भनेर प्रयोगका रूपमा सुरुमा दुईवटा मन्दिर र एउटा महाबिहारको चिनारी क्युआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउनेछौँ । वडाले द सारंगको प्राविधिक सहयोगमा क्युआर कोड राखेको हो । क्युआर कोडमा नेपाली, अंग्रेजी, जर्मनी, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज, अरबिक गरी १० भाषामा अडियो पनि सुन्न सकिन्छ ।