बागमती प्रदेश सभामा विशेष समिति गठन भएसँगै सरकार र विपक्षी दलहरू एमाले र राप्रपाबीच देखिएको विवाद समाधान भएको छ । बजेट कार्यान्वयनको विषयमा सरकार र विपक्षी दलहरूबीच रहेको असहमतिका कारण प्रदेश सभा सञ्चालनमा समस्या भएको थियो ।
चालू आर्थिक वर्ष ०८०/८१ को बजेट समानुपातिक रूपमा वितरण नभएको, सत्तारुढ दलका सांसद र केही प्रभावशाली नेताहरूको निर्वाचन क्षेत्रमा मात्रै बजेट पारेको भन्दै विपक्षी दलहरूले पटक–पटक प्रदेश सभा अवरुद्ध पार्दै आएका थिए । तर, विशेष समिति गठन भएसँगै प्रदेश सभा सञ्चालन भएको छ ।
बिहीबार बसेको संसद् बैठकले प्रदेश सभा नियमावली, २०७४ पहिलो संशोधनको नियम १५२ बमोजिम ०८०/८१ को बजेट तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विशेष समिति गठन गरेको हो । सत्तापक्ष र विपक्षी दलहरूबीचको सहमति कार्यान्वयन गर्न र संसद्को गतिरोध अन्त्यका लागि विशेष समिति गठन गरिएको माओवादी बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
ढकालले बिहीबार पेस गरेको विशेष समिति गठनसम्बन्धी प्रस्तावलाई कांग्रेस बागमती प्रदेश संसदीय समितिका सचेतक गोविन्द लम्साल, एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेल र राप्रपाका सांसद राजेन्द्र प्रजापतिले समर्थन गरेका थिए । संसद्मा पेस भएको समिति गठनसम्बन्धी प्रस्ताव सर्वसम्मतले स्वीकृत भएको सभामुख भुवनकुमार पाठकले रुलिङ गरेका थिए ।