१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गगन अयडी बाजुरा
२०८० फाल्गुण १४ सोमबार ११:४०:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ठेक्का हत्याएर ठेकेदार फरार, खोज्दै प्रशासन

जयबागेश्वरी र गुदुखाती स्वास्थ्य चौकी भवन, बार्जुगाको पुल, साँफे–मार्तडी सडकको बल्दे सडकखण्डलगायतमा सबैभन्दा बढी ढिलासुस्ती

Read Time : < 1 मिनेट
गगन अयडी, बाजुरा
२०८० फाल्गुण १४ सोमबार ११:४०:००

जिल्लाभरका सडक, पुल, स्वास्थ्य चौकी, विद्यालय भवन, सिँचाइ, खानेपानीलगायतका विभिन्न पूर्वाधार विकास योजनाको भुक्तानी लिएर वर्षौँसम्म निर्माण सुरु नगर्ने ठेकेदारको सूची बनाएर जिल्ला प्रशासन कार्यालय, बाजुराले खोजी सुरु गरेको छ । विकास निर्माणको काममा परेको बाधा र जिल्लावासीले भोग्नुपरेको सास्तीलाई ध्यानमा राखेर कामलाई तीव्रता दिन निर्माण व्यवसायीहरूको खोजी सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए ।

उनका अनुसार निर्माण व्यवसायीको ढिलासुस्तीकै कारण दर्जनौँ योजना बाजुरामा अलपत्र छन् । ठेक्का लिने, तर काम नगरी बेपत्ता हुने  ठेकेदारको संख्या बढ्न थाले पछि जिप्रकाले चासो देखाएको हो । अहिले स्थानीय तह, राजनीतिक दल, सरोकारवाला निकायलगायतको सहयोगमा निर्माण व्यवसायीको खोजी थालिएको प्रजिअ पौडेलले बताए ।

उनको सक्रियतामा जिल्लामा रहेका संघ तथा प्रदेशमातहतका कार्यालयका प्रमुख र निर्माण व्यवसायी राखेर शुक्रबार समन्वयात्मक बैठकसमेत राखिएको थियो । ठेक्का सम्झौतामा उल्लेख भएका अधिकांश योजनाहरूको निर्माण गरिसक्ने मिति गुज्रिँदा पनि निर्माण नै सुरु नभएको जिप्रकाले जनाएको छ । ‘निर्माण कार्य अघि बढाउन ठेकेदारलाई ताकेता गर्दा वास्ता गर्न छाडेका छन् । फोनसमेत उठाउने गरेका छैनन्,’ प्रजिअ पौडेलले भने ।

जयबागेश्वरी र गुदुखाती स्वास्थ्य चौकी भवन, बार्जुगाको पुल, साँफे–मार्तडी सडकको बल्दे सडकखण्ड, मार्तडी–कोल्टीको चुथी, ढम्कने, पाण्डुसैन सडकखण्ड, सेरा आटीचौर कालोपत्रेमा सबैभन्दा ढिलासुस्ती देखिएको छ । पहिलो चरणमा ठेकेदार कम्पनीको सूची, कामको अवस्था र योजनाको प्रगति संकलन गर्ने र विषयलाई खुला छलफलका रूपमा अघि बढाउने गरी बैठक सकिएको छ । पूर्वाधार विकास कार्यालयले मार्तडी–कोल्टी सडकको कामलाई तीव्रता दिई अप्ठ्यारो ठाउँबाट काम सुरु गरी बाटो सहज गर्नतर्फ ध्यान दिने र विकासे कार्यालयले आवश्यकताका आधारमा निर्माणका कामलाई प्राथमिकीकरण गरी निर्माण कार्यलाई निरन्तरता दिने बैठकले निर्णय गरेको छ ।