ज्यान मारेको कसुर मुद्दामा १० वर्ष कैद सजाय तोकिएपछि फरार भएका इस्लाम मियाँ धुनिया ३८ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार लहान नगरपालिका– १८ बयरबोना गाउँका ७० वर्षीय धुनियालाई गाउँघरमा लुकिछिपी बसिरहेको सूचनाका आधारमा पक्राउ गरी आइतबार जिल्ला अदालतमा पेसपछि कैद सजाय भुक्तानका लागि सिराहा कारागार चलान गरिएको छ ।
९ कात्तिक ०३६ मा लहान– २४ गोविन्दपुरका खट्टर महतोको ज्यान मारेको कसुरसम्बन्धी मुद्दामा सिराहा जिल्ला अदालतले अभियोग ठहर गर्दै १० माघ ०४२ मा मियाँलाई १० वर्ष कैद सजायको फैसला गरेको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मुक्तराम सापकोटाले जानकारी दिए ।
अदालतले फैसला सुनाएपछि फरार रहेका मियाँलाई लहान प्रहरीचौकीबाट खटिएको प्रहरी टोलीले घरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान गरी भोलिपल्ट आइतबार अदालतमा उपस्थित गराइएपछि कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको उनले बताए ।