१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार १०:४६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पदयात्राका पाँच गन्तव्य

नेपालमा केही त्यस्ता पदमार्ग छन्, जहाँ बाह्रै महिना यात्रा गर्न सकिन्छ । यी स्थानमा अग्ला हिमशृंखलाको दृश्य, साँघुरा गल्ली, दुर्लभ पशुपन्छी तथा विशाल हरियाली फाँटहरूसहित सुन्दर परिदृश्य र स्थानीयको रहनसहनलाई नजिकबाट नियाल्न पाइन्छ ।

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण १४ सोमबार १०:४६:००

कोरी ट्रेक :  प्रकृतिप्रेमीहरूले कोरी ट्रेकमा जान रुचाउने गरेका छन् । काठमाडौंदेखि पोखरा, सिकलेस हुँदै यहाँ जान सकिन्छ । यहाँबाट अन्नपूर्ण, फिस्टेल, गौरीशंकरलगायतका हिमाललाई नजिकबाट देख्न सकिन्छ । यसक्रममा सिकलेसको स्थानीय गुरुङ संस्कृतिलाई पनि नियाल्न पाइन्छ । पहिलो दिन काठमाडौंदेखि सिकलेस, दोस्रो दिन सिकलेसदेखि तर्खाखर्का, तर्खाखर्काबाट कोरीडाँडा पुग्न सकिन्छ । यात्राका लागि जम्मा पाँच दिन समय छुट्याउँदा हुन्छ । 

गन्जला पास :  सिन्धुपाल्चोक र रसुवा जिल्लामा पर्ने ‘गन्जला पास ट्रेक’ आमा याङ्ग्री, जुगल, लाङटाङलगायत हिमालको दृश्य हेर्नका लागि प्रसिद्ध छ । यहाँको सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्यले जोकोहीलाई लोभ्याउँछ । यो पदमार्गको आकर्षण ह्योल्मो तथा तामाङ संस्कृति, पुरातात्विक  महत्वका गुम्बा, धार्मिक स्थललगायत स्थानीय रहनसहन पनि हो । यहाँ हरियाली जंगल, विभिन्न प्रजातिका चराचुरुंगी, ग्रामीण क्षेत्रको अनुभव लिन सकिन्छ । काठमाडौैंदेखि सेर्माथाङ तार्केघ्याङ बसयात्रा गर्न सकिन्छ । यो पदयात्रा लगभग १० दिनमा सकिन्छ । 

लुम्बासुम्बा :  लुम्बासुम्बा अर्काे साहसिक पदयात्राको गन्तव्यमा पर्छ । ५,१५२ मिटरको यो पदमार्ग ताप्लेजुङबाट सुरु भएर संखुवासभामा सकिन्छ । यात्राको दौरान लिम्बू, तामाङ, राई समुदायको संस्कृति देख्न सकिन्छ । कञ्चनजंघा, मकालुलगायत हिमालको दृश्य अवलोकन गर्न सकिन्छ । काठमाडौंबाट यहाँ पुगेर फर्कन लगभग दुई हप्ता समय छुट्याउनुपर्छ । 

गोसाइँकुण्ड  ः बौद्ध र हिन्दू समुदायको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध छ । पदयात्रा गर्दा लाङटाङ लिरुङ, गङचेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाल, विभिन्न हिमशृखंला देख्न सकिन्छ । विभिन्न प्रकारका वनस्पति, जीवजन्तु, रेडपान्डा, हिमालयन थार, हिमाली भालु, कस्तुरी मृग, हिमालयन बाख्रा, हिउँचितुवासहित धुपी र अन्य धेरै प्रजातिका वनस्पति तथा वन्यजन्तुहरू अवलोकन गर्न पाइन्छ । पदयात्रीले हिमाली भेगमा बसोवास गर्ने शेर्पा, तामाङ र तिब्बती समुदायको कला, संस्कृति, वेशभूषा खानपान र रहनसहनको अनुभव लिन सक्छन् । यो यात्राका लागि एक हप्ताको समय छुट्याए हुन्छ । 

तासी लाब्चा :  साहसिक पदयात्रा गर्न चाहनेहरूका लागि लागि दोलखा र सोलुखुम्बुको सिमानामा पर्ने तासी लाब्चा पदमार्ग उपयुक्त हुन्छ । ५,७५५ मिटर उचाइमा रहेको तासी लाब्चा पास पुग्न जोखिमपूर्ण छ । पदमार्गआसपास ‘रकफल’ हुने खतरा पनि उत्तिकै छ । तर, यो पदमार्ग खतरा भए पनि यात्रा गर्दा रोमाञ्चक हुन्छ । दोलखाको सिमी गाउँ वा सोलुखुम्बुको सल्लेरी लुक्लाबाट पनि जान सकिन्छ । शेर्पा संस्कृति, च्छो रोल्पा ताल, रोल्वालिङ हिमनदी, अग्ला हिमालहरूको दृश्यावलोकन गर्दा बेग्लै आनन्द दिन्छ । काठमाडौं–चरिकोट हुँदै चेतचेतसम्म बसयात्रापछि सिमीगाउँ, क्यल्चे, दोङगाङ, छिमु, बेडिङ, नागाउँ, च्छोरोल्पा ताल, रोल्वालिङ ग्लासियर, ठूलो दुंगा, तासी लाब्चा, थाङ्बो, थामे, नाम्चे, मन्जो, फाक्दिङ हुँदै लुक्ला पुगेर फर्कन सकिन्छ ।