मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
बालकृष्ण सिलवाल शर्मा
२०८० फाल्गुण २८ सोमबार १४:१०:००
Read Time : > 9 मिनेट
ब्लग डिजिटल संस्करण

रजहर सामुदायिक प्राकृतिक चिकित्सालय : स्वस्थ जीवनका लागि अनिवार्य गन्तव्य

Read Time : > 9 मिनेट
बालकृष्ण सिलवाल शर्मा
२०८० फाल्गुण २८ सोमबार १४:१०:००

रजहर सामुदायिक प्राकृतिक चिकित्सालय नेपालमा एक मात्र यस्तो चिकित्सालय हो, जहाँ विनाऔषधि र विनाशल्यक्रिया खानपान र प्राकृतिक पद्धतिबाट मानिसहरूका विभिन्न प्रकारका रोगहरूको निवारण गरिन्छ । यो चिकित्सालय देवचुली नगरपालिका वडा नम्बर १६ अन्तर्गत रजहर गाउँमा पर्दछ । यो गाउँ अति नै रमणीय छ । वरिपरि वन, दक्षिणपट्टिको नारायणी नदीको तट र गाउँले परिवेशमा बिरामीहरूले पाउने सेवा सधैँ सम्झनलायक छन् । 

चिकित्सालयभित्र प्रवेश गर्नेबित्तिकै तपाईंलाई लाग्छ, म वास्तवमा सही ठाउँमा आइपुगेको छु । कर्मचारीहरूको शालीन र सरल व्यवहार, चिकित्सकहरूको अति नै बुझ्ने शैलीमा बिरामीहरूलाई दिइने सुझाव तथा सल्लाह आदिले तपाईंको केही रोग त यसै निराकरण भएको महसुस गर्न सक्नुहुन्छ । हो, यही थरीथरीका चराहरूले गीत गाउने देवचुली नगरपालिकाको एउटा सानो गाउँभित्र अवस्थित सामुदायिक प्राकृतिक चिकित्सालयले विगत १३ वर्षदेखि अनवरत रूपमा देश तथा विदेशका विभिन्न सहजदेखि जटिल प्रकृतिका बिरामीहरूलाई सेवा दिँदै आइरहेको छ । 

वास्तवमा रजहर सामुदायिक प्राकृतिक चिकित्सालय देश–विदेशमा बस्ने र लामो समयसम्म निरन्तर काम गरेर विश्राम चाहिरहेका या कुनै पनि रोगले सताएर दुःखपूर्ण जीवन बाँचिरहेका रोगीहरूकोे लागि महत्त्वपूर्ण गन्तव्य हुन सक्छ, जहाँबाट मानिसहरूले नयाँ जीवन पाएर आफ्नो ठाउँ फर्किन सक्छन् । यहाँ सेवा प्राप्त गर्ने बिरामीहरू सेवा प्राप्त गरेपछि आफ्नो सन्तुष्टि विभिन्न हिसाबले जाहेर गर्ने गर्दा रहेछन् । धेरै मानिसहरूले भवन तथा अन्य आवश्यकीय उपकरण तथा दुध दिने गाईलगायत विभिन्न वस्तुहरू दान गर्ने र त्यसमार्फत सेवाहरू अझ बढी सहज र सफल बन्दै गएको देख्न सकिन्छ । 

यो चिकित्सालयको कारणले स्थानीय मानिसहरूले सेवा त पाएका छन् नै साथसाथै ५० भन्दा बढी मानिसहरूले रोजगारी पनि पाएका छन् । स्थानीयस्तरमा आर्थिक गतिविधिहरू बढेको छ । स्थानीयको साथ सहयोगमा सामाजिक सेवा र जनचेतनाका कामहरू यो चिकित्सालयले स्थापनाकालदेखि नै गर्दै आइरहेको छ । 

यहाँ अवलम्बन गरिएका प्राकृतिक उपचारका विधिहरूमा आहार नै औषधि, औषधि नै आहार मूलमन्त्र रहेछ । फलाहार, रसाहार र उपवास योग ध्यानसमेतमा अभ्यस्त गराउँदै नर्मल दुःखेका भागहरूको माटोपट्टी, आँखापट्टी, एनिमा, तातो तथा चिसो पानीमा खुट्टा डुबाउने, दुखेको भागमा तातो माटोले सेक्ने, हट हिप बाथ, लोकल स्टिम, स्टिम बाथ, सौना बाथ, पत्र पोटेली मसाज, भाइब्रो मसाज, शरीरको सम्पूर्ण अर्थात् तोकिएको भागको तेल वा पाउडर तथा सुक्खा मालिस, कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी, जल नेती, रबरनेती, सूत्रनेती, कुन शरीरको सम्पूर्ण भागमा माटो लेपन, ठूलो आन्द्रा सफा गर्ने आदि केही महत्त्वपूर्ण विधिहरू हुन् । 

कस्ता मान्छे आउँछन् ?
यहाँ प्रायः तीन किसिमका मानिसहरू स्वास्थ्यलाभ गर्न आउने गरेको पाइन्छ । पहिलो खालका मानिसहरूमा किड्नीको डायलाइसिस गर्न आवश्यक ठानिएका रोगीहरू, प्रेसरको कारणले अंग नचल्ने अवस्थामा अर्थात् प्यारालाइसिस भएका बिरामीहरू, अप्रेसनबाहेक विकल्प छैन भनेर भनिएका नशा तथा हाडजोर्नीका बिरामीहरू साथै अन्य विविध गहिरो र जटिल प्रकृतिका रोग लागेका मानिसहरू । 

विराटनगरबाट उपचार गराउन आएका विज्ञान अधिकारीले आफ्नो अनुभव यसरी सुनाए, ‘यहाँको उपचार र खानपानले यो दुई महिनाको अवधिमा मेरो स्वास्थ धेरै राम्रो भएको छ । एक्सिडेन्टपछि मेरो पेटको आन्द्रा बटारिएको थियो र लामो समयपछि यसको अप्रेसन गरियो । तर, मलाई ठीक भएन । म झोल पदार्थबाहेक केही खान नसक्ने अवस्थामा थिएँ । हाल यहाँको उपचारपछि मेरो स्वास्थ्य राम्रो बन्दै आएको छ र यहाँ दिइएका ठोस खाने कुराहरू खान म सक्षम भएको छु । मलाई विश्वास छ यहाँको अनवरत उपचारले मेरो स्वास्थ्यमा धेरै सुधार आउनेछ ।’

दोस्रो प्रकृतिका मानिसहरू भन्नाले टन्सिल, पिनास, अल्सर, सुगर, प्रेसर, अनिन्द्रा, ढाडका रोगी, महिनाबारी गडबढी, नि:सन्तानपन, दम, बाथ, कलेजोका रोगहरू, कब्जियत, पायल्स, माइग्रेन, मानसिक रोग आदिका रोगीहरू जो एकदेखि दुई महिनामा ठीक भएर जाने गर्छन् । 

राप्ती– १, गड्यौलीकी सुशीला राई भन्छिन्, ‘मेरो विगत २ वर्षदेखि खाना खाँदाखेरी अड्केजस्तो हुने, खाना खाएपछि गाँसैपिच्छे उल्टी हुने गर्थ्यो । हाल दुई महिनाको उपचारपछि पूर्ण रूपमा निको भएकी छु र यसका लागि चिकित्सालयको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’ 

चिकित्सालयले बिरामीलाई आकाश, वायु, अग्नि , (सूर्यको किरण  जल (पानी), पृथ्वी (माटो) आदि पञ्चतत्वको सहयोगको सहजता दिलाउन एव‌ं खानपान र जीवनशैली परिवर्तनमा सहजीकरण गर्छन्। 

तेस्रो प्रकृतिका बिरामीहरू भन्नाले रुघा, खोकी, ज्वरो, अपच तथा शरीर शुद्धीकरणका लागि आउने बिरामीहरू अर्थात् शरीर सर्भिसिङका लागि आउने बिरामीहरू जो आफ्नो स्वास्थ्यप्रति सजग छन् र रोग लाग्नुभन्दा अघि नै निदानका उपायहरू खोज्ने र सानातिना रोगहरू लागि हालेका छन् भने पनि निको पारेर १० देखि १५ दिनसम्म यहाँ बसेर जाने स्वास्थार्थीहरू ।  

विशेष गरेर विदेशी भूमिमा बसेर एकोहोरो प्रकृतिका कामहरू गर्ने र शारीरिक तथा मानसिक रूपले विक्षिप्त भइसकेका मानिसहरूले धेरैभन्दा धेरै फाइदा लिएको दृष्टान्तहरू यहाँ पाउन सकिन्छ । 

महोत्तरी जिल्लाबाट उपचार गराउन आउनुभएकी रञ्जिता विश्वकर्मा भन्छिन्, ‘मेरो समस्या नशासम्बन्धी, पाइल्स र ग्यास्ट्रिक थियो, जुन १५ दिनको बसाइमा राम्रो भएको छ । मजस्ता बिरामीलाई आएर यहाँ उपचार लिनको निम्ति अनुरोध पनि गर्दछु, किनकि यहाँको सेवा अति नै विश्वसनीय र गुणस्तरीय रहेको पाएँ ।’  

के–के छन्, उपचारविधि
यहाँ अवलम्बन गरिएका प्राकृतिक उपचारका विधिहरूमा आहार नै औषधि, औषधि नै आहार मूलमन्त्र रहेछ । फलाहार, रसाहार र उपवाश योग ध्यानसमेतमा अभ्यस्त गराउँदै नर्मल दुःखेका भागहरूको माटोपट्टी, आँखापट्टी, एनिमा, तातो तथा चिसो पानीमा खुट्टा डुबाउने, दुखेको भागमा तातो माटोले सेक्ने, हट हिप बाथ, लोकल स्टिम, स्टिम बाथ, सौना बाथ, पत्र पोटेली मसाज, भाइब्रो मसाज, शरीरको सम्पूर्ण अर्थात् तोकिएको भागको तेल वा पाउडर तथा सुक्खा मालिस, कम्मरपट्टी, छातीपट्टी, खुट्टा र हातपट्टी, जल नेती, रबरनेती, सूत्रनेती, कुन शरीरको सम्पूर्ण भागमा माटो लेपन, ठूलो आन्द्रा सफा गर्ने आदि केही महत्त्वपूर्ण विधिहरू हुन् । 

चिकित्सालयले बिरामीलाई आकाश, वायु, अग्नि, (सूर्यको किरण  जल (पानी), पृथ्वी (माटो) आदि पञ्चतत्वको सहयोगको सहजता दिलाउन एवं खानपान र जीवनशैली परिवर्तनमा सहजीकरण गर्छन् ।  

लेखक : बालकृष्ण सिलवाल शर्मा

स्थापनाको पृष्ठभूमि
तपाईंलाई लाग्न सक्छ, यति राम्रो र प्रभावकारी चिकित्सालय यो ठाउँमा कसरी स्थापना भयो ? करिब १७ वर्षअगाडि यस ठाउँका स्थानीय युवा व्यवसायी हरि सापकोटा निकै बिरामी परे । विभिन्न अस्पतालहरू धाए । तर, स्वास्थ्यमा सुधार आएन र परिवारका सदस्य तथा गाउँलेहरूले अन्तिम उपायको लागि उनलाई भारतको गोरखपुरमा रहेको प्राकृतिक चिकित्सालय पठाए । एम्बुलेन्समा राखेर सारा गाउँले स्वास्थ्यलाभको कामना गर्दै बिदा गरे । 

तर, जटिल प्रकृतिका धेरै रोग लागेकाले तीन महिनाको उपचारपछि पनि उनको समस्या निर्मुल हुन सकेन । निराश हुँदै उनी घर त फर्किए, तर बाँच्ने आशा मरेको थिएन । त्यसैले स्वदेशमा पनि त्यस प्रकारको उपचार केन्द्रको खोजी गरे । यसक्रममा पोखरामा पनि सोहीअनुसारको चिकित्सालय छ भन्ने सुनेकाले बाँच्ने आशा लिएर पोखरा पुगे । 

त्यहाँको तीन महिनाको उपचारपछि स्वास्थ्यमा सोचेभन्दा राम्रो सुधार भयो नयाँ जीवन पाएको उमंगमा उनले तीन वर्षसम्म त्यही प्राकृतिक चिकित्सालयमा स्वयंसेवकको रूपमा सेवा दिए । त्यो अस्पताल विविध कारणले त्यहाँ चल्न नसक्ने अवस्था आयो । जीवन नै जान लागेका बिरामीको जीवन फर्काउन सक्ने यो उपचार पद्धतिलाई यसै मर्न दिन हुँदैन भन्ने अठोट उनको मनमा जाग्यो । तर, आफ्नो जन्म ठाउँमा आएर प्राकृतिक चिकित्सालयको स्थापना गर्ने महत्वाकांक्षी सपनासहित रात दिन बिरामीहरूको सेवामा जुटे । 

उनको अगुवाइ, स्थानीय मानिसहरू, संघसस्था, सम्पूर्ण राजनीतिक दल, भ्रातृ संगठनहरूको साथ सहयोगमा प्राकृतिक चिकित्सालय स्थापनाका लागि महायज्ञ लगाइयो । उक्त महायज्ञ वाचनशिरोमणि पण्डित दीनबन्धु पोखरेलले सञ्चालन गरेका थिए । सो महायज्ञबाट एक करोड ४३ लाख रुपैयाँ संकलन भयो । 

उठेको उक्त रकमले पोखरामा सञ्चालनमा रहेको चिकित्सालयलाई रजहरमा स्थानान्तरण गरियो । उपकरणलगायत अन्य भुक्तानीहरूसहितको स्थानान्तरणका लागि जम्मा १८ लाख रुपैयाँ लाग्यो । बाँकी रकमबाट बाउन्न शय्याको चिकित्सालयको भौतिक संरचना निर्माण गरी २०६७ सालबाट अस्पताल सञ्चालनमा आयो ।  

सरकारी क्षेत्रको चासो र सहयोग
तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले १० बिघा जग्गाको भोगाधिकार र नेपाल सरकारको पहिलो अनुदान २० लाख रुपैयाँबाट चिकित्सालय सुरु भयो। चिकित्सालयको उद्घाटन २०६८ सालमा प्रधानमन्त्री झलनाथ खनालबाटै सम्पन्न भयो । 

करिव ८०० साधारण सदस्य तथा ५०० आजीवन सदस्य रहेको यस चिकित्सालयमा २९ जनाको कार्यकारी समिति छ । कार्यसमितिमा देशका विभिन्न भागबाट ६ जना मनोनीत गरिन्छ । प्रत्येक ४ वर्षमा साधारण भेलाले कार्यकारी समितिको चयन गर्छ ।  

यहाँ १०० जना बिरामीहरूलाई दैनिक रूपमा सेवा दिन सक्ने गरी शय्याहरूको व्यवस्था गरिएको छ । साथै, अन्य सहयोगीहरूसहित झन्डै तीन सय जति दैनिक रूपमा रहन सक्ने गरी व्यवस्था गरिएको छ । महिला तथा अशक्तहरूको लागि छुट्टै किसिमको उपचार युनिटहरूको व्यवस्था गरिएको छ । प्रत्येक दिन बिहान र बेलुका गरी दुई सिफ्टमा उपचार हुने गरेको छ । 

विभिन्न पेसा र व्यवसायमा आबद्ध राष्ट्रिय व्यक्तित्वहरूले यहाँ आएर सेवा लिने गरेका छन् । त्यसो त गणतन्त्रपछिका सबै प्रधानमन्त्री तथा उच्च ओहोदामा रहेका राष्ट्रिय व्यक्तित्वहरू पनि विभिन्न समयमा विभिन्न कार्यक्रमको अवसरमा तथा अनुगमन एवं अवलोकनको क्रममा यहाँ आएर सामुदायिक प्राकृतिक चिकित्सालयले दिइरहेको सेवाबारे जानकारी लिने गरेका छन् । 

उपचारमा सकारात्मक नतिजा प्राप्त हुन थालेपछि तथा उच्च राजनीतिक तथा सरकारी निकायका व्यक्तित्वहरूको भ्रमणका कारण सरकारको पनि यस कार्यको बढोत्तरीको लागि ध्यानाकर्षण भएको पाइन्छ । र, यसैको परिणाम स्वरूप नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पटक-पटकको अनुदानमा करिब आठ करोड रुपैयाँको लगानीमा ६२ कोठाको बिरामी आवास भवनको निर्माण भएको छ । 

यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्ण अनुदानमा ३० लाख रुपैयाँको लगानीमा आधुनिक महिला उपचार भवन निर्माण भएको छ । यहाँ ज्याकुजी, अन्डरवाटर मसाजर, सर्कुलर जेठ तथा स्पाइनल स्प्रे, वाटरपुल थेरापी, डिलक्स हिपबाथ, कोलोन हाइड्रो थेरापी आदि सेवा दिने गरिएको छ । 

गण्डकी प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त लगानीमा मोर्डन नेचुरोपेथी ट्रिटमेन्ट एवं टिचिङ अस्पताल भवन निर्माणाधीन छ । १३ करोड ३७ लाख रुपैयाँको लगानीमा रहेको उक्त भवनको हाल पाँच करोड रुपैयाँबराबरको रकम निकासा भएको छ भने सो रकमबराबरको काम सम्पन्न भएको छ । 

अपुग आठ करोड ३७ लाख रुपैयाँ नेपाल सरकारसँग माग गरिएको छ । देवचुली नगरपालिकाको अनुदानमा बिरामीहरूको लागि भोजनालय भवन निर्मित भएको हो । गार्ड घर, पार्किङ, दाता स्मारक भवन नेपाल सरकारले अनुदानमा निर्मित छ । 

करिब ७५० मिटरको बिरामी परिभ्रमण ट्र्याक जिल्ला विकास समिति तथा स्थानीय दाताको संयुक्त लगानीमा निर्मित भएको हो । गौपालन, गार्डेन र डिप बोरिङमा चौधरी ग्रुपको विशेष सहयोग रहेको छ । बिरामीहरूलाई अर्गानिक खानपान तथा मह-कागती पानी व्यवस्थापनका लागि ४० घार मौरी र अर्गानिक तरकारी खेती चिकित्सालयले नै व्यवस्था गरेको छ । करिब ४० हजार लिटरको ओभरहेड पानी ट्यांकीको व्यवस्था पनि चिकित्सालयले गरेको छ । 

यहाँ २३ कोठे सुविधा सम्पन्न आवासगृह पनि छ । श्यामकृष्ण स्मृति भवनले चिनिने यो आवासगृह गौरादेवी प्रधानले आफ्ना स्वर्गाीय श्रीमानको स्मृतिमा निर्माण गराएकी हुन् । स्किन सोराइसिसजस्तो जटिल रोग जुन अन्य विधाको उपचार पद्धतिबाट सन्चो हुँदैन भन्ने गरिन्छ, त्यस्तो रोग प्राकृतिक चिकित्सा उपचार रजहरको उपचारपछि निको भएपश्चात् गौरादेवीले स्वर्गीय श्रीमानको स्मृतिमा यो भवन निर्माणमा सहयोग गरेकी हुन् । 

चिकित्सालयका व्यवस्थापक हरि सापकोटाका अनुसार बिरामीहरूबाट लिइने न्यूनतम शुल्कबाट सञ्चालन काल २०६७ सालदेखि नै प्रशासनिक तथा अन्य सामान्य मर्मतसम्भार तथा सानातिना भौतिक निर्माणका कामहरू गरिँदै आइएको छ । 

अब भौतिक निर्माणका अन्य कामहरूमा के गर्न सकिन्छ भन्ने प्रश्नको जवाफमा व्यवस्थापक सापकोटा भन्छन्, ‘अधुरा रहेका भवनहरूको समयभित्र नै निर्माण हुन आवश्यक देखिएको छ । कम्पाउन्ड वाल लगाउनुपर्ने तथा योग ध्यान (मेडिटेसन)को लागि हलको निर्माण गर्नुपर्ने, उपचार उपकरणहरू, ल्याब्रोटरीलाई व्यवस्थित गर्नुपर्ने, फिजियोथेरापीलाई व्यवस्थित गर्नुपर्ने, हाइड्रोथेरापी उपचारका लागि वाटरपुल र स्विमिङ पुलको निर्माण गर्नुपर्ने, मोर्डन नेचुरोपेथी ट्रिटमेन्ट एवं टिचिङ अस्पताल भवन सम्पन्न भएपछि हाल सञ्चालनमा रहेका ५२ शय्याको संस्थापन भवनलाई सुविधा सम्पन्न जेष्ठ नागरिक अविभावक आश्रम उपचार केन्द्रको रूपमा विकास गर्नेसमेत वर्तमान अवस्थाका मुख्य प्राथमिकताहरू हुन् ।’ 

यस्ता संस्थाहरू र चिकित्सालयको विकास हुन सके भविष्यमा हुन सक्ने जस्तोसुकै माहामारी र विपतका वेला सरकारलाई सहज र सहयोग पुग्ने देखिन्छ । व्यवस्थापक सापकोटाका विचारमा नागरिकको स्वास्थ्यको जिम्मेवारीमा राज्य गम्भीर हुनुपर्दछ, स्वस्थ नागरिक राज्यको ठूलो पुँजी हो, नागरिक स्वस्थ भए मात्र राज्य सवल हुन्छ भन्ने मान्यता नीति निर्माताहरूले राख्नुपर्दछ । 

कोरोना महामारीमा उत्कृष्ट सेवा
चिकित्सालयले गर्दै आएका सामाजिक गतिविधिहरू पनि अनुकरणीय छन् । कोभिड १९ को महामारीका वेला यस चिकित्सालयमा आठ सयभन्दा बढी संक्रमितले सेवा पाएका थिए । जो यहाँ उपचारका लागि आइपुगे, उनीहरू सबैको जीवनरक्षा भयो । अर्थात्, सो समयमा बिरामीहरूको मृत्युदर शून्य प्रतिशत रह्यो । 

चिकित्सालयका स्टाफहरूले सात महिनासम्म पूर्ण रूपमा अनवरत सेवा प्रदान गरे । व्यवस्थापक सापकोटा भन्छन्, ‘कोभिड महामारीका वेला देशैभर त्रासको वातावरण थियो । संक्रमितहरूको मृत्युको संख्या बढ्दै गर्दा सबैमा त्रास थियो । घर बसे पनि मरिने, अस्पताल गए पनि नबाँचिनेजस्तो अवस्था आएको थियो । यस्तो त्रासको वेला सामुदायिक प्राकृतिक चिकित्सालयले आठ सयभन्दा बढी संक्रमितलाई सेवा दियो । यहाँ उपचारका लागि आइपुगेका कसैको पनि मृत्यु भएन् । सबै कोरोना जितेर घर फर्किनुभयो । हाम्रो लागि चुनौतीपूर्ण त्यो समयमा दिइएको सेवा निकै अर्थपूर्ण रह्यो ।’  

अन्य सामाजिक गतिविधि
कार्यकारी समितिका अध्यक्ष सन्तबहादुर क्षेत्री भन्छन्, ‘प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा, सामुदायिक शिक्षण अस्पतालअन्तर्गत शिक्षणका लागि स्थानीय जेहनदार आर्थिक विपन्न विद्यार्थीलाई आवश्यकता र अवस्था हेरी पढ्नका लागि संरक्षण कोटाको व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।’ 

अध्यक्ष क्षेत्रीका अनुसार २०६४ सालमा सम्पन्न महायज्ञमा दान गर्ने आजीवन र साधारण सदस्यहरूलाई क्रमशः ५० र ३५ प्रतिशत, स्थानीयलाई २५ प्रतिशत र साबिक छिमेकी गाविसका बासिन्दालाई समेत उपचार खर्चमा छुटको व्यवस्था गरिएको छ । यस्तै, आर्थिक रूपमा कमजोर वा कम आयस्रोत भएका स्थानीय तथा अन्यत्रबाट आउनुभएका बिरामीहरूलाई समेत आवश्यकता र अवस्था हेरी निःशुल्क उपचार प्रदान गरिँदै आएको छ । 

प्रांगारिक खेतीतर्फ स्थानीय कृषकहरूलाई जागरण गर्ने र आयआर्जनका गतिविधिहरूमा विभिन्न हिसाबले उत्प्रेरणा जगाउने जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका छन् । स्वस्थ जीवनशैलीका लागि आवश्यक पर्ने खाद्यवस्तुहरूको उपार्जनको लागि सहयोग गर्दै आइएको छ । यसको अलावा देवचुली नगरपालिकाभित्रका बोटे, मुसहर, माझी, थारू र अन्य सीमान्तकृत वर्गका मानिसहरूको विशेष गरेर छोरीहरूले कृषि तथा भेटेरेनरी अर्थात् प्राविधिक शिक्षाका लागि हाललाई पाँच वर्षसम्म सहयोग गर्ने गरी १५ लाख रुपैयाँको कोषको स्थापना गरिएको छ । यसमा मातृसेवा प्रतिष्ठानले सहयोग गर्ने भएको छ । जसका संस्थापक सफल उद्योगपति हरिप्रसाद पाण्डे हुन् । 

अध्यक्ष क्षेत्रीका अनुसार कर्मचारीको परिवारका सदस्यलाई उपचारमा शतप्रतिशत छुट दिइएको छ भने स्टाफहरूलाई एक महिनाको दसैँ खर्च सुविधा, वर्षको  दुईवटा युनिफर्म, वार्षिक रूपमा एकहप्ते देश तथा विदेश शैक्षिक अवलोकन अध्ययन भ्रमणहरू र महिनामा ४ दिन (४ शनिबारको सट्टा) बिदा र सरकारी कर्मचारीले पाउने सबै किसिमका बिदाहरूको सुविधा प्रदान गरिएको छ । 

कर्मचारीहरूलाई सिटिइभिटी तथा अन्य विविध ट्रेनिङहरू पनि उपलब्ध गराउँदै आइएको छ र क्षमता विकासका अन्य विविध तालिमहरू निरन्तर उपलब्ध गराइने लक्ष्य राखिएको छ ।

चिकित्सालयका निर्देशक डा. विनोद पौडेलका अनुसार चिकित्सालयले स्थानीय समूह, संघ, संस्था, स्कुल कलेज, सहकारीहरूसँग सहकार्य गर्दै योग र प्राकृतिक चिकित्साको महत्त्व, जीवनशैली सुधारसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू निःशुल्क रूपमा सञ्चालन गर्दै आएको छ । देशव्यापी रूपमा ७७ वटै जिल्लामा त्यस्ता कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको छ । 

‘भान्सा नै औषधालय साथै महिला स्वास्थ्य जागरण कार्यक्रम, नसर्ने रोगहरूमा खानपिन र जीवनशैली परिवर्तन आजको आवश्यकता, स्वास्थ्यका लागि खेलकुद, प्राकृतिक जीवनशैली साथै योगाभ्यास, प्राथमिक उपचार साथै इमर्जेन्सी म्यानेजमेन्ट आदि चिकित्सालयले सञ्चालन गर्दै आएका कार्यक्रमहरू हुन्,’ निर्देशक पौडेल भन्छन्, ‘निःशुल्क चिकित्सक परामर्श र योग कक्षा स्थानीयस्तर र देशव्यापी रूपमा सञ्चालन गरिरहेका छौँ । उपचार नपाए रजहर जानु भन्न सकिने अवस्था बनेको छ ।’ 

निर्देशक पौडेलका अनुसार रजहरको यस चिकित्सालय अस्पतालको पनि अस्पतालको रूपमा पहिचान बनाइसकेको कारणले गर्दा मानिसहरूले धेरै सेवाहरू प्राप्त गरेका छन् । चिकित्सालयले प्रदान गरेको एम्बुलेन्स सेवाको कारणले मानिसहरू ढुक्कसँग सुत्न पाएका छन् । चिकित्सालयले घरघरमा अक्सिजन सेवा, अशक्तहरूका लागि घरैमा ल्याब टेस्टको लागि रक्त संकलन कार्यदेखि लिएर चिकित्सक सेवा र अवस्था क्रिटिकल भएका बिमारीलाई घरमै उपचार सेवासमेत प्रदान गर्ने गरिएको छ । 

चिकित्सालयको सेवालाई स्थानीय मानिसहरूले सकारात्मक र अपनत्वको भावले हेरेको अनुभूति गर्न सकिन्छ । यहाँ उपचार गराइरहेकी काठमाडौं, कोटेश्वरनिवासी माला शर्मा भन्नुहुन्छ, ‘यहाँका कर्मचारीहरू अति शालीन र मिलनसार पाएँ । यो चिकित्सालयको सबभन्दा महत्त्वपूर्ण विशेषता भनेको यहाँका हरेक तहका कर्मचारीबाट बिरामीमैत्री वातावरण प्राप्त गर्नु हो । डाक्टरले बिरामीसँग गर्ने परामर्श निकै सरल र मैत्रीपूर्ण छ । उपचारमा खटिने कर्मचारीमा पनि सहयोगी भावना, बिरामीलाई सजिलो उपचार गराउन सक्दो कोसिस गर्ने व्यवहार, मेसमा काम गर्ने दिदी बहिनीहरूको बोलीमा मिठासपन, राम्रो घरायसी वातावरण रहेछ । यस विधालाई मूलधारको चिकित्सा, हेल्थ टुरिजम र हेल्थ रिसोर्टको रूपमा बुझाउन सके अर्थतन्त्रमा रचनात्मक र सकारात्मक सूचकको बढोत्तरी हुने देखिन्छ ।’  
(लेखक विकासविद् हुन् भने चिकित्सालयका सेवाग्राही पनि हुन् ।)
[email protected]