१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
खुलामञ्चमा काम गर्दै महानगरका कर्मचारी । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

चौतर्फी विरोधबीच खुलामञ्चमा फुटबल मैदान बनाउन महानगरको बलजफ्ती

Read Time : > 3 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o९:oo

आफ्नै वडाध्यक्ष, अभियन्ता र संघीय सरकारको असन्तुष्टिबीच काठमाडौं महानगरपालिकाले मध्यसहरमा रहेको खुलामञ्चमा फुटबल मैदान बनाउने काम जारी राखेको छ । चौतर्फी विरोधबीच पनि खुलामञ्चमा महानगरको बलजफ्ती कायमै छ । 

आफैँले ताला लगाएर राखेको महानगरले अहिले त्यसलाई खोलेर खुलामञ्चमा धमाधम सरसफाइको काम गरिरहेको छ । खुलामञ्चमा ५० जनाले सफाइका लागि काम गरिरहेका छन् । महानगरले खेलकुद तथा व्यायामस्थल निर्माणको योजना बनाएको छ, जहाँ दुईवटा फुटबल मैदान निर्माण हुँदै छन् । 

जब कि महानगरपालिकाले फुटबल मैदान बनाउन थालेको भन्दै वडा नम्बर २८ ले समेत असन्तुष्टि जनाइसकेको छ । त्यति मात्र होइन, वडाले आफ्नो सहमतिविना खुलामञ्चमा कुनै पनि कार्य नगर्न/नगराउन नै भनेको छ । महानगरको यो निर्णयको अभियन्ताहरूले विरोध गरिरहेका वेला वडा नम्बर २८ ले आफ्नो सहमतिविना खुलामञ्चमा कुनै पनि कार्य नगर्न/नगराउन भनेको हो । 

सार्वजनिक सम्पत्ति संरक्षण वडाको दायित्व भएको भन्दै गत सोमबार महानगरलाई एक पत्र लेख्दै वडाले खुलामञ्चलाई व्यक्ति वा संस्थाको स्वामित्वमा लैजान नहुने बताएको छ । ‘खुलामञ्च हाम्रो पहिचान हो । धरोहर हो । साझा सम्पत्ति हो । यसको सबैले निर्वाध रूपमा उपभोग गर्न पाउनुपर्छ । यसलाई व्यक्ति वा संस्थाको स्वामित्वमा जान दिनुहुँदैन । सार्वजनिक सम्पत्तिको संरक्षण हामी सबैको साझा दायित्व हो । यसको संरक्षण, संर्वद्धन र सुधारको कार्य गर्नुपूर्व वडाको सहमति लिएर गर्न/ गराउन जानकारी गराउँछु,’ वडाले महानगरलाई लेखेको पत्रमा छ । 

खुलामञ्चमा फुटबल खेल्ने र आमसभा गर्नेबीच कसरी सहकार्य हुन सक्छ ? आलोकसिद्धि तुलाधर, अभियन्ता

फुटबल मैदानसहितको पार्क निर्माण भएपछि खुलामञ्च खुला र सर्वसाधारणको पहुँचमा हुँदैन, बिस्तारै खुलामञ्च पनि केही वर्षमा अरूकै पकडमा जान्छ । ललितपुरको जावलाखेल, लैनचौरको खुला मैदानलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । जुन खुला क्षेत्रभित्र जोकोही सजिलै प्रवेश गर्न सक्दैनन् । फुटबल खेल्ने मैदान बनाएपछि त्यहाँ फुटबल खेल्ने र आमसभा गर्नेबीच कसरी सहकार्य हुन सक्छ ? यसले त झन् द्वन्द्व निम्त्याउन सक्छ ।

महानगरको निर्णयप्रति आफूहरूको सहमति भए पनि खुलामञ्च खुला हुनुपर्ने र सर्वसाधारणको पहँुचमा हुनुपर्ने वडाध्यक्ष खड्गीले बताए । ‘खुलामञ्चको मर्मत हुनुपर्ने र हरियाली हुने कुरामा हाम्रो विमति होइन । तर, त्यहाँ सभा सम्मेलन गर्न चाहनेले सभा सम्मेलन गर्न पाउनुपर्‍यो । बदाम खाँदै घाम ताप्न चाहनेले पनि सोहीअनुसारको क्रियाकलाप गर्न पाउनुपर्‍यो । आशा छ, त्यहीअनुसार काम हुन्छ,’ उनले भने । 

वडाध्यक्ष खड्गीले भनेझैँ फुटबल मैदानसहितको पार्क निर्माण भएपछि खुलामञ्च खुला नहुने र सर्वसाधारणको पहुँचमा नहुने अभियन्ता आलोकसिद्धि तुलाधर बताउँछन् । ‘फुटबल मैदानसहितको पार्क हुनेबित्तिकै बिस्तारै खुलामञ्च पनि केही वर्षमा अरूकै पकडमा जान्छ । ललितपुरको जावलाखेल, लैनचौरको खुला मैदानलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ । जुन खुला क्षेत्रभित्र जोकोही सजिलै प्रवेश गर्न सक्दैनन्,’ उनले भने, ‘फुटबल खेल्ने मैदान बनाएपछि त्यहाँ फुटबल खेल्ने र आमसभा गर्नेबीच कसरी सहकार्य हुन सक्छ ? यसले त झन् द्वन्द्व निम्त्याउन सक्छ ।’ 

उनले महानगरले फुटबल मैदानसहितको पार्क निर्माण उपभोक्ता समितिमार्फत गर्न लागेको र त्यो उपभोक्ता समिति पनि स्वार्थसिद्ध समूहको पकडमा रहेको उनले आरोप लगाए ।

महानगरको यो निर्णयप्रति विमति राख्दै अकुपाई टुँडिखेलका अभियन्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् । इतिहास बोकेको खुलामञ्चलाई पहिलाकै अवस्थामा राख्नुपर्ने भन्दै अभियन्ताहरूले गत सोमबार नै कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो । 

महानगरको निर्णयप्रति केन्द्र सरकार पनि रुष्ट देखिएको छ । केन्द्र सरकारमातहत रहेका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले केही दिनअघि नै एक सार्वजनिक कार्यक्रममा खुलामञ्चलाई खुलामञ्चकै रूपमा प्रयोग गर्नुपर्ने भन्दै ताला लगाएर राख्न नपाइने बताएका थिए । 

‘काठमाडौंमा जुन हिसाबले जनघनत्व बढेको छ । खुला ठाउँको भने कमी हुँदै गएको छ । विपत्को अवस्थामा पनि हामीलाई धेरै खुला ठाउँ आवश्यक पर्छ । जुन हामीले ७२ सालको भूकम्पमा भोगिसकेका छौँ । नेपाल आफैँ विपत्को उच्च जोखिममा रहेको मुलुक भएकाले यस्ता जनघनत्व धेरै भएका सहरी स्थानमा पर्याप्त खुला स्थान राख्नुपर्ने हुन्छ । जुन हिसाबले सार्वजनिक जग्गाका रूपमा देखिएका ठाउँहरू छन् । ती ठाउँहरूलाई पनि कसरी खुला राख्न सकिन्छ भनेर स्थानीय सरकारले नै चासो दिनुपर्छ,’ सोमबार अकुपाई टुँडिखेलका अभियन्ताको ज्ञापनपत्र बुझ्दै बस्नेतले भने, ‘संघीयतापश्चात् स्थानीय सरकार सञ्चालन ऐन बनेको छ । ऐनले सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मा स्थानीय सरकारलाई नै दिएको छ । त्यसैले, खुला ठाउँको संरक्षण गर्ने हकमा जिम्मेवारी  बहन गर्ने क्रममा स्थानीय सरकारले अलि बढी नै विवेक प्रयोग गर्नुपर्छ ।’ 

उनले आफूसँग आएको जानकारीअनुसार महानगरले मर्मत–सम्भार मात्र गर्न लागेको भनेकाले सोहीअनुसार काम अगाडि बढ्नेमा ढुक्क रहेकोसमेत बताए । ‘महानगरले खुलामञ्चलाई मर्मत–सम्भार गरेर पुरानै अवस्थामा लैजाने भन्ने कुरा गर्नुभएको छ । त्यसलाई छिटो मर्मत–सम्भार गरेर आमनागरिकले आवाज राख्न पाउने उपयुक्त स्थल बनाउनुहुन्छ भन्ने आशा गरेका छौँ । खुलामञ्च जुन थलोका रूपमा थियो, मर्मत–सम्भार गरेर सोही रूपमा प्रयोग गर्नका लागि काम गरेको भन्ने हाम्रो बुझाइ छ,’ बस्नेतले भने । 

महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहित दुई फुटबल मैदान बनाउनका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाइसकेको छ । तैपनि, पछिल्लो समय देखिएको विवादलाई ध्यानमा राख्दै खुलामञ्चमा प्राकृतिक दुबोसहितको घाँसे चउर बनाउन थालिएको महानगरले बताएको छ । 

महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले भने, ‘दुबोसहितको चउर भएपछि जनसाधारणको बहुउपयोगमा आउनेछ । बिहान शारीरिक अभ्यास गर्न सकिनेछ । व्यवस्थित सार्वजनिक कार्यक्रम गर्ने स्थान हुनेछ । बालबालिका र युवालाई खेल्ने तथा रमाउने ठाउँ हुनेछ ।’ 

हाल ग्रेडर लगाएर मैदानमा भएका ढुंगा टिप्न थालिएको छ । सतहमा भएका सबै ढुंगा टिपेपछि मलिलो माटोको सतह बनाइनेछ । यसमाथि प्राकृतिक दुबो रोपिने महानगरले बताएको छ । पाँच करोड लागतमा फुटबल मैदान बनाउनका लागि खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको छ । 

गत २९ कात्तिकमा बसेको महानगरको १०औँ कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको डिपिआर तयार गर्ने निर्णय गरेको थियो । अव्यवस्थित पार्किङको समस्या समाधान गर्न पार्किङ स्थल निर्माण गर्न डिपिआर बनाउने निर्णय गरेको थियो । हाललाई यो काममा हात नहाले पनि भविष्यमा त्यहाँ पार्किङका लागिसमेत काम हुने महानगरले जनाएको छ । 


 

ad
ad