१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०८० माघ २२ सोमबार १५:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जनकपुरधाम पुगेर ओलीले भने, ‘प्रहरीलाई स्वतन्त्र रहन दिनुपर्छ’

प्रहरी समायोजनमा एमाले अध्यक्षको असन्तुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०८० माघ २२ सोमबार १५:११:००

एमाले अध्यक्ष केपी ओलीले राजनीतिज्ञले प्रहरी चलाएकाले धेरै बिग्रिएको बताएका छन् । सर्लाही जाने क्रममा आज जनकपुरधाम एयरपोर्टमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले प्रहरीलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताए । 

प्रदेश सरकारहरूको निरन्तरको प्रयासपछि संघ सरकारले प्रहरी समायोजनको प्रक्रिया अगाडि बढाएका वेला ओलीले प्रहरीलाई मेरो र तेरो बनाउन नहुने बताए । प्रहरी समायोजनको विषयमा ओलीले घुमाउरो ढंगले असमहमति जनाए । 

‘पुलिस त छँदै छ, कसले चलाउने भन्ने कुरामा विवाद हो । राजनीतिज्ञले प्रहरी चलाएर धेरै बिग्रिएको छ । नेताहरूले प्रहरी आफ्नै अधीनमा हुनुपर्छ भन्नु गलत हो,’ उनले भने, ‘सरकारको ध्यान जनतालाई सेवा दिने कुरामा हुनुपर्छ । प्रहरी कसले चलाउने भन्नेमा होइन ।’ 

मुख्यमन्त्रीहरूले प्रदेशमातहत प्रहरी नहुँदा शान्ति सुरक्षालगायतका काममा असर परेको भन्दै प्रदेशकै प्रभावकारितामाथि प्रश्न उठेको भन्दै निरन्तर संघ सरकारलाई दबाब दिँदै आएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समायोजनको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेका वेला प्रमुख प्रतिपक्षी दलका नेताको यस्तो धारणा आएको हो । 

ओलीले मधेश प्रदेशकै राजधानीमा पुगेर आफूले प्रहरी चलाउन पाइनँ भनेर गुनासो गर्नु नाजायज रहेको बताएका हुन् । ‘आफ्नै मान्छे प्रहरी र कर्मचारीमा कोच्न पाउँ भन्नु गलत हो,’ उनले भने, ‘प्रहरी नेता र मन्त्रीको अधीनमा भन्दा पनि स्वतन्त्र रहनुपर्छ ।’