
छैटौँ सहिद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा आइतबार बागमती युवा क्लब सर्लाहीसँग आयोजक मकवानपुर– ११ टाइब्रेकरमा ४–२ ले स्तब्ध भएको छ ।
जितसँगै बागमती सेमिफाइनलमा पुगेको छ । बागमतीले स्टार खेलाडीले भरिएको मकवानपुरलाई निर्धारित समयमा २–२ को बराबरीमा रोकेको थियो । गौरीटार रंगशालामा भएको क्वार्टरफाइनलको टाइब्रेकरमा दोस्रो रोजाइका गोलरक्षक रौनक चौलाागाईंले उत्कृष्ट प्रदर्शन गरेपछि बागमती अन्तिम चारमा पुगेको हो । उनले राष्ट्रिय खेलाडी सुरजज्यू ठकुरीको प्रहार बचाएका थिए ।
टाइब्रेकरमा बागमतीका सिर्जन गौतम, आयुष रानामगर, निर्मल बल र अनिल मगरले गोल गरेका थिए । मकवानपुरका अञ्जन विष्ट र स्टेफन समिरले मात्र गोल गरे । मकवानपुरका अमित तामाङको प्रहार बाहिरिएको थियो ।
बागमतीले खेलमा दुईपटक अग्रता लिएको थियो । पहिलो हाफमा बागमतीका लागि अभि लामाले ४५औँ मिनेटमा १–० को अग्रता दिलाए । खेलको ८१औँ मिनेटमा अनिल रानामगरले बागमतीका लागि दोस्रो गोल गरे । मकवानपुरका लागि दुवै गोल विदेशी खेलाडी स्टेफन समिरले गरेका थिए । उनले खेलको ५५औँ मिनेटमा १–१ को गोल फर्काए ।
खेलको ८९औँ मिनेटमा उनले २–२ को बराबरी गोल फर्काए । बागमतीले सेमिफाइनलमा सशस्त्र प्रहरी र थ्री स्टारबीचको विजेतास“ग प्रतिस्पर्धा गर्नेछ । सर्लाहीका प्रशिक्षक सुनील श्रेष्ठले व्यक्तिगतभन्दा पनि टिम गेमका कारण जित सम्भव भएको बताए ।
मकवानपुरका प्रशिक्षक विजयलाल श्रेष्ठले मिडफिल्डर र डिफेन्डरबीच तालमेल नमिल्दा पराजित भएको जनाए । प्रतियोगिताअन्तर्गत सोमबार त्रिभुवन आर्मी र राजारानी क्लब धनकुटाबीच खेल हुनेछ ।