Skip This
पाँचाैँ प्रयासमा उपाधि हात पार्दै आर्मीले रच्यो इतिहास 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ २० शनिबार
  • Saturday, 27 July, 2024
२o८o माघ २० शनिबार १७:o९:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पाँचाैँ प्रयासमा उपाधि हात पार्दै आर्मीले रच्यो इतिहास 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ २० शनिबार १७:o९:oo

विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पाँचौँपटकको प्रयासमा आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि हात पारेको छ। 

प्रतियोगिताको २३औँ संस्करणसम्म आइपुग्दा पाँचपटक फाइनल पुगेको आर्मी यसअघिका चार प्रतियोगितामा उपविजेतामा सीमित रहँदै आएको थियो। जारी २३औँ संस्करणअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० गोलले पराजित गर्दै आर्मीले पहिलोपटक उपाधि हात पार्दै प्रतियोगितामा इतिहाससमेत रचेको छ।
 
२३औँ संस्करणसम्म आइपुग्दा दुवै टोलीको यो दोस्रो भेट हो। यसअघि ०७५ सालमा सम्पन्न प्रतियोगिताको फाइनलमा टाइब्रेकरमा ५–४ गोल अन्तरले थ्री स्टार विजयी भएको थियो। उपाधि सँगै आर्मीले पाँच वर्षको अन्तरालपछि हारको बदलासमेत थ्री स्टारसँग लिएको छ। 

फाइनल खेलमा आर्मी पहिलोपटक उपाधि हात पार्दै इतिहास रच्ने योजनासहित मैदान उत्रेको थियो भने थ्री स्टार ६ पटक उपाधि उचाल्ने लक्ष्य लिएर मैदान उत्रेको थियो। पाँचपटक उपाधि हात पारिसकेको थ्री स्टारको यो साताैँपटकको फाइनल यात्रा हो। 

आर्मीले जितमा खेलको पहिलो हाफमा एक र दोस्रो हापमा दुई गोल प्रहार गरेको थियो। खेलको ३८औँ मिनेटमा कप्तान जिलेस्पीजँग कार्कीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। सिद्धान्त चौधरीले दायाँ साइडबाट हानेको कर्नरलाई मैदानको बायाँ साइडमा रहेका कार्कीले हेड प्रहार गर्दै बललाई जाली चुमाएका थिए। ८३ औँ मिनेटमा फत्तेमान घलेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए।

निर्धारित ९० मिनेटको खेल सकिएसँगै ६ मिनेट इन्जुरी समय थप भएके थियो। ९०+४ मा आर्मीका लागि वसन्त जिम्बाले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। टोलीका कप्तान भरत खवास र दिनेश हेम्जन चोटका कारण मैदानबाहिर रहँदा आर्मी आफ्नो पहिलो रोजाइका दुई खेलाडीविना मैदान छिरेको थियो।

फाइनल पुग्नुअघि आर्मीले प्रि–क्वाटरफाइनलको खेलमा राइजिङ स्टार फुटबल क्लबलाई १–०, क्वाटरफाइनलमा साबिक विजेता संकटा क्लबलाई ३–० र  सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई २–१ ले पाखा लगाउँदै उपाधि नजिक पुगेको हो। यसैगरी, थ्री स्टारले उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई २–१, क्वाटरफाइनलमा भुटानको पारो फुटबल क्लबलाई २–० र सेमिफाइनलमा जाउलाखेल युथ क्लबलाई १–० ले हराउँदै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको थियो।

प्रतियोगितामा ११ स्वदेशी र एक विदेशी गरी १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा थ्री स्टार क्लब, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको नेपाल एपिएफ क्लब, जावलाखेल युथ क्लब, राइजिङ स्टार फुटबल क्लब नवलपुर, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, मनाङ मस्याङ्दी क्लब, मच्छिन्द्र क्लब, आयोजक साहारा क्लबसँगै पाहुना टोली पारो फुटबल क्लब भुटान सहभागी थिए। प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेता ६ लाख एक हजार नगदसँगै सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाए।