मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ १८ बिहीबार
  • Friday, 14 August, 2026
२o८o माघ १८ बिहीबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

छोराको विवाह खर्चबाट वरिष्ठ पत्रकार विष्टले गरे १२ लाखको लागतमा बुद्धको मूर्ति स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १८ बिहीबार २o:२४:oo

वरिष्ठ पत्रकार प्रताप विष्टले छोराकाे विवाह भोजमा लाग्ने खर्च कटाैती गरी त्रिवेणीधाममा बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका छन्।

पत्रकार विष्टले आफ्ना कान्छा छोरा–बुहारी डा. घोषणा विष्ट र सुजता कार्कीको विवाहपछि भोजभतेरमा लाग्ने फजुल खर्च सदुपयोग गर्दै हेटौँडा उपमहानगरपालिका– ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका हुन्। 

मकवानपुर जिल्लालाई कार्यक्षेत्र बनाएर साढे तीन दशकभन्दा लामो समयदेखि पत्रकारिता गरिरहेका हेटौँडा उपमहानगरपालिका– ४ कमलडाँडानिवासी विष्टले विवाहपछि भोजभतेरमा हुने फजुल खर्च नियन्त्रण गरी समाजप्रति उत्तरदायी बन्न सकिन्छ भन्ने प्रेरणाका लागि आफूले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको मूर्ति स्थापना गरेकाे बताए।

पछिल्लो समय धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको त्रिवेणीधाममा पत्रकार विष्ट र उनको परिवारको तर्फबाट पाँच फिट अग्लो, दुई सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति प्राण प्रतिष्ठासहित स्थापना गरिएको छ। मूर्ति निर्माण तथा स्थापनामा १२ लाख रुपैयाँ खर्च भएको विष्टले जानकारी दिए।

बिहीबारबार एक कार्यक्रमबीच हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँले मूर्ति अनावरण गरे। 

पत्रकार विष्टले यसअघि जेठा छोराको विवाह खर्चबाट पाँच लाख ११ हजार एक सय ११ रुपैयाँ हेटौँडा– ९ मा रहेको मानव सेवा आश्रमको भवन निर्माणमा सहयोग गरेका थिए। 

यस्तै, नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा पुस्तकालय स्थापनाका लागि एक लाख रुपैयाँ सहयोग गरेका थिए। वरिष्ठ पत्रकार विष्ट नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्वसभापति हुन् भने महासंघको बागमती प्रदेश सभापति र केन्द्रीय सदस्यसमेत रहिसकेका छन्।