Skip This
गुल्मीमा राष्ट्रिय परिचयपत्र : विवरण दर्तामा जोड, वितरणमा ढिलाइ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ १६ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o माघ १६ मंगलबार १७:२५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीमा राष्ट्रिय परिचयपत्र : विवरण दर्तामा जोड, वितरणमा ढिलाइ

तीन वर्षमा एक लाख ८७ हजार विवरण दर्ता हुँदा १५ सय मात्रै वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ १६ मंगलबार १७:२५:oo

गुल्मीमा तीन वर्षमा एक लाख ८७ हजार पाँच सय ६३ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका छन्। अहिलेसम्म जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८५ हजार दुई सय चारजनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका छन्। 

जिल्ला प्रशासन कार्यालय गुल्मीबाट ८ साउन ०७६ देखि विवरण दर्ता सुरु गरिएको थियो। जिल्ला प्रशासन कार्यालय गुल्मीमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विवरण संकलन गरेर अभियानको शुभारम्भ गरेका थिए। 

त्यस्तै, गुल्मीमा २३ कात्तिकबाट ५ फागुन ०७७ सम्म राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सुरु भएको थियो। सो अभियानबाट एक लाख २९ हजार तीन सय ५९ जनाले विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय गुल्मीको राष्ट्रिय परिचयपत्र शाखाको विवरण दर्ता अपरेटर सुनिता कँडेलले जानकारी दिइन्। 

तीन वर्षमा एक लाख ८७ हजार पाँच सय ६३ जनाले राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराए पनि एक हजार पाँच सय ८१ जनालाई मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिएको कँडेलले बताइन्।जिल्ला प्रशासन कार्यालयमा अहिलेसम्म पटक-पटक गरेर १४ हजार ७४ परिचयपत्र आएका छन्। कँडेलका अनुसार एक सातामा एक हजार पाँच सयजनालाई एसएमएस पठाउन मिल्छ। 

एकैपटक सबैलाई पठाउन नमिल्ने भएकाले बिस्तारै एसएमएस पठाएर राष्ट्रिय परिचयपत्र वितरण गरिने कँडेलले बताइन्। गाउँ–गाउँमा अभियानमार्फत विवरण संकलन गरिएका कसैको पनि राष्ट्रिय परिचयपत्र वितरण गरिएको छैन। 

लामो समय राष्ट्रिय परिचयपत्र प्राप्त नहुँदा पनि नागरिकमा चासो छैन। राहदानी बनाउन राष्ट्रिय परिचयपत्रको विवरण अनिवार्य संकलन गर्नुपर्ने भएकाले विवरण दर्ता गरेका अधिकांश परदेश पसेका कारण पनि राष्ट्रिय परिचयपत्र लिनेको संख्या कम रहेको छ। साथै, राष्ट्रिय परिचयपत्र लागू नभएका कारण धेरैले चासो नदिएको दर्ता अधिकारी कँडेलले बताइन्।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा प्रमुख सूर्यबहादुर खत्रीले कार्ड छपाइमा कुनै समस्या नभएकाले जिल्लामा आवश्यकताका आधारमा कार्ड वितरण गर्न सकिने बताए। 

खत्रीका अनुसार बक्स खोल्दा व्यक्तिलाई एसएमएस जाने सिस्टम छ। जति बक्स खोल्यो त्यति सूचना व्यक्तिकोमा पुगेर कार्ड वितरण गर्न सकिने भएकाले प्रशासनसँग समन्वय गरेर आवश्यकताको आधारमा कार्ड पठाइएको खत्रीले जानकारी दिए।   

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले अहिले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट दर्ता गरेकाहरूको मात्रै राष्ट्रिय परिचयपत्र वितरण गरिएको बताए। 

उनले अभियानबाट धेरैको विवरण संकलन गरिएको र अहिले एकैचोकी राष्ट्रिय परिचयपत्र वितरण गर्न जनशक्ति प्रशासनमा नभएकाले विभागसँग समन्वय गरेर वितरण नगरिएको बताए। शर्माले सबैलाई एकैपटक सहज रूपले राष्ट्रिय परिचयपत्र पाउने गरेर कार्ययोजना र जनशक्ति व्यावस्थापन गरेपछि वितरण गरिने बताए।