हिमाली जिल्ला मनाङको चामे गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा जिल्लामै उत्कृष्ट देखिएको छ । पालिकाहरूले गत आर्थिक वर्ष ०७९/८० मा गरेका कामको विभिन्न सूचकका आधारमा गरिएको मूल्यांकनमा चामे गाउँपालिकाले जिल्लाका चार पालिकामध्ये सबैभन्दा धेरै अंक प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विवरणमा उल्लेख छ ।
पालिकाहरूले १० वटा मुख्य सूचकका आधारमा आर्थिक वर्ष ०७९/८० मा आफूले गरेका कामको आफैँले मूल्यांकन गरेका हुन् । जसमा चामे गाउँपालिकाले जिल्लामै सबैभन्दा धेरै ६७.५ अंक प्राप्त गरेको छ ।
आर्थिक वर्ष ०७८/७९ मा भने सो पालिकाको अंक ६२.७५ प्रतिशत अंक प्राप्त गरेको थियो । चार गाउँपालिका रहेको मनाङका दुई स्थानीय तह मनाङ ङिस्याङ र नार्पाभूभि गाउँपालिकाले भने ५८.५ समान अंक पाएका छन् ।
यस्तै नासों गाउँपालिकाले आर्थिक वर्ष ०७९/८० मा ५४.५ अंक प्राप्त गरेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७ अनुसार स्वमूल्यांकनको काम प्रत्येक आर्थिक वर्षको पुस मसान्तभित्र गरिसक्नुपर्ने हुन्छ ।
पालिकाहरूको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एवं आर्थिक व्यवस्थापन, सामाजिक समावेशीकरणजस्ता सूचकलाई मूल्यांकनको आधार मानिएको हो ।
यस्तै, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, वातावरण संरक्षण तथा विपत् व्यवस्थापन र सहकार्य तथा समन्वयसहितका १० वटा सूचकका आधारमा स्थानीय तहले आफ्नो कामको मूल्यांकन गरेका हुन् ।
तर, यसमा अंकभार निर्धारण गर्दा पुष्टि हुने कागजात वा प्रमाण पनि अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।