मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o माघ ११ बिहीबार
  • Wednesday, 02 September, 2026
२o८o माघ ११ बिहीबार १९:५२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

इप्पानको आयोजनामा वैशाखमा हिमालयन हाइड्रो एक्स्पो हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o माघ ११ बिहीबार १९:५२:oo

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी वैशाखमा आयोजना गर्ने भएको छ ।

इप्पानले हरेक दुई–दुई वर्षमा आयोजना गर्दै आएको  हाइड्रो एक्स्पो आगामी वैशाख १२, १३ र १४ गते आयोजना गर्न लागेको हो । एक्स्पो आयोजना गर्न इप्पान र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सरकारले १२ वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत् भारतमा, पाँच हजार मेगावाट बंगलादेशमा र १३ हजार पाँच सय मेगावाट विद्युत् आन्तरिक रूपमा खपत गर्ने योजना बनाएको छ । 

नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत् भारतमा निर्यात गर्ने सम्झौता भइसकेको छ । यस्तो अवस्थामा जलविद्युत् क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।

नेपालमा ऊर्जा क्षेत्रका लगानीकर्ताहरूको एक मात्र संस्था इप्पानले आयोजना गर्ने एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरू, बैंक तथा वित्तीय संस्थाहरू, बिमा कम्पनीहरू, सिमेन्ट, डन्डीलगायतका सामग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत्,  सोलार, हाइड्रोजनलगायतका विषयमा सेमिनार तथा छलफलहरूसमेत आयोजना गरिनेछ । 

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरूको बीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत् आयोजनाबारे जानकारी दिन डेमोहरू प्रस्तुत गरिनेछन् । एक्स्पोमा दुई सयभन्दा बढी स्टल रहने र करिब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।