१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
भक्तपुर सानोठिमीस्थित बाल सुधारगृह
टेकराज थामी काठमाडाैं
२०८० माघ ९ मंगलबार ०६:२७:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बाल सुधारगृहभित्र भएका अधिकांश झडपमा वयस्क संलग्न

अपराधका घटनामा दोषी ठहर भएपछि बाल सुधारगृहमा राखिएका बालबालिका १८ वर्ष पार गरेपछि पनि त्यहीँ, २९ वर्षसम्मका वयस्क रहेका सुधारगृहभित्र हुने झडपका सबैजसो घटनामा उनीहरूकै संलग्नता

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०८० माघ ९ मंगलबार ०६:२७:००

अपराधका घटनामा दोषी ठहर भएपछि बाल सुधारगृहमा राखिएका बालबालिका १८ वर्ष पार गरेपछि पनि त्यहीँ रहँदा सुधारगृहभित्र सुरक्षा चुनौती थपिएको छ । उनीहरूका कारण सुधारगृहभित्र झडपका घटना बढ्न थालेका हुन् । 

देशभरका सुधारगृहमा अहिले १२ देखि १८ वर्षसम्मका बालबालिका मात्रै होइन, त्यसभन्दा माथि २९ वर्षसम्मका वयस्क पनि छन् । १८ वर्षको उमेरअघि सुधारगृहमा ल्याइएका उनीहरू वयस्क भएपछि पनि सजाय भुक्तान बाँकी रहेसम्म सुधारगृहमै रहेका हुन् । सुधारगृहभित्र हुने हुलदंगाका सबैजसो घटनामा वयस्कहरू नै संलग्न रहेको पाइएपछि सरकार कानुन परिमार्जन गर्ने तयारीमा जुटेको छ । 

बालबालिकासम्बन्धी ऐनसहित अन्य ऐन पनि परिमार्जन गर्न आवश्यक छ : इन्दु घिमिरे, प्रवक्ता, महिला, 
बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अहिले देशभर नौवटा बाल सुधारगृह छन् । जहाँ एक हजार एक सय ९६ बालबालिका छन् । त्यहाँ भएका अधिकांश झडपका घटनामा १८ वर्षभन्दा माथिका नै संलग्न हुने गरेको देखिन्छ । १८ वर्षभन्दा माथिका वयस्कलाई सुधारगृह नभई सीधै कारागारमा पठाउने हो या व्यवस्थापनका लागि अरू नै उपाय खोज्ने भन्ने विषयमा छलफल भइरहेको छ । यसका लागि बालबालिकासम्बन्धी ऐनसहित अन्य ऐन पनि परिमार्जन गर्न आवश्यक छ ।

‘अहिले देशभर नौवटा बाल सुधारगृह छन् । जहाँ एक हजार एक सय ९६ बालबालिका छन् । त्यहाँ भएका अधिकांश झडपका घटनामा १८ वर्षभन्दा माथिका नै संलग्न हुने गरेको देखिन्छ,’ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी प्रवक्ता इन्दु घिमिरेले भनिन् । 

देशभरका सुधारगृहमा हाल एक हजार एक सय ९६ बालबालिका छन् । जसमध्ये चार सय २८ जना अर्थात् ३६ प्रतिशत १८ वर्षभन्दा माथिका छन् । १७ देखि १८ वर्षका बालबालिका चार सय ५३ जना अर्थात् ३८ प्रतिशत छन् भने १२ देखि १६ वर्षसम्मका तीन सय ४५ जना अर्थात् २६ प्रतिशत छन् । मन्त्रालयका अनुसार सुधारगृहभित्र भएका सबै झडपका घटनामा १८ वर्षभन्दा माथिकै बालबालिका संलग्न छन् । 

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४३ को उपदफा ४ मा १८ वर्ष उमेर पूरा भएका, तर सजाय भुक्तान भइनसकेका बालबालिकालाई अन्य बालबालिकासँग अलग बनाई सुधारगृहमा नै राख्ने व्यवस्था गरिएको छ । ‘बाल सुधारगृहमा रहेका बालबालिकाको सो गृहमा रहनुपर्ने अवधि बाँकी हुँदाको अवस्थामा निजको उमेर १८ वर्ष पुगेमा निजको बानी–व्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सीप तथा शिक्षाको निरन्तरतालगायतलाई ध्यानमा राखी बाँकी अवधिसम्मका लागि बाल सुधारगृहमा अन्य बालबालिकासँग अलग हुने गरी राख्नुपर्नेछ,’ सो उपदफामा भनिएको छ । 

तर, नेपालका सुधारगृहमा १८ वर्षभन्दा माथिका बालबालिकालाई अन्य बालबालिकाबाट अलग गरेर राख्ने गरिएको छैन । जसका कारण वयस्कहरूले साना बालबालिकालाई हेप्ने, नियन्त्रणमा राख्न खोज्नेलगायतका घटना सुधारगृहभित्र हुने गरेका छन् । आपसमा झडप पनि तिनै कारण हुने गरेको प्रवक्ता घिमिरेले बताइन् । 

‘१८ वर्षभन्दा माथिका बालबालिका र १८ वर्षभन्दा कम उमेरका बालबालिका सँगै राखिएका छन् । यसो हुँदा उनीहरूबीचको सोचाइ, उमेरको स्तर, शारीरिक आवश्यकता नमिल्ने रहेछ,’ प्रवक्ता घिमिरेले भनिन्, ‘वयस्कहरूले सानालाई हेप्ने, नियन्त्रणमा राख्न खोज्नेजस्ता गतिविधि हुँदा रहेछन् । सोही कारण आपसमा झडप हुने गरेको हाम्रो अनुभवले देखाएको छ ।’

यी समस्यालाई मध्यनजर गर्दै सरकारले बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ४३ को उपदफा ४ को केही व्यवस्था र मुलुकी अपराध संहिता, २०७४ को केही व्यवस्था परिमार्जन गर्ने तयारी गरेको छ । ‘१८ वर्षभन्दा माथिका वयस्कलाई सुधारगृह नभई सीधै कारागारमा पठाउने हो या व्यवस्थापनका लागि अरू नै उपाय खोज्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ प्रवक्ता घिमिरेले भनिन्, ‘यसका लागि बालबालिकासम्बन्धी ऐनसहित अन्य ऐन पनि परिमार्जन गर्न आवश्यक छ ।’ 

सरकारले यसका निम्ति केन्द्रीय बाल न्याय समिति गठन गरेको छ । समितिमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसहित गृह, कानुनलगायतका मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता छ । सोही समितिले दिएको सुझावका आधारमा कानुन परिमार्जनको काम अघि बढ्नेछ ।

बाल सुधारगृहमा पछिल्लो समय भएका केही हुलदंगा
गत ३ भदौमा भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा तोडफोड भएको थियो । बन्दीहरू सुधारगृहको गेट फोडेर नारा–जुलुस लगाउँदै सडकमा निस्किएका थिए । घटनामा संलग्न हुने सबै वयस्क थिए । सोही कारण मन्त्रालयले वयस्क बालबालिकालाई भक्तपुरबाट स्थानान्तरण गरी बाँकेको नौबस्तास्थित सुधारगृहमा लगेको थियो । तर, नौबस्तास्थित सुधारगृहमा पनि गत १५ पुसमा दुई समूहबीच झडप भयो । त्यसक्रममा सुधारगृहमा रहेका असिर रावल गम्भीर घाइते भए । उग्र बनेका बालकहरूले सरकारी गाडी पनि तोडफोड गरेका थिए । सँगै उनीहरूले सुधारगृहको कोठाभित्र ओछ्याइएको पार्केट पनि झिकेर फालेका थिए । 

त्यसअघि, १५ पुस ०७९ मा पनि बाँकेको डुडुवास्थित जयेन्दु बाल सुधारगृहबाट जबर्जस्ती मुद्दाका धर्म थापा, कृष्ण नगरकोटी र अविनाश पुन तथा कर्तव्य ज्यान मुद्दाका पुरन चौधरी फरार भएका थिए । पछि पक्राउ गरेर उनीहरूलाई २९ माघमा बाँकेबाट सरुवा गरी सानोठिमी ल्याइएको थियो । सुधारगृहस्थित कैदीबन्दीलाई कारागार तोडफोड गर्न र भगाउन उक्साउने कार्यमा उनीहरूको भूमिका थियो । त्यसअघि उनीहरू कपिलवस्तुस्थित सुधारगृहमा थिए । त्यहाँ रहँदा बदमासी गरेपछि उनीहरूलाई सरुवा गरेर बाँके लगिएको थियो ।