१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १३ शनिबार
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
२o८o असोज १३ शनिबार १३:o४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल सुधारगृहबाट फरार कैदी अझै फेला परेनन् 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज १३ शनिबार १३:o४:oo

वीरगन्ज महानगरपालिका– ४ बिर्तास्थित बाल सुधारगृहका दुईजना कैदी फरार भएको २४ घण्टा बितिसक्दा पनि फेला नपरेको प्रहरीले जनाएको छ।

शुक्रबार बिहान २ बजेको समयमा जेलको काँडेतार काटेर फरार भएका उनीहरूलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन। कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा परी बाल सुधारगृहमा रहेका उनीहरू फरार भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए।

बाल सुधारगृहबाट फरार भएका कैदीहरूको शुक्रबार बिहानैदेखि खोजी भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। फरार भएका कैदीहरू मधेश प्रदेशको सर्लाही र सिराहा जिल्लाका हुन्। खोजीका लागि फरार कैदीहरूको घरमा पनि प्रहरी परिचालन गरिएको छ।

प्रहरीका अनुसार सुधारगृहबाट फरार भएका कैदीहरू वीरगन्जको मुख्य भन्सार नाका शंकराचार्य गेटअगाडिबाट भारततर्फ गएका छन्। उनीहरू बिहान ५ बजेको समयमा सँगै एकआपसमा कुराकानी गर्दै खाली खुट्टा हिँडेर रक्सौलतर्फ गइरहेको अवस्थामा सिसिटिभी फुटेजमा देखिएका छन्।

प्रहरीले रक्सौलमा पुगेर रेल्वे स्टेसनको क्यामरा पनि चेकजाँच गरेको भए पनि उनीहरू नदेखिएको एक प्रहरीले बताए। 
पर्साका प्रहरी उपरीक्षक कोमलबिक्रम साहले बिहान कैदीहरू फरार भएपछि त्यस प्रकारको कुनै अर्को घटना हुन नदिन अभियुक्त ओसारपोसार गर्ने प्रहरीलाई सतर्क हुन कडा रूपमा निर्देशन दिएका छन्। जिल्लामा खटिएका प्रहरीहरूलाई निरन्तर गस्ती र तैनाथ रहने गरी ड्युटी गर्न सकुर्लर गरेको अवस्था छ। 

यसअघि ती कैदीहरूले साउन २६ गते आन्तरिक विवाद गरी तोडफोड गरेका थिए। उनीहरूले भदौ ८ गते भक्तपुर सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज ल्याएकै दिनदेखि आन्तरिक विवाद सुरु गरेका थिए।

सरकारले उपलब्ध गराएको सम्पूर्ण सुविधाको ग्यारेन्टी गर्न, पठनपाठनको व्यवस्थापन गर्न, बिजुली र सफा खानेपानीको व्यवस्थापन गर्न ,खानाको मात्रा पर्याप्त र गुणस्तरीय बनाउनजस्ता समस्या सुनाएका थिए।

साथै, उनीहरूले प्रहरी प्रशासनको ज्यादती आफूहरूलाई मान्य नहुने र बाल सुधारगृह सुधार गर्ने खालको हुनुपर्ने र त्यस्तै वातावरणमा बस्न पाउनुपर्ने माग गरेका थिए। पत्रकार र मानव अधिकारकर्मीहरूको अगाडि कैदी र प्रशासनको वार्तापछि उनीहरूको समस्या सम्बोधन गर्न स्थानीय प्रशासन तयार भएपछि समस्या समाधान भएको थियो।