१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:४२:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बाँकेको बाल सुधारगृहमा झडप : एकजनाको मृत्यु, १० घाइते

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:४२:oo

डुडुवा गाउँपालिका– ६ स्थित जयन्दु बाल सुधारगृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । कपिलवस्तु रुद्रपुरका करिब २१ वर्षीय सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए । मृतक केसी अपहरण, शरीर बन्धक र जबर्जस्ती करणीमा सजाय भोगिरहेका थिए ।

राति करिब साढे १० बजेबाट भएको झडप दुई बजेसम्म भएको थियो । झडपमा परी १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
घाइते हुनेमा जुम्लाका कालीबहादुर ऐडी, दाङका राजीव राय केसीलगायत रहेको प्रहरीले जनाएको छ । 

बाल सुधारगृहमा दुई सय ५५ जना छन् । ती सबैले एकसाथ प्रहरीमाथि आक्रमण गरी कार्यालय र सवारीसाधन तोडफोड गरेका छन् । तोडफाेडबाट सुधारगृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्प्युटरलगायतका उपकरणमा क्षति पुगेको छ । सुधारगृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्‍याएको  प्रहरीले जनाएको छ । 

बाल सुधारगृहमा रहेका युवाको समूहले आफूले खाने थाल, कटौरा, गिलाससमेत बाहिर फालेका छन् । बाल सुधारगृहमा रहेका केही नाइके भागेको अनुमान गरिएको छ । तर, प्रहरी त्यहाँ जान सक्ने अवस्था नरहेकाले भाग्नेको संख्या यकिन हुन नसकेको डिएसपी डाँगीले बताए । ‘भित्र कति जना छन् भन्ने यकिन नहुँदासम्म कति जना भागे भन्ने यकिन गर्न सकिँदैन,’ उनले भने, ‘३०–३५ जना भागेको अनुमान छ ।’

बिहान अवस्था केही सामान्य भए पनि छतबाट ढुंगा, इँटा फाल्ने क्रम रोकिएको छैन । उनीहरूले प्रहरीलाई गालीगलौज गर्ने क्रम रोकिएको छैन । ‘स्थिति केही सामान्य भएको छ, तर अझै नियन्त्रणमा आएको छैन,’ डिएसपी डाँगीले भने । 

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए ।  उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  मृत्यु भएको हो । उनको टाउकोमा गम्भीर चोट लागेको थियो

बाल सुधारगृहमा तोडफोड र आगजनीसमेत भएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बाल सुधारगृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ । 

ad
ad