१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
श्रवण थापा सर्लाही
२०८० माघ ८ सोमबार १२:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही कारागार ११ वर्षपछि सञ्चालनमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० माघ ८ सोमबार १२:२६:००

सर्लाही कारागार ११ वर्षपछि सञ्चालनमा आएको छ ।  सशस्त्र द्वन्द्वका क्रममा जीर्ण बनेको भवन पुनर्निर्माणका क्रममा खाली गराइएको कारागार आइतबारबाट पुनः सञ्चालनमा आएको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नवनिर्मित दुईतले भवनको उद्घाटन गरेसँगै  थुनुवा कैदीबन्दी राखिएको छ । प्रहरी हिरासतमा रही अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएका, अन्तिम फैसला भएकाहरूलाई यहाँ राखिएकाे हो । यसअघि रौतहट, महोत्तरी, सिन्धुलीदेखि मकवानपुरको भीमफेदी तथा सुनसरीको झुम्काका कारागारमा कैदीबन्दी राख्नुपर्ने बाध्यता थियो ।

मन्त्री श्रेष्ठले कारागारलाई सरकारले पुनर्स्थापना केन्द्र वा सुधार केन्द्रको रूपमा विकास गर्ने अभियान सुरु गरेको बताए । उनले कारागार प्रशासनलाई कैदीबन्दीलाई सहज वातावरणमा सजाय काट्ने व्यवस्था गरिदिनसमेत निर्देशन दिएका थिए ।

दुईपटक ठेक्का लागेर बन्यो भवन
दुई पटक ठेक्का लागेको कागारगार भवन बल्ल बनेको छ ।  सशस्त्र द्वन्द्वका क्रममा जीर्ण बनेको कारागारको भवन पुनर्निर्माणका लागि  ०६८ मा ठेक्का लागेको थियो ।  तर, समयमै कारागार खाली गराउन सकिएन । ०६९ देखि ०७२ सम्म कारागार खाली गराइएपछि ०७२ मा दोस्रोपटक कारगार पुनर्निर्माणको लागि ठेक्का लागेको हो । तर, ठेक्का सकारेको निर्माण कम्पनीले विभिन्न बहानामा निर्माणमा ढिलाइ गर्दा ११ वर्षपछि कारागार हस्तान्तरण भएको कारागार प्रसासनले जनाएको छ । पटक–पटकको ताकेतापछि बल्लतल्ल ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरेर कारागार हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए ।

नवनिर्मित कारागारमा दुई सय १० जना कैदीबन्दीको क्षमता रहेको निमित्त कारागार प्रमुख मनोजकुमार मिश्रले बताए । तत्कालका लागि एक सय ६० जना पुरुष कैदीबन्दी र ५० जना महिला कैदीबन्दी राख्न सकिने उनले बताए ।

तीन हजार ३९.२० वर्गमिटर क्षेत्रफलमा फैलिएको यस कारागारमा चरणबद्ध ढंगले पुनर्निर्माणको काम भएको थियो । पहिलो चरणमा चारवटा बुर्जा घर, सुरक्षा पोस्ट र सुरक्षा पर्खाल तथा दोस्रो चरणमा मुख्य संरचनाअन्तर्गत, सुरक्षाकर्मीका लागि ब्यारेक, महिला कारागार ब्यारेक, पुरुष कारागार ब्यारेक, भेटघाट कक्ष, गार्ड हाउस, क्यान्टिन, पसल, हस्तकला सामग्री उत्पादनका लागि वर्कसप एरिया गोलघरलगायतका काम भएको उल्लेख गरिएको हो ।

कैदीबन्दीलाई आममानिसले जस्तै कैदीजीवन यापन गर्न सक्ने गरी संरचनाको व्यवस्था गरिएको कारागार प्रशासनले जनाएको हो ।

चार करोड १६ लाख ८४ हजार दुई सय ७८ रुपैयाँ लागतमा यस कारागार भवन निर्माण भएको संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालय धनुषाका इन्जिनियर प्रदीप खनालले जानकारी दिए । भवन निर्माण ठेक्का रामजानकी निर्माण सेवा प्रा.लि. जनकपुरले दुई सालमा सम्पन्न गर्ने गरी सकारेको थियो ।

मन्त्री श्रेष्ठद्वारा लालबन्दीस्थित लखन्देहीमा पक्की पुल शिलान्यास
मन्त्री श्रेष्ठले लालबन्दी नगरपालिकास्थित पत्थरकोटस्थित लखन्देही खोलामाथि बन्न लागेको पक्की पुलको पनि शिलान्यास गरेका छन् । 

आइतबार मन्त्री श्रेष्ठले लालबन्दी नगरपालिका– ११ को हिरापुर र १२ जियाजोर जोड्ने पक्की पुलको शिलान्यास गरेका हुन् । ७७ करोड ७८ लाख लागतमा चार सय ८५ मिटर लामो ११ मिटर चौडा पक्की पुल निर्माण हुन लागेको लालबन्दी नगरपालिकाले जनाएको हो । पुल अभावमा यस क्षेत्रका नागरिकले बर्सातको समयमा समेत जोखिमपूर्ण रूपमा खोलाकै बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहँदै आएको थियो ।