Skip This
मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o माघ ६ शनिबार
  • Saturday, 27 July, 2024
रासस दमौली
२o८o माघ ६ शनिबार १३:५६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुग्लिन–पोखरा १९.५ किलोमिटर सडक कालोपत्रे

Read Time : > 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८o माघ ६ शनिबार १३:५६:oo

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे भएको छ। तनहुँको आँबुखैरेनी र बन्दीपुर खण्डमा हालसम्म १९.५ किलोमिटर सडकखण्ड कालोपत्रे सकिएको हो।

सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले बन्दीपुर गाउँपालिका–१ नाहालादेखि छिर्कने, आँबुखैरेनी गाउँपालिका–१ सत्रसय - बरादी खण्डमा कालोपत्रे सकिएको जानकारी दिए। त्यसमध्ये ७.२ किमि खण्डमा दुईतर्फी नै कालोपत्रे सकिएको छ।

‘सबैगरी १९.५ किलोमिटर कालोपत्रे भएको छ। कालोपत्रेमध्ये ७.२ किमिमा दुईतर्फी कालोपत्रे सकिएको छ। हाल बरादीदेखि सत्रसय जोड्ने खण्डमा कालोपत्रेको काम भइरहेको छ,’ उनले भने। त्यसपश्चात् बरादीदेखि आँबुखैरेनी गाउँपालिका चोकसम्म दुईतर्फी सडक कालोपत्रेको काम हुने पाण्डेले बताए। उनका अनुसार पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको प्रगति ४४ प्रतिशत रहेको छ।

यसअघि खाल्डाखुल्डी र धुलाम्य सडक हुँदा यात्रा असहज भएकामा हाल कालोपत्रेको काम अगाडि बढेपछि यात्रामा सहजता आएको स्थानीय बताउँछन्। पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा आर्क डिजाइनको पुल निर्माणको काम सुरु भएको छ। व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि रु. एक २१ करोड लागतमा आर्क डिजाइनमा पुल निर्माण हुन लागेको इन्जिनियर पाण्डेले जानकारी दिए। उनका अनुसार पुल निर्माणका लागि आवश्यक काम भइरहेको छ।

इन्जिनियर पाण्डेका अनुसार पुलका लागि दुई सय १० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ। उनले दुईवटा फाउन्डेसनको पाइलको काम सकिएको जानकारी दिए। हाल भइरहेको पुलभन्दा केहीमाथि नयाँ पुल निर्माण हुँदै छ।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ। पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो। ४१.४५ किमि यो खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछन्। पूर्वी खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ। पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु. सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ।

पश्चिम खण्डअन्तर्गत जामुनदेखि पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ।

चार लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ। बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ। डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ। दुलेगौडादेखि खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडादेखि पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ।