
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारूढ गठबन्धनलाई बलियो बनाएर लैजानुपर्नेमा जोड दिएका छन् । पार्टी स्कुल विभागले आयोजना गरेको एकहप्ते प्रशिक्षक प्रशिक्षण कार्यक्रमको बुधबार नगरकोटमा उद्घाटन गर्दै नेपालले गठबन्धनको आवश्यकता अझै रहेको बताएका हुन् ।
‘गठबन्धनबाट अलग हुनुपर्छ भने कुरा पनि सुनिन्छ । यसको विकल्प के ? हामी गठबन्धनबाट बाहिरिनु भनेको एमालेको हात बलियो हुनु हो । अहिले एमाले एकीकृत समाजवादी आउँछ भने हामी आउँदैनौँ भन्छ ? कमिटी बनाउँदा एकीकृत समाजवादीलाई नो सिट भन्छ । राष्ट्रिय सभामा एमालेले ६ सिट हामीलाई दिनुस्, नौ सिट कांग्रेसले लिओस्, चार सिट माओवादीले लिओस् । एकीकृत समाजवादीलाई जिरो भन्ने प्रस्ताव नै राख्यो । यस्तो भावना राख्नेप्रति कसैले सदभाव राख्छ भने यो पार्टीलाई सिध्याउन खोजेको बुझिन्छ । यस्तो गलत विचारलाई हामीले कुनै ठाउँ दिनुहुँदैन,’ नेपालले भने ।
यद्यपि, सरकारी कामलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनले औँल्याए । एकीकृत समाजवादीले सरकार, संसद् र सडकको मोर्चालाई एक साथ अगाडि बढाउने उनले बताए ।
‘हिम्मत गर्ने मान्छेले नै सबै चुनौतीको सामना गर्न सक्छ । चुनौती छन् । त्यसको सामना सरकार, संसद् र सडकको मोर्चा गर्नुपर्छ । तीनवटै मोर्चालाई सशक्त रूपमा अगाडि बढाउनुपर्छ । सरकारमा हुनेहरू भ्रष्ट नबन्नुस्, इमानदार हुनुस्, गतिशील हुनुुस्, विशिष्ट योजना बनाएर काम गर्नुस् । जनप्रतिनिधिले संसदमा आवाज उठाउने, समितिमा आवाज उठाउने, जनताको आवाज, राष्ट्रको आवाज बुलन्द गर्ने हो । त्यसका साथसाथै सडकबाट पनि खबरदारी गर्नुपर्छ,’ उनले भने ।
सडकको खबरदारीलाई विरोधका रूपमा नभई रचनात्मक सुझावका रूपमा अग्रह गरेर सरकारले काम गर्नुपर्नेमा नेपालले जोड दिए । प्रशिक्षण एक सातासम्म चल्ने स्कुल विभागका प्रमुख प्रमेश हमालले जानकारी दिए ।
नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायत शीर्ष नेता र विज्ञहरूले सम्बन्धित विषयमा प्रशिक्षण दिने उनले जानकारी दिए ।
उनका अनुसार मार्क्सवादी दर्शन, नेपाली चरित्रको समाजवाद, आजको विश्व परिवेशमा नेपाली राजनीति, संगठन सुदृढीकरणलगायत विषयमा प्रशिक्षण दिइनेछ । प्रशिक्षणमा पार्टीका नेताका साथै जनवर्गीय संगठनका ४५ जना प्रशिक्षार्थी सहभागी छन् ।