१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
गत वर्ष माघमा म्याग्दीको बेनी नगरपालिका– ६ ठूलोपहिरोस्थित कालीगण्डकी नदीबाट अयोध्या पठाउन शिला ट्रकमा राखिँदै
२०८० माघ ३ बुधबार ०६:०४:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

अयोध्या राम मन्दिरको गर्भगृहमा कालीगण्डकीका शालिग्राम

मूर्ति बनाउन लगिएका शिला भने बाहिरै राखिने

Read Time : > 2 मिनेट
२०८० माघ ३ बुधबार ०६:०४:००

भारतको अयोध्यास्थित राम मन्दिरको मुख्य गर्भगृहमा कालीगण्डकीबाट लगिएका दुई शालिग्राम राखिने भएको छ । रामको बाल्यकालको मूर्ति बनाउन कालीगण्डकीबाट लगिएका दुई शिला भने बाहिरै रहने भएका छन् ।

दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएपछि शीला (ढुंगा) लाई भने गर्भगृह बाहिरै राखिने भएको छ । दुई ठूला शिलामुनि भेटिएका दुई शालिग्राम राम मन्दिरको गर्भगृहमा सधैँका लागि राखिनेछ । 

यही ८ माघमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा हुने मन्दिरको प्राणप्रतिष्ठा हुँदै छ । मन्दिर निर्माणको काम पूरा नभई प्राणप्रतिष्ठा गर्न लागिएको भन्दै भारतमा राजनीतिक मुद्दा पनि बनेको छ । विभिन्न चार मठका शंकराचार्यले पनि प्राणप्रतिष्ठाको शास्त्रीय विधिमाथि प्रश्न उठाएका छन् । 

‘रामलीला (रामको वाल्यकाल)को मूर्ति निर्माणका लागि लगिएका दुई शिलामध्ये एउटा काट्ने क्रममा धर्सा देखिएछ । त्यसबाट मूर्ति बनाउन सम्भव भएन भन्ने जानकारी पाएका छौँ,’ कालीगण्डकीको शिला उत्खननदेखि पुर्‍याउने कार्यमा सहभागी भूगर्भविद् डा. कुलराज चालिसेले नयाँ पत्रिकासँग भने, ‘दुई शिलासँगै हामीले लगेर हस्तान्तरण गरेका दुई शालिग्रामचाहिँ गर्भगृहमा रहनेछन् । राम मन्दिरका गर्भगृहमा कालीगण्डकीका शालिग्राम राखेर पूजाआजा हुनु पनि निकै महत्वपूर्ण हो ।’ 

गत वर्ष १८ माघमा कालीगण्डकी क्षेत्रबाट २४ टन र १४ टनका दुई शिला अयोध्यामा पुर्‍याइएको थियो । जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले श्रीराम जन्मभूमि तीर्थक्षेत्र ट्रस्टका महासचिव चम्पत रायलाई १९ माघमा आयोजित विशेष समारोमार्फत हस्तान्तरण गरेका थिए । अयोध्या लगिएको शिला गण्डकी प्रदेश सरकारका तर्फबाट जानकी मन्दिर हुँदै अयोध्या पुर्‍याइएको थियो ।

राष्ट्रिय स्वयंसेवक संघका अखिल भारतीय प्रचार प्रमुख सुनील अम्बेकरले नेपालबाट लगिएका शिलालाई मन्दिर परिसरभित्रै सम्मानित स्थानमा राखेर पूजाअर्चनाको व्यवस्था मिलाउन लागिएको जानकारी दिए । ‘कालीगण्डकीबाट लगिएका शिलालाई मन्दिरपरिसरमा  राखिन्छ र पूजाअर्चना हुने व्यवस्था मिलाइन्छ । यसमा कोही पनि चिन्तित हुनु आवश्यक छैन,’ अम्बेडकरले नयाँ पत्रिकाको प्रश्नमा भने । हाल अयोध्याको रामसेवकपुरम्मा एउटा छानामुनि शिला राखिएको छ र त्यसमा दैनिक पूजा हुँदै आएको छ । 

मन्त्रिपरिषद् बैठकले २ पुस २०७९ मा कालीगण्डकी नदीका शिला पठाउने निर्णय गरेको थियो । नेपाल र भारतका विज्ञहरूको टोलीले कालीगण्डकीमा सयभन्दा बढी शिलाबाट दुई शिला छनोट गरेका थिए । गत वर्ष १ माघमा कालीगण्डकी गलेश्वर धामनजिकै उत्खनन गरिएको ठाउँ पुगेर कांग्रेसका उपसभापति विमलेन्द्र निधि,  पोखराका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले क्षमापूजा गरेका थिए । कार्यक्रममा विश्व हिन्दु परिषद्का सचिव पंकज सिंह, भूगर्भविद् डा. चालिसे पनि थिए ।

राम मन्दिरको निर्माण मार्च २०२० देखि हुँदै आएको छ । राम मन्दिर निर्माण सुरु हुने वेलामा पनि मुस्ताङको दामोदरकुण्डबाट जल र शालिग्राम राखिएको संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले बताए । ‘दामोदरकुण्डबाट सशस्त्र प्रहरीका तत्कालीन आइजिपी शैलेन्द्र खनालले ल्याउनुभयो र मैले अयोध्या पुगेर हस्तान्तरण गरेँ,’ पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसमेत रहेका बाँस्तोलाले नयाँ पत्रिकासँग भने । 

अयोध्यामा ७० एकड जमिनमा राम मन्दिर निर्माण भइरहेको छ । भुइँतल्ला निर्माण सम्पन्न भइसकेको छ । पाँच मण्डप र बीचमा गर्भगृह रहने गरी मन्दिर निर्माण भएको छ । मन्दिरको भुइँ तलामा गर्भगृह रहनेछ । 

प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा जनकपुरधामबाट मिठाई, कोसेली, चुला चौका, चाँदीका थाल, गरगहनासहितका सामग्री अयोध्या पुर्‍याइएको छ । तीन हजारभन्दा बढी प्रकारका उपहार र कोसेली जनकपुरधामबाट अयोध्या पुगेको छ । ‘हामीले माइतीका तर्फबाट सम्पूर्ण सामग्री पुर्‍याएका छौँ । अयोध्यामा मिथिला र विशेष गरी जनकपुरधामप्रति अपार सम्मान छ,’ जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले नयाँ पत्रिकासँग भने, ‘अयोध्या जनकपुरमय भएको छ । सीतामय भएको छ । अयोध्यामा नेपालको ठूलो प्रवर्द्धन भएको छ । यसले जनकपुरधामको विकासमा ठूलो मद्दत पुग्नेछ ।’ 

तीर्थ क्षेत्र ट्रस्टले पनि भारतका विभिन्न राज्यबाट उपहार आएको र जनकपुरधामबाट आएको उपहार विशेष रहेको उल्लेख गरेको छ । ‘सबैभन्दा उल्लेखनीय के हो भने माता जानकीको माइती घरबाट पठाइएका उपहारहरू (छोरीको घर स्थापना गर्दा पठाइने उपहार) जनकपुरबाट आएका छन् । सीतामढी (बिहार)बाट पनि उपहार अयोध्या ल्याइएको छ,’ ट्रस्टले जारी गरेको विज्ञप्तिमा छ । 

राम मन्दिरमा मंगलबारदेखि शास्त्रीय परम्पराअनुसार प्राणप्रतिष्ठापूर्वको कार्य सुुरु भएको छ । नेपालबाट गएका आचार्य दुर्गाप्रसाद गौतम पनि पूजापाठमा सामेल छन् । मंगलबार प्राणप्रतिष्ठाको पूर्वशुभसंस्कारको प्रारम्भ सुुरु भएको छ । यसलाई प्रायश्चित तथा कर्मकुटी पूजन भनिएको छ । अब बुधबारदेखि ७ माघसम्म मन्दिरमा मूर्तिको प्रवेश, तीर्थपूजन, जलयात्रा, जलाधिवास, औषधाधिवास, केसराधिवास, धृताधिवास, धान्याधिवास, शर्कराधिवास, फलाधिवास, पुष्पाधिवास, मध्याधिवास र शैयाधिवास सम्पन्न हुनेछ । भोलिपल्ट ८ माघमा प्राणप्रतिष्ठा हुनेछ । 

विश्व हिन्दु परिषद् नेपाल र हिन्दु स्वयंसेवक संघको अगुवाइमा ८ माघमा देशैभरि मठमन्दिरमा दीपोत्सवको तयारी भएको छ । परिषद् महासचिव जितेन्द्र कुमार सिंहका अनुसार जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख द्वीप जलाउने कार्यक्रम तय भएको छ । ‘देशैभरि हिन्दु समाजले दीपोत्सव गर्ने गरी तयारी गरिरहेका छौँ । ठाउँठाउँमा राम मन्दिर प्राणप्रतिष्ठाको लाइभ देखाउनेछौँ,’ सिंहले भने, ‘अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुने घटना युगौँमा एकपटक हुन्छ र यो यसपालि मात्रै हुन्छ । यसमा देशैभरि उत्सव मनाउने गरी तयारी गर्दै छौँ ।’