१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
२o८१ जेठ ६ आइतबार १o:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शालिग्रामको महिमा बुझाउन बागलुङमा महोत्सव 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १o:५४:oo

कालीगण्डकी र यहाँ पाइने शालिग्रामको महिमा बुझाउन बागलुङमा शालिग्राम महोत्सव गरिने भएको छ । बागलुङ नगरपालिका– ४ कुँडुले फेदीमा रहेको श्रीधराचार्य शालिग्राम संग्रहालय तिरुपती बालाजीधाममा आगामी वैशाख ११ देखि १५ गतेसम्म महोत्सव सञ्चालन हुने भएको छ।

 महोत्सवमा साहित्व, संगीत र साधनाबाट कृष्ण गण्डकी र शालिग्रामको महिमा र महत्व बुझाइने महोत्सव मूल आयोजक समितिका संयोजक एवं  श्रीधराचार्य शालिग्राम संग्रहालयका अध्यक्ष स्वामी ऋषिप्रपन्नाचार्यले जानकारी दिए । संग्रहालयनजिकै रहेको रंगबेंकटेस मुक्तिनारायण भगवानलाई नयाँ मन्दिरमा प्रतिस्थापन गरिएको प्रथम वार्षिकोत्सवको अवसरमा महोत्सव आयोजना गरिने बुधबार ऋषिप्रपन्नाचार्यले जानकारी दिए। 

कालीगण्डकी नदीमा मात्र पाइने तथा हिन्दू धर्मावलम्बीहरूले अति पुज्य मान्ने शालिग्रामको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको संग्रहालय थप प्रचारप्रसार, वैदिक संस्कार संस्कृतिको संरक्षण एवं संवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनको भनाइ थियो । 

महोत्सवमा विशेषतः साहित्यिक विद्यामार्फत कालीगण्डकी र शालिग्रामको महिमा र महत्वबारे बुझाइनेछ। महोत्सवको पहिलो दिन वैशाख ११ गते कालीगण्डकी र शालिग्राम गौरवगाथा विषयक कविगोष्ठी सञ्चालन गरिनेछ। दोस्रो दिन वैशाख १२ गते कालीगण्डकी र शालिग्राम कथाव्यथा विषयक रत्यौलीसहित आध्यात्मिक प्रवचन, १३ गते कालीगण्डकी र शालिग्राम महिमा विषयक आध्यात्मिक भजन झाँक्री नृत्यसहित आध्यात्मिक प्रवचन, १४ गते कालीगण्डकी र शालिग्राम विषयक आध्यात्मिक दोहोरी र हास्यकलाकार दाह्री बाको प्रस्तुति र १५ गते प्रवचन, पुरस्कार, सम्मानसहित समापन गरिने स्वामी ऋषि प्रपन्नाचार्यले बताए । 

बागलुङ नगरपालिका– ४ कुँडुले फेदीमा षडाचार्य स्वामी श्रीधराचार्यले ०४० सालमा स्थापना गरी सञ्चालित रंगबेंकटेस मुक्तिनारायण मन्दिर जीर्ण भएकाले नेपाली वास्तुशैलीमा श्रीराम नामअंकित गण्डकी शिलाद्वारा स्वदेशी सामग्री प्रयोग गरिएको विशाल कलात्मक मन्दिर एवं हालै निर्माण गरिएको अलौकिक शालिग्राम संग्रहालयको प्रवर्द्धन गर्न महामहोत्सव आयोजना गरिएको हो । 

संग्रहालयमा गण्डकी सभ्यताको प्रतिरूप, धार्मिक पुस्तकालय, ध्यानस्थल र वृत्तचित्र प्रदर्शनी कक्ष बनाइएको छ । एक सय मिटर लामो सुरुङको प्रवेशद्वारनजिकै कृत्रिम भूबनोटमा दामोदरकुण्डदेखि त्रिवेणीसम्मका धार्मिक तथा सांस्कृतिक सम्पदाको नमुना तयार गरिएको छ । संग्रहालयमा मठमन्दिर, देवस्थल, हिमाल, नदीसँगै अन्य भौतिक संरचना निर्मित छन् । मुस्ताङमा पर्ने दामोदरकुण्ड कालीगण्डकी नदीको उदगमस्थल हो । 

भौगोलिक नक्साअनुसारकै नमुना तयार पार्न नेपाली सेनाले सघाएको थियो । गण्डकी सभ्यता देखाउने नक्सांकनलाई सिसाले घेरिएको छ । त्रिशूल आकारमा रहेको सुरुङको बायाँपट्टि धार्मिक महत्वका एक लाख २५ हजार शालिग्राम राखिएको छ । १४ वर्ष लगाएर संकलन गरिएका शालिग्राम संग्रहालयमा राखिएको अध्यक्ष प्रपन्नाचार्यको भनाइ छ । संग्रहालयमा मन्दिरका संस्थापक स्वामी श्रीधराचार्यको स्मृतिकक्ष पनि बनाइएको छ ।

समुद्री अवशेषहरूलाई पनि नमुनाका रूपमा देखाइएको छ । पाठपूजा, हवनजस्ता धार्मिक कार्यमा प्रयोग हुने परम्परागत सामग्री एवं उपकरण पनि संग्रह गरिएको छ । सुरुङको दायाँपट्टि एक सय १२ जना अट्ने प्रदर्शनीकक्ष निर्माण गरिएको छ ।शालिग्राम सिलाको महत्वसँगै दामोदर कुण्डदेखि त्रिवेणीधामसम्मका नदी, मठमन्दिरका नक्सा तथा शालिग्राम र गण्डकीको महत्व र महिमामा केन्द्रित वृत्तचित्रसमेत राख्ने तयारी गरिएको छ । 
 

ad
ad