
गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा सडक विभागका तत्कालीन सुपरिटेन्डेन्ट इन्जिनियर चन्द्रनारायण यादवले सफाइ पाएका छन् ।
बुधबार विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य शालिग्राम कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ असार ०७७ मा उनीमाथि एक करोड ८५ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दैै आरोप–पत्र दायर गरेको थियो । उनले अवकाश प्राप्त गरेपछि मुद्दा दायर भएको हो ।
२०३६ सालमा सरकारी सेवामा प्रवेश गरेका उनले ०७४ फागुनमा अवकाश पाएका हुन् । उनले सो अवधिमा पारिश्रमिक तथा विभिन्न स्रोतबाट गरी एक करोड २ लाख रुपैयाँ आर्जन गरेकोमा खर्च र सम्पत्ति भने दुई करोड ८७ लाखभन्दा बढी देखिएपछि मुद्दा दायर भएको थियो ।
स्रोत नखुलेको एक करोड ८५ लाख रुपैयाँ अवैध र गैरकानुनी तरिकाले कमाएको दाबी गर्दै मुद्दा दायर भएको थियो । जसमाथि फैसला गर्दै विशेषले कसुर नठहरिने निर्णय सुनाएको हो ।