मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ माघ १२ बिहीबार
  • Monday, 31 August, 2026
कमल खत्री म्याग्दी
२o७९ माघ १२ बिहीबार २o:१३:oo
Read Time : > 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अयोध्या पठाउन २३ र १६ टनका शालिग्राम हस्तान्तरण [तस्बिरहरू]

Read Time : > 1 मिनेट
कमल खत्री, म्याग्दी
नयाँ पत्रिका
२o७९ माघ १२ बिहीबार २o:१३:oo

म्याग्दीस्थित कालीगण्डकी नदीका २ थान शिला हिन्दुहरूको धार्मिकस्थल भारतको अयोध्या पठाइएको छ। भारतको अयोध्यामा निर्माणाधीन राम–मन्दिरमा राख्ने रामको बाल अवतारको मूर्ति निर्माण गर्नका लागि कालीगण्डकीको शिला पठाइएको हो। 

विश्वमै दुर्लभ शिलाको रूपमा चिनिने शालिग्राम पाइने एक मात्र नदी कालीगण्डकी नदीको शिलालाई बिहीबार प्रसिद्ध धार्मिकस्थल गलेश्वर शिवालयमा पूजापाठ गरेर पठाइएको हो। 

यसअघि नै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, प्रतिनिधिसभा सदस्य एवं पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधि, बेनी नगरपालिकाका प्रमुख सुरत केसीलगायतले अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकज र जानकी मन्दिरका महन्तलाई शिला हस्तान्तरण गरे पनि बिहीबार क्रेनमार्फत ट्रकमा राखेर शिलालाई बिदाइ यात्रा गरिएको हो।

बुधबार क्रेनबाट दुई शिलालाई ट्रकमा राखेर प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा लगिएको थियो। बिहीबार गलेश्वर शिवालय मन्दिर परिसरमा राखिएको शिलालाई गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, बेनी नगरपालिका मेयर सुरत केसी र गलेश्वर मन्दिरका अध्यक्ष माधवप्रसाद रेग्मीले विधिवत रूपमा पूजाआजा गरेर बाजागाजा र भजन किर्तनसहित हस्तान्तरण गर्दै शोभायात्रामार्फत सदरमुकाम बेनी बजार परिक्रमा गराएर शिलालाई पठाइएको हो।
 

अयोध्यामा निर्माणाधीन राम मन्दिरमा भगवान रामको बाल अवतारको मुख्य मूर्ति बनाएर राख्नका लागि कालीगण्डकीको शिला लैजाने प्रस्ताव आएपछि भूगर्भविद्, शिलाविद्, प्राविधिक र विज्ञसमेतको टोलीले बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकीमा दुई थान शिला पहिचान गरेका थिए। 

बेनी नगरपालिका मेयर सुरत केसीले पवित्र कालीगण्डकी नदीबाट धेरै लामो समय टिक्ने शिला पहिचान गरेर २३ टन र १५ टनका दुई थान शिलालाई बेनी नगरपालिकाले गण्डकी प्रदेश सरकारमार्फत पठाएको जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेश सरकारले मधेस प्रदेशको जानकी मन्दिरलाई हस्तान्तरण गर्ने र जानकी मन्दिरले अयोध्यालाई हस्तान्तरण गरेर शिलालाई अयोध्या पुर्याइनेछ। 

पवित्र कालीगण्डकीको शिला अयोध्यास्थित राम मन्दिरमा मुख्य मूर्तिका रूपमा राख्ने भएकाले कालीगण्डकी क्षेत्रको महत्व र महिमालाई फैलाउन शिला उपहारले महत्वपूर्ण भूमिका खेल्ने प्रदेश सभा सदस्य भण्डारीले बताए। 

दुई थान शिला लिन आएका अयोध्यास्थित राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले कालीगण्डकीको शिला भगवान विष्णुको अवतार भएको र रामको बाल अवतारको स्थापनाका लागि पवित्र शिला लैजान लागिएको बताए। 

अयोध्या, जानकी र समग्र कालीगण्डकी क्षेत्रको धार्मिक र सांस्कृतिक सम्बन्धलाई विश्वमा चिनाउन यस शालिग्राम शिलाले धर्मदूतको काम गर्ने उनको भनाइ छ। 

पौराणिक रूपमै नेपाल र भारतबीचको सम्बन्ध रहेको अवस्थामा कालीगण्डकीको शिला मुख्य मूर्तिका रूपमा राख्न लैजानुले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाउने र कालीगण्डकी नदी क्षेत्रको महिमा बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।