१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:५२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बालकुमारी घटना : भौतिक पूर्वाधार र श्रममन्त्री पनि छानबिनको दायरामा

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:५२:oo

अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको ज्यान जाने गरी भएको बालकुमारी घटनामा दुई मन्त्रीमाथि पनि छानबिन हुने भएको छ । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र श्रममन्त्री शरत्सिंह भण्डारीलाई पनि छानबिनको दायरामा ल्याइने भएको हो । 

कोरियन भाषा परीक्षा (इपिएस)लाई लिएर युवाहरूले आन्दोलन गरिरहेको संवेदनशील क्षेत्र बालकुमारीमा गएको र भनाभनमा उत्रिएको भन्दै मन्त्री ज्वालाको तथा इपिएस कार्यालयको भूमिकालाई लिएर मन्त्री भण्डारीको आलोचना भइरहेको छ । सोमबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा सांसदहरूले दुवै मन्त्रीको राजीनामा मागेपछि समितिले उनीहरूमाथि छानबिन गर्न निर्देशन दिएको छ । बैठकमा जवाफ दिन उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि घटनासँग सम्बन्धित सबै पक्षमाथि छानबिन हुने प्रतिबद्धता जनाएका छन् । 

बैठकमा गृहमन्त्री श्रेष्ठले भने, ‘यो सामान्य विषय होइन, कहीँ न कहीँ कमजोरी भएको छ । यसमा न्यायिक समिति बनिसकेको छ । समितिले घटनासँग सम्बन्धित सबै सेरोफेरोमा छानबिन गर्नेछ । सबै पक्षमा छानबिन गरेर जो–जो दोषी देखापर्छ, ती सबैलाई कानुनको दायरामा, कारबाहीको दायरामा ल्याइनेछ । दृढतापूर्वक प्रतिवेदन कार्यान्वयन गरिनेछ ।’
घटना छानबिनका लागि सोमबारै मन्त्रिपरिषद्ले पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय न्यायिक छानबिन समिति गठन गरेको छ । समितिलाई घटनाका सम्बन्धमा भएका कमी–कमजोरी पत्ता लगाउने तथा सम्बन्धित व्यक्ति, पदाधिकारी एवं निकायको भूमिकाबारे अध्ययन गरी दोषी देखिएका जोकोहीलाई कारबाही सिफारिस गर्न कार्यादेश दिइएको छ । 

मन्त्री श्रेष्ठले अदालतको आदेशका आधारमा इपिएस कार्यालयको अव्यावहारिक निर्णय, इपिएस कार्यालय प्रमुखको गैरजिम्मेवारीपन र परीक्षार्थीको प्रदर्शनबीच भौतिक पूर्वाधारमन्त्रीको सवारीले अप्रिय घटना भएको बताए । ‘त्यतिवेला मन्त्रीजी त्यो बाटोबाट किन आउनुभयो होला ? यहाँनेर पिएसओ र गार्डले किन रोकेन ? सूचना किन दिएन ?’ उनले भने, ‘यसले यो घटनालाई अर्काे मोडतिर लैजान भूमिका खेल्यो ।’ 

मन्त्री आउनुअघि स्थिति नियन्त्रणमै रहेको, सुरक्षा फौज अलर्टमै रहेको रिपोर्टिङ पनि गृहमन्त्रीले समिति बैठकमा गरेका छन् । उनले थपे, ‘मन्त्रीजीको गाडी आइसकेपछि मन्त्रीजी एकछिन बाहिर निस्केर सवालजवाफतिर पनि लाग्नुभएछ । त्यसपछि त्यो भएन भनेपछि धकेलाधकेल पनि हुन्छ । त्यसपछि मन्त्रीजीलाई आर्मीको गार्डले लिएर जानुभयो । यता प्रहरीलाई मन्त्रीको गाडी आएको छ, घेराबन्दीमा परेको छ भन्ने भएपछि फिल्डको कमान्डर त्यो दिशामा जान खोजे । त्यही क्रममा गोली प्रहार भएको देखिन्छ । त्यसरी फायरिङसँगै उतापट्टि गाडी जलेको देखिन्छ,’ उनले समितिलाई जानकारी गराए । 

गृहमन्त्री श्रेष्ठले घटनामा जिल्ला सुरक्षा समितिको आदेशविना नै गोली हानेको देखिएको बताए । ‘हाम्रो स्ट्यान्डबाई अर्डर गोली प्रयोग नगरौँ भन्ने थियो, र पनि गोली चल्यो,’ उनले भने, ‘गोली चलेपछि मात्रै हामीले जानकारी पाएको हो ।’ मन्त्री श्रेष्ठले अनुसन्धानलाई सफल बनाउन पिएसओ, फिल्ड कमान्डरसम्म निलम्बन गरिएको र दोषी नभए फुकुवा हुने बताए । ‘जिल्ला सुरक्षा समितिको आदेशविना गोली हानेको देखिएको छ ।

छानबिनलाई उपयुक्त वातावरण निर्माण गर्न निलम्बन गरिएको हो,’ उनले भने । यो घटनामा इपिएस कार्यालय प्रमुख मात्र नभई श्रममन्त्री पनि जिम्मेवार हुनुपर्ने सांसदहरूको धारणामा मन्त्री श्रेष्ठले छानबिनबाट टुंगो लाग्ने बताए । ‘प्रारम्भिक विश्लेषणमा समस्या छ भनेर त देखिएकाहरूलाई निलम्बन गरेर छानबिनको वातावरण निर्माण गरिएको छ,’ उनले भने, ‘छानबिन समितिले सम्पूर्ण पक्षलाई हेर्छ, प्रतिवेदन दिन्छ । यसलाई दृढतापूर्वक कार्यान्वयन गरिनेछ । दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’ 

बैठकमा गृहमन्त्रीबाहेक नेपाल प्रहरी प्रमुख वसन्त कुँवर र सशस्त्र प्रहरी प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले पनि ब्रिफिङ गरेका थिए । आइजिपी कुँवरले मन्त्रीको ज्यान जोगाउने हिसाबले फिल्ड कमान्डरबाट गोली चलेको हुन सक्ने बताए । ‘मन्त्रीको गाडी परिसकेपछि बल प्रयोग नगर्दा समस्या आउन सक्छ भन्ने मानसिकताले काम गरेको देखिन्छ,’ उनले भने, ‘किनकि त्यहाँ मन्त्रीजी गाडीमा आएको सञ्चार भएको छैन । यस्तो संवेदनशील अवस्थामा मन्त्रीजीको ज्यानको समेत खतरा हुने र बल प्रयोग नगर्दा समस्या आउन सक्छ भन्ने हिसाबले प्रहरी अगाडि बढ्यो । भिड नेतृत्वमा थिएन । युवाहरू जोसमा थिए, सोचेभन्दा फरक अवस्था थियो, त्यति नगरेको भए अरू थप कुराहरू हुन सक्ने अवस्था थियो ।’ 

कुँवरले दंगा नियन्त्रणका लागि प्रहरीसँग पर्याप्य स्रोत–साधन नभएको गुनासो पनि गरे । ‘स्रोत–साधन पर्याप्त छैन । सञ्चार सेट साधारणतया मागेरै लिने हो, लिएको हो । काठमाडौंलाई एउटा सेट छ, ललितपुरलाई अर्कै छ । एउटै च्यानल भएको भए सजिलो हुन्थ्यो,’ उनले भने । बालकुमारी घटनामा समयमा सञ्चार सम्पर्क हुन नसक्नुमा उनले साधनकै अभाव देखाए । ‘अहिलेको हामीले प्रयोग गरेको सेटले बाहिर जाँदा काम गर्दैन । विभिन्न च्यानल हुन्छ, अलिकति मिलाएर कुरा गर्ने हुन्छ भने काठमाडौंभित्र प्रयोग गर्ने वाकिटकी ललितपुरले टिप्दैन, फ्रिक्वेन्सी नै मिल्दैन ।

समन्वय गर्दा कि टेलिफोन गर्नुप¥यो, कि उपत्यका प्रहरी कार्यालयबाट सञ्चार गर्नुपर्ने हुन्छ । पिएसओले तत्काल खबर पाएको त्यहीँबाट हो । मन्त्रीको गाडी आइसक्यो भनेर पिएसओले टेलिफोन वा आफ्नो सेटमार्फत उपत्यका प्रहरी कार्यालयमा खबर गरेपछि सो कुरा ललितपुर परिसरलाई रिले गरेपछि मन्त्रीको गाडी आएको थाहा भयो । त्यसपछिको डेभलपमेन्ट केही भनेन । त्यसपछि रनभुल्लमा परियो,’ उनले सुनाए । 

दुर्गा प्रसाईंको आन्दोलनका वेला दंगा नियन्त्रण सामग्री बुटवल, गण्डकी र भरतपुर तालिम केन्द्रबाट मगाएको पनि उनले सुनाए । ‘अब आन्दोलन हुँदा दंगा नियन्त्रण प्रहरीले कसरी गर्ने ? यो कुरामा पनि सचेत भइदिनुपर्‍यो,’ उनले भने । त्यस्तै, सशस्त्रका आइजिपी अर्यालले न्यूनतम बल प्रयोग गर्नु नै सुरक्षा फौजको सिद्धान्त भए पनि फिल्डमा कहिलेकाहीँ न्यूनतम क्षति कति र अधिकतम क्षति कति भन्ने परिस्थितिमा भर पर्ने बताए । ‘यसमा धेरै पक्ष जोडिएको छ । स्पष्ट समन्वय भएन भने थेग्नै नसक्ने अवस्था आउँछ । क्षतिको न्यूनीकरण गर्ने प्रयास सुरक्षा फौजले गरेकै छ, भएका कमी–कमजोरीमा समिति बनेको छ, त्यसअनुसार हामीले गर्नेछौँ,’ उनले भने । 

राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापाले परीक्षार्थीको प्रदर्शनमा मन्त्रीको गाडी प्रवेश गरेपछि नै घटनाले उग्र रूप लिएको बताए । इपिएसको लामो आन्दोलनमा सुरक्षाकर्मी अलर्ट रहेको, जिल्ला सुरक्षा समितिमा पनि व्यापक छलफल भएको उल्लेख गर्दै उनले मन्त्रीको गाडी प्रवेशपछि स्थिति नियन्त्रणबाहिर गएको र यसमा समन्वयको अभाव देखिएको उनको दाबी छ ।तर, भौतिक पूर्वाधारमन्त्री ज्वालाले भने बालकुमारीमा आन्दोलन भएको विषयमा आफूलाई जानकारी नभएकाले सोही बाटो गाडी लगेको दाबी गर्दै आएका छन् । 

सांसदहरूले गृहमन्त्री श्रेष्ठलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिएका छन् । सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री कीर्तिनिधि विष्ट, रंगशालामा आँधी आएर भागदौड भई नागरिक मारिँदा खेलकुदमन्त्री केशरबहादुर विष्टले राजीनामा दिएको प्रसंग उल्लेख गर्दै सांसदहरूले मन्त्री श्रेष्ठलाई पनि नैतिकता देखाउन भनेका हुन् । ‘विदेश गएर कमाइ खाऊँ भन्दा पनि ताकी–ताकी गोली हान्ने, गृहमन्त्री राजीनामा दिनुस्,’ एमाले सांसद राजेन्द्र राईले भने । 

ad
ad