१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० पौष १० मंगलबार ०९:१४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नारायणगढ–बुटवल सडक विस्तार ढिलाइबारे ध्यानाकर्षण गर्न रास्वपाको तीनदिने दबाब यात्रा

Read Time : > 1 मिनेट
२०८० पौष १० मंगलबार ०९:१४:००

सभापति रवि लामिछाने नेतृत्वको टोली पहिलो दिन करिब ३९ किलोमिटर पूरा गर्दै डन्डा बजार पुग्यो

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको भन्दै ध्यानाकर्षण गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले दबाब यात्रा सुरु गरेको छ । रास्वपा सभापति रवि लामिछानेको नेतृत्वमा सोमबारदेखि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको भृकुटीचोकबाट दबाबमूलक पदयात्रा थालिएको हो । 

निर्धारित समयमा सडक विस्तार नहुँदा स्थानीयलाई समस्या परेको भन्दै सडक चाँडो निर्माण गराउन दबाब दिन यात्रा सुरु गरिएको लामिछानेले बताए । ‘नीति निर्माताले पनि सबैतिरबाट दबाब दिनुपर्ने भएकाले दबाब यात्रामा हिँडेको हुुँ,’ लामिछानेले भने, ‘के कारणले ढिलो भएको हो सोको निराकरण गरी समयमै विकास आयोजना सम्पन्न गर्न दबाब सिर्जना होस् भनेर सिर्जना गरिएका विभिन्न कार्यक्रममध्येको यो एउटा कार्यक्रम हो ।’

लामिछानेले पैदल यात्रा गरेर तीन दिनमा बुटवल पुग्ने तयारीमा रहेको भन्दै आफ्नो यात्रामा कुनै पनि स्वागत–सत्कार नगर्न आग्रह गरेका छन् । पहिलो दिन लामिछानेको यात्रा करिब ३९ किलोमिटर पूरा गर्दै डन्डा बजार पुगेको छ । जनताको भोगाइ थाहा पाउन र चाँडो सडक विस्तारको काम सम्पन्न गर्न मात्रै यात्रामा निस्किएको उनको भनाइ छ । ‘ठेकेदारको मात्र नभई समन्वयको अभावले पनि समस्या सिर्जना भएको छ । बिजुलीको पोल, तार, रूखलगायत समयमा नहट्दा र समन्वय हुन सकेको छैन । जेसुकै कारणले भए पनि आमजनाताले सहज रूपमा यसको उपयोग गर्न पाउनुपर्छ,’ उनले भने । लामिछानेले बन्द कोठाभित्र बसेर नीति–निर्माण गर्नु र फिल्डमा आएर स्थानीयले भोगेको समस्या एकछिन मात्रै भोग्दा पनि उनीहरूको पीडाका बारेमा बोध हुने बताए । उनले आफ्नो यात्रामा निस्केको समयमा स्थानीयका कुरा सुन्न र  छलफल गर्न नसके पनि आफ्नो टिमबाट स्थानीयका गुनासो सुन्ने र छलफल गर्ने काम हुने बताए । 

२४ माघ ०७५ मा एसियन राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने भनेर सम्झौता भएको बुटवल–नारायणगढ सडक विस्तारको प्रगति अहिलेसम्म करिब ४३.३५ प्रतिशतमात्रै छ । २२ साउन ०७९ सम्ममा सडक निर्माण सम्पन्न भइसक्नुपर्ने हो । दुईपटक थप गरिएको म्याद ८ साउन ०८१ मा सकिँदै छ । सडक विस्तारको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी ओलीले ८ चैत ०७५ मा बुटवलमा गरेका थिए । यो सडक निर्माणका क्रममा भत्किएको बाटो र पक्की पुल निर्माणका लागि बनाइएका डाइभर्सनका कारण धुलो र खाल्डोले यात्रा नै गर्न मुस्किल हुने गरेको छ । पानी पर्दा हिलो, घाम लाग्दा धुलो हुने यो सडकमा पटक–पटक डाइभर्सन नै बगेर बाटो बन्द भएका थुप्रै उदाहरण छन् । 

अहिले चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल खण्डको ११४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ । हाल दुई लेन रहेको नारायणगढ–बुटवल सडकखण्डलाई विस्तार गर्दै कतै चार लेन, कतै ६ र तीन लेनको ‘ग्रिनरी’सहित बनाउन लागिएको छ । गैँडाकोटदेखि दाउन्नेसम्मको ६५ किलोमिटर र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ । यो सडक निर्माणमा एसियाली विकास बैंकले ८५ प्रतिशत र बाँकी नेपाल सरकारको लगानी छ । यो सडकले रुपन्देही, नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गरी तीन जिल्लालाई छुन्छ । थप गरिएको मितिमा समेत काम सम्पन्न हुने सम्भावना न्यून रहेको आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए ।