Skip This
अमेरिकी सहायताले युक्रेन युद्धमा पार्ने प्रभाव
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
२o८१ बैशाख २९ शनिबार ११:oo:oo
Read Time : > 2 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

अमेरिकी सहायताले युक्रेन युद्धमा पार्ने प्रभाव

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार ११:oo:oo

अमेरिकाले २०२२ जनवरीदेखि हालसम्म युक्रेनलाई ७४.३ अर्ब अमेरिकी डलर आर्थिक सहयोग गरेको छ 

अमेरिकी संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रिजेन्टिभ’ले गत शनिबार युक्रेनका लागि ६१ अर्ब अमेरिकी डलरको सहायताको प्याकेज अनुमोदन गर्‍यो । यस विशाल आर्थिक सहायता प्याकेजले युक्रेनलाई रुसविरुद्ध जारी युद्धमा महत्वपूर्ण सहयोग गर्ने विश्लेषण गरिँदै छ । त्यो कसरी सम्भव हुनेछ भन्ने बारेमा यहाँ चर्चा गरिएको छ :

युक्रेनलाई अमेरिकी सहयोगको निरन्तरता : रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि युक्रेनलाई सबैभन्दा ठूलो आर्थिक सहयोग अमेरिकाले गरिरहेको छ । रुसको आक्रमणपछि युक्रेनले पाएको सबै प्रकारको सहयोगको तथ्यांक राख्दै आएको जर्मन अनुसन्धान संस्था ‘किइल इन्स्टिच्युट फर द वल्र्ड इकोनोमी’का अनुसार अमेरिकाले युक्रेन युद्ध सुरु हुनुभन्दा एक महिनाअघि अर्थात् सन् २०२२ जनवरी २४ देखि यो वर्ष जनवरी १५ सम्म युक्रेनलाई ७४.३ अर्ब अमेरिकी डलरको आर्थिक सहयोग गरेको छ । यो रकम मानवीय, वित्तीय र सैन्य गरी विभिन्न शीर्षकमा छुट्याइएको भए पनि यसको ठूलो हिस्सा सैन्य प्रयोजनमा खर्च हुनेछ । कुल अमेरिकी सहयाता प्रतिबद्धताको ६२ प्रतिशत अर्थात् ४६.३ अर्ब डलर सैन्य प्रयोजनमा खर्च गरिएको किइल इन्स्टिच्युटको तथ्यांकले देखाउँछ ।

अमेरिकाभित्र युक्रेन युद्धप्रति समर्थन घट्न थालेपछि र रिपब्लिकन पार्टीभित्र युक्रेनलाई सहयोग दिन हुँदैन भन्ने धारणा बलियो हुँदै जान थालेपछि अमेरिकी सहयोग प्रभावित हुन थाल्यो । अघिल्लो वर्ष (सन् २०२३)को अन्त्यदेखि भने अमेरिकी सैन्य सहायता लगभग ठप्प भएको थियो । आफ्नो सबैभन्दा ठूलो दाता मुलुकबाट सहयोग रोकिएपछि युक्रेनले रुसविरुद्ध आक्रमण गर्ने त परको कुरा रुसबाट हुने निरन्तरको बमबारी रोक्नसमेत संघर्ष गर्नुपर्ने स्थिति आयो । युक्रेनी सेनासँग रुसी फौजलाई रोक्न हतियार नभएकै कारण फेब्रुअरीमा दोनवास क्षेत्रमा अवस्थित अभ्दिभ्का सहरबाट पछि हट्न बाध्य भएको थियो । अहिले ‘चासिभ यार’ नामक सहरमा पनि युक्रेन पछि हट्न दबाब खेपिरहेको छ । रुसी सेना कम्तीमा पनि पाँच–एकको अनुपातमा किभविरुद्ध हाबी भएकाले युक्रेनी फौज रुसी फौजलाई अघि बढ्नबाट रोक्न अक्षम हुँदै गएको छ ।

अभाव यति चर्को बनेको छ कि केही युक्रेनी सैनिकले अगाडि बढिरहेका रुसी फौजलाई तर्साउन धुवाँ मात्र निकाल्ने नक्कली गोलाबारुद प्रयोग गर्न बाध्य भएका छन् । सक्कली गोलाबारुद बाँकी नरहेकाले यस्तो रणनीति अपनाउन बाध्य भएको उनीहरूको भनाइ छ । त्यस्तै युक्रेनलाई क्षेप्यास्त्र प्रतिरक्षाको पनि ठूलो अभाव भएको छ । यसले रुसी क्षेप्यास्त्रले विनाअवरोध सजिलै युक्रेनी ऊर्जा पूर्वाधार ध्वस्त पारिरहेका छन् । रुसले मार्चमा खार्किभ क्षेत्रमा दुईवटा र अप्रिलको सुरुमै किभको दक्षिणी भागको ऊर्जा केन्द्र नष्ट गर्‍यो । १३ लाख जनसंख्या भएको खार्किभ सहरमा अहिले २४ घन्टामा केही घन्टा मात्रै बिजुली उपलब्ध गराइन्छ । 

सहायता हतियार कहिले युद्धमैदानमा आउला ? : अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीले गत शुक्रबार सहायता प्याकेज स्वीकृत भएपछि टिप्पणी गर्ने क्रममा केही दिनमै प्रारम्भिक प्याकेज पठाउने तयारी गरिरहेको बताए । यसका लागि आफूहरूले तल्लो सदनबाट अनुमोदन भएको अनुदान प्याकेज माथिल्लो सदन (सिनेट)बाट अनुमोदन हुने र राष्ट्रपति जो बिडेनको हस्ताक्षरको पर्खाइमा रहेको तिनले बताए । यस सहायता प्याकेजमाथि मंगलबार नै माथिल्लो सदनमा मतदान हुने अपेक्षा गरिएको छ । सिनेटमा सहायता प्याकेज समर्थन गर्ने डेमेक्रेटिकको बहुमत रहेकाले त्यहाँबाट सजिलै पारित हुने अपेक्षा छ । पेन्टागनको प्रारम्भिक प्याकेजमा सम्भवतः हातहतियार र वायु प्रतिरक्षा रहने अनुमान छ । यो युरोपमा राखिएका अमेरिकी हतियार भण्डारणबाट निकासा गरिनेछ, जसलाई युक्रेन पुर्‍याउन एक वा दुई हप्ता लाग्नेछ । हतियार युक्रेन पुगेपछि असर देखिन केही समय लाग्ने विज्ञहरू बताउँछन् । उता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी हतियार युक्रेन भित्रिनुअघि रुसले आक्रमण तीव्र पार्न सक्ने चेतावनी दिएका छन् ।

सहयोगले कस्तो प्रभाव पार्न सक्छ ? : युक्रेनलाई पश्चिमी सहायता बढिरहेको सन्दर्भमा रुसले पनि आफ्नो रक्षा खर्च बढाउँदै लगेको छ । केही अनुमानअनुसार रुसको रक्षा बजेट कुल गार्हस्थ उत्पादनको ७.५ प्रतिशतसम्म पुगेको छ । त्यस्तै उसले युद्ध मैदानमा नवीनता शैलीको प्रयोग पनि बढाएको छ । मस्कोले युद्धको अग्रमोर्चा कमजोर बनाउन कच्चा तर घातक ग्लाइड बमको प्रयोग बढाएको छ । लामो दूरीबाट प्रहार गरिने यी बमलाई निस्तेज बनाउन किभले संघर्ष गर्नु परिहेको छ । त्यस्तै, युक्रेनी सिपाहीका अनुसार रुसले ठूलो संख्यामा ड्रोन प्रयोग गर्न थालेको छ ।

रुसलाई युद्ध मैदानमा जनशक्तिको उच्च संख्याको लाभ छ, जसलाई उसले भारी हतियार दिएर युद्धमैदानमा पठाइरहेको छ । हालसम्मको पश्चिमी सहयोगबाट युक्रेनले सन् २०२४ भित्र रुससँग गुमाएको भूमि फिर्ता ल्याउन सक्ने सम्भावना नरहेको विज्ञहरूको विश्लेषण छ । ‘अमेरिकी सहायता प्याकेजले यो वर्षभरि युक्रेनी सैन्य स्थितिलाई स्थिर बनाउन र सन् २०२५ मा युद्ध अभियान सञ्चालनको तयारी सुरु गर्न मात्र मद्दत गर्न सक्छ,’ रुसी सैन्य थिंक ट्यांकका म्याथ्यु सेभिलले भने । युरोपमा तैनाथ अमेरिकी सैन्य पूर्वकमान्डर बेन होडज पनि यस कुरामा सहमति जनाउँछन् । उनका अनुसार दुवै पक्षले यो वर्षलाई अर्को वर्ष निर्णायक प्रहार गर्न सक्षम हुने गरी स्रोतहरू निर्माण गर्न प्रयोग गरिरहेको जस्तो देखिन्छ । 

– द गार्जियनबाट

ad
ad