१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १५:३१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ : गृहमन्त्री लामिछाने

इलामको चुनावी सभामा गृहमन्त्रीकाे आश्वासन  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:३१:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिने बताएका छन्। 

इलामको चुलाचुलीमा मंगलबार आयोजित चुनावी सभामा बोल्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण बनाउन सरकार लागिपरेको जानकारी दिए।

‘सरकारले गृहकार्य गरिरहेको छ। प्रधानमन्त्रीसँग नियमित छलफलमा छु, अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’  उनले भने, ‘सञ्चालकको जायजेथा बिक्री गर्न कानुन अभाव भनिएको छ। यदि हो भने कानुन बनाएर भए पनि तिनको सम्पत्तिबाट बचत फिर्ता गर्ने क्रमको सुरुवात हुन्छ।  

रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको, तर त्यसलाई तोडेरै छाड्ने उनको भनाइ थियो। 

अहिलेसम्म जसजसले जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने उनको दाबी छ। 

‘इलाममा अहिलेसम्म कतिले झुक्याएर थाहा छैन, तर यसपटक इलामेली जनताले विवेक प्रयोग गरेर घण्टीमा भोट हालेर सबैलाई झुक्याउने छन्,’ उनले भने, ‘तर, यो झुक्याइले देशभर परिवर्तनको लहर ल्याउनेछ। र, त्यो लहरले ०८४ मा रास्वपाको एकलौटी विजय यात्रालाई कसैले रोक्न सक्दैन।’ पुराना दलले वर्षौँसम्म आफ्ना समस्या समाधान नगरेको गुनासो गरिरहने नागरिकले फेरि पनि तिनलाई भोट नदिन र मत  बदल्न आग्रह गर्दै लामिछानेले भने, ‘अब गुनासो गर्ने होइन, मन र मत बदल्ने हो। पुरानै पार्टीमा बस्नुस्, भोट माग्न आउँदा हुन्छ पनि भन्नुस्। तर, मत घण्टीमा दिनुस्। परिवर्तनका लागि नागरिकले नै कदम अगाडि बढाउनुपर्छ। इलामले पनि अब परिवर्तनको घण्टी बजाउने वेला भइसक्यो।’

उनले मौन अवधिमा मतदाताको विवेक र इमान खरिदको प्रयास हुने भन्दै सचेत रहन आग्रह गरेका छन्। चुनावी सभामा रास्वपा उपसभापति स्वर्णिम वाग्लेले मत फेरेर आफू आबद्ध वा माया गर्ने दललाई सुध्रन दबाब बढाउन तथा राजनीतिको पुरानो प्रवृत्ति, शैली र पात्र परिवर्तन गर्न सुझाव दिए।

रास्वपाका उम्मेदवार मिलन लिम्बूले पुराना दलले वर्षौँदेखि बाँड्दै आएको भ्रमबाट मुक्त भएर इलामेली मतदाताले आफूलाई रोजे उनीहरूको चाहना सम्बोधनमा समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

ad
ad