१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
जस्तापाता बोकेको दुर्घटनाग्रस्त ट्र्याक्टर
मनीष खड्का रुकुम पश्चिम
२०८० पौष ६ शुक्रबार ०६:०७:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

भूकम्पपीडितका लागि जस्तापाता बोकेको ट्याक्टर दुर्घटना हुँदा एउटै पालिकाका पाँचको मृत्यु 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०८० पौष ६ शुक्रबार ०६:०७:००

भूकम्पपीडितका लागि अस्थायी आवास बनाउन जस्तापाता बोकेको रा.१त१४ नम्बरको ट्याक्टर रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १० तिरिकोटमा दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ । नौजना घाइते भएका छन् । राडीस्थित आठबिसकोट नगरपालिकाको कार्यालयबाट जस्तापाता बोकेर घर्तीगाउँ जाँदै गरेको आठबिसकोट नगरपालिकाको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा आठबिसकोट– १० नाउलाका ४६ वर्षीय लोकबहादुर शाही, लोकबहादुरकी पत्नी ४२ वर्षीया चुकी शाही, सोही ठाउँका ५२ वर्षीय भर्दर सार्की, आठबिसकोट– ८ सार्कीवाडाका ४८ वर्षीय धनराम सार्की र सोही ठाउँकी ४७ वर्षीया निर्मला सार्की रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर धर्मेन्द्र खड्काले बताए । दुर्घटनामा आठबिसकोटका खडकबहादुर पुन, रमेश सार्की, दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ, जगवीर सार्की, जयराम घर्ती, मने सार्की र मदन पुन घाइते भएका छन् । उनीहरूमध्ये केहीको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई रुकुम पश्चिमकै चौरजहारी अस्पताल रेफर गरिएको छ । ट्याक्टरचालक आठबिसकोट– ९ जाल्देनका २१ वर्षीय गोपाल विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

नगरपालिकाको उक्त ट्याक्टरमा २९ परिवार भूकम्पपीडितका लागि सात सय ४० वटा जस्तापाता लिएर गइरहेको थियो । ट्याक्टरमा अन्य खाद्यान्न सामग्रीसमेत थियो । 

मृतकका परिवारलाई नगरपालिकाले जनही आठ लाख क्षतिपूर्ति दिने 
आठबिसकोट नगरपालिकाले ट्याक्टर दुर्घटनामा मृत्यु भएका परिवारलाई प्रतिमृतक आठ लाखका दरले क्षतिपूर्ति दिने भएको छ । दुर्घटनामा परेको नगरपालिकाको ट्याक्टर हो । 

मेयर रवि केसीको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । तत्कालै ५० हजार किरिया खर्च दिने र बाँकी रकम केही समयभित्र दिने निर्णय भएको मेयर केसीले बताए ।