१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
श्रवण थापा सर्लाही
२०८० पौष २ सोमबार १८:३५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजमार्गमा सुतेर उखु किसानद्वारा प्रदर्शन, स्थानीय युवा आमरण अनशनमा

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०८० पौष २ सोमबार १८:३५:००

उखुको समर्थन मूल्य तोक्न र अनुदानबापतको बाँकी रकम माग गर्दै सर्लाहीका उखु किसानहरू चरणबद्ध आन्दोलनमा छन्। आन्दोलनको चौथो दिन सोमबार किसानहरूले पूर्व–पश्चिम राजमार्गमा सुतेर प्रदर्शन गरेका छन्।

उखु किसानहरू राजमार्गमा सुतेपछि केहीबेर सवारी आवागमनसमेत अवरुद्ध बनेको थियो। धमाधम उखु काटेर बिक्री-वितरणमा जुट्नुपर्ने किसानहरू केही दिनदेखि आन्दोलनमा छन्। सरकारले उखु किसानलाई उपेक्षा गरेर समर्थन मूल्य समयमै नतोकेको तथा ७० रुपैयाँ अनुदानको रकममध्ये २१ रुपैयाँ मात्रै भुक्तानी गरेको उनीहरूको आरोप छ।

आन्दोलनको तेस्रो दिन आइतबार उखु किसानले राजमार्गमा जम्मा भएर अर्थ र कृषि तथा पशुपक्षी मन्त्रालयका उपसचिवको कुर्सीको प्रतिमा बनाएर दहन गरेका थिए। दुई मन्त्रालयले किसानको हितमा नभई उद्योगीको पक्षमा पैरवी गरेको किसानहरूको आरोप छ। राज्यले किसानप्रति गरेको अवहेलनाको मूल्य चुकाउनुपर्ने किसानहरूले चेतावनी दिएका छन्।

सरकारले उखु किसानलाई आन्दोलनमा उत्रिन बाध्य बनाएको निवर्तमान प्रदेश सांसद एवं उखु किसानसमेत रहेका डिल्लीप्रसाद उप्रेतीले बताए। गत शुक्रबार किसानहरूको बृहत् भेलाबाट सुरु गरेकाे आन्दोलनअन्तर्गत किसानहरूले उखुका लाँक्रा प्रदर्शनदेखि राजमार्गमा लम्पसार पर्नेसम्मका विरोधका कार्यक्रम आयोजना गरेका छन्। किसानको आन्दोलनले जिल्लाका चिनी उद्योगहरूसमेत बन्द हुँदा आमकिसान स्वयं अन्योलमा परेका छन्।

यसरी उद्योग बन्द हुँदा उखु हटाएर अन्य बाली लगाउनुपर्ने तथा खुट्टी (दुई वर्षे) उखु रहेका किसानहरू बढी मारमा परेका छन्। उखु कटाइ ढिला हुँदा वजन घट्ने तथा ज्याला बढ्ने उनीहरूको चिन्ता छ।

विगत केही वर्षदेखि उखुको समर्थन मूल्य कायम गर्दै आएको सरकारले यस सिजनको उखुको मूल्य अझै कायम गरेको छैन।

सर्लाहीका उखु किसानहरूले यस वर्ष उखुको समर्थन मूल्य ७५० हुनुपर्ने माग राखेका छन्। किसानको लागत तथा उद्योगबाट उत्पादन हुने सामग्रीको हिसाबले समर्थन मूल्य तोक्नुपर्ने उनीहरूको माग छ। तर, सरकार चिनीको मूल्य, किसानको लागत तथा उखु पेलाइबाट उद्योगले निकाल्ने सामग्रीको वास्ता नगरेर हचुवाको भरमा तोकेको मूल्यमा किसानलाई उखु बेच्न बाध्य बनाउने दाउमा रहेको उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताए।

चिनी उद्योगको मूलगेटमा आमरण अनशनमा
उखु किसानमाथि हदैसम्मको अन्याय भएको भन्दै हरिवनका एक युवक इन्दुशंकर चिनी उद्योगको मूलगेटमा धर्नामा बसेका छन्। किसानको पक्षमा विभिन्न ६ बुँदे मागसहित उनी अनशन बसेका हुन्।

हरिवन नगरपालिका– ११ निवासी शेष इस्तिहार सोमबार बिहानबाट आमरण अनशनमा बसेका हुन्। उनलाई विभिन्न उखु किसान सम्बद्ध संघ संगठनका प्रतिनिधिको समूहले फूलमाला पहिराएर शुभकामना दिएका थिए।

किसान देशको अन्नदाता भएकाले चरम मारमा परेका उनीहरूको माग सम्बोधनमा पहल गर्न आमरण अनशन बसेको इस्तिहारले प्रतिक्रिया दिए। सरकारले किसानको माग सम्बोधन नगरेसम्म आमरण अनशन नतोड्ने उनको भनाइ छ।

इस्तिहार गत स्थानीय तहको निर्वाचनमा हरिवन नगरपालिका–११ मा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको प्रत्यासीसमेत थिए।