१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० मङ्सिर २८ बिहीबार १५:४५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

शोधनान्तर स्थिति एक खर्ब ४७ अर्बले बचतमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० मङ्सिर २८ बिहीबार १५:४५:००

मुलुकबाट बाहिरिनेभन्दा भित्रने पैसाको मात्रामा क्रमशः वृद्धि भएको पाइएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको चार महिनाको विवरणअनुसार यस अवधिमा शोधनान्तर स्थिति रु एक खर्ब ४७ अर्ब ११ करोडले बचतमा छ। 

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु २० अर्ब तीन करोडले बचतमा थियो।समीक्षा अवधिमा चालू खाता रु ९६ अर्ब ३८ करोडले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालू खाता रु ३७ अर्ब ७९ करोडले घाटामा थियो।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ। समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ४६ दशमलव छ प्रतिशतले कमी आई रु एक अर्ब ५९ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु तीन अर्ब ६४ करोड छ।

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु  दुई अर्ब ९७ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ४२ करोड ९२ लाख रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा छ।

आर्थिक वर्ष ०८०/८१ को चार महिनामा कुल वस्तु आयात तीन दशमलव आठ प्रतिशतले कमी आई रु पाँच खर्ब १२ अर्ब ५० करोड छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८ दशमलव एक प्रतिशतले कमी आएको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः दुई दशमलव पाँच प्रतिशत र २७ दशमलब सात प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४ दशमलब चार प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोसाक, एमएस तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जालगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाबिन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एमएस विलेटलगायतका वस्तुको आयात घटेको छ। 

निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ।आयाततर्फ भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगन्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालयबाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ। 

चालू आवको चार महिनामा कुल वस्तु व्यापारघाटा तीन दशमलव तीन प्रतिशतले कमी आई रु चार खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५ दशमलव नौ प्रतिशतले घटेको थियो।