१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पेसेवर अपराधीविरुद्ध प्रहरीको आक्रामक नीति, तीन महिनामा पाँचजना गोली प्रहार गरेर पक्राउ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १o:१६:oo

पेसेवर अपराधीमाथि प्रहरीले आक्रमक नीति बनाएको छ । पछिल्लो तीन महिनामा पाँचजनालाई प्रहरीले गोली हानी घाइते बनाएर नियन्त्रणमा लिएको छ । मंगलबार लागुऔषध कारोबारीका एक नाइकेलाई प्रहरीले ललितपुरमा गोली हानी नियन्त्रणमा लियो । एमफेटामाइन (आइस ड्रग) कारोबारका नाइके अविनाश राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झम्सिखेलमा गोली हानेको हो । पक्राउ गर्न खोज्ने क्रममा पेस्तोल निकाली प्रहरीलाई नै ताकेपछि गोली हान्नुपरेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । 

राईको साथबाट दुई राउन्ड गोलीसहितको कटुवा पेस्तोल र चार सय ८५ ग्राम एमफेटामाइन बरामद भएको छ । तिघ्रामा गोली लागेका उनलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको छ । उदयपुर घर भएका ४५ वर्षीय राई लागुऔषध कारोबारमा लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए । नेपालमा धनीवर्गका लागुऔषध कारोबारीले प्रयोग गर्ने आइस ड्रग उनले बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । 

यसअघि अपराध अनुसन्धान कार्यालयले दुईजनालाई गोली हानी नियन्त्रणमा लिएको थियो । गत १५ कात्तिकमा लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिक मोहमद करिमलाई गोली हानी नियन्त्रणमा लिएको थियो । काठमाडौंको गोठाटारमा लागुऔषध कारोबार गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले उनलाई गोली हानेको हो । प्रहरीले उनको साथबाट पेस्तोलसँगै दुई सय ग्राम लागुऔषध बरामद गरेको थियो ।

गत २५ असोजमा अपराध अनुसन्धान कार्यालयले नै काठमाडौंको जगडोलमा सिन्धुलीका अमर घलानमाथि गोली हानेको थियो । उनीमाथि लुटपाटको आरोप थियो । घलानको समूहसँग पनि प्रहरीले पेस्तोल भेट्टायो । उनी पनि पेसेवर अपराधी भएको प्रहरी दाबी थियो । तीनैवटा घटनामा अभियुक्तले प्रहरीमाथि गोली प्रहारको प्रयास गरेको बताइएको छ । पेस्तोल बरामद भए पनि उनीहरूले गोली चलाएका भने थिएनन् । 

उपत्यकाबाहिर पनि प्रहरीले गोली प्रहारको नीति लिएको छ । गत १ मंसिरमा बाँकेमा प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका अभियुक्तलाई नियन्त्रणमा लिन गोली हानेको थियो । पक्राउ गर्ने क्रममा भाग्न खोजेको भन्दै कोहलपुर–११ का आकाशजंग रानालाई प्रहरीले खुट्टामा गोली हानी नियन्त्रणमा लिएको थियो ।  

गत २० कात्तिकमा महोत्तरी प्रहरीले डकैती मुद्दाका दुई अभियुक्तमाथि गोली हानेको थियो । पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, जलेश्वर लैजाने क्रममा भाग्न खोजेपछि शक्ति पासवान र अजय पासवानलाई प्रहरीले गोली हानेको हो । दुवैजना दर्जनभन्दा धेरै डकैती घटनामा संलग्न व्यक्ति हुन् । 

पछिल्ला गोली प्रहारका घटना पेसेवर अपराधीविरुद्ध निर्मम बन्ने प्रहरीको सन्देश भएको एक उच्च प्रहरी अधिकारीले बताए । ‘पछिल्लो समय केही अपराधी सल्बलाएको देखियो, त्यसैकारण प्रहरी आक्रामक बन्नुपरेको हो,’ उनले भने, ‘प्रहरी नेतृत्वकै नीतिअनुसार हतियार बोक्ने तथा पेसेवरविरुद्ध प्रहरी निर्मम बनेर गोली हान्न थालेको हो ।’ 

ad
ad