Skip This
निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर १४ बिहीबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
रासस काठमाडौं
२o८o मङ्सिर १४ बिहीबार १६:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर १४ बिहीबार १६:३६:oo

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन्।

दलित महिला केन्द्र नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तर्क्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए।

‘निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनुहुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो,’ प्रमुख आयुक्त थपलियाले भने। जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रलगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल गर्न आवश्यक रहेको पनि उनको भनाइ छ।

प्रमुख आयुक्त थपलियाले संविधानले निर्दिष्ट गरेबमोजिम निर्वाचन व्यवस्थापन विधेयक तयार पारिएको बताए। प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका समिति, महिला सञ्जाल, कानुनविद्लगायत २५ वटा सरोकारवाला पक्षसँगको छलफल, प्रदेश तथा स्थानीय स्तरबाट लिखित सुझाव संकलन गरी आयोगले विधेयक तयार पारेको उनको भनाइ छ।

कार्यक्रममा आयोगका उपसचिव लक्ष्मी शर्माले विधेयकमा संविधानको प्रावधान, अदालतको आदेश तथा कानुनी व्यवस्था समेटी विधेयक संशोधन एवं परिमार्जन गरी समसामयिक बनाइएको बताए।

यसैगरी, दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले लोकतन्त्र सुदृढ बनाउनेतर्फ आयोगको ठूलो भूमिका रहेको बताउँदै केन्द्रले महिला नेतृत्व विकासलाई प्रवर्द्धन गर्न तालिम तथा सशक्तीकरणका लागि काम गर्दै आएको उल्लेख गरे।

निर्वाचन प्रणालीका लागि अन्तर्राष्ट्रिय आधार कार्यक्रम प्रबन्धक सौरभा सुवेदीले राजनीतिक र निर्णय प्रक्रियामा लैंगिक समानता कायम गर्न संस्थाले क्षमता अभिवृद्धिलगायतका कार्यक्रम गर्दै आएको बताइन्।