नबिल एसएसई कार्यक्रमको दुई वर्ष पूरा

सोमबार, ११ मंसिर, २०८०
डिजिटल संस्करण

सामाजिक उद्यमशीलता विकासका लागि नबिल बैंक लिमिटेडले सुरु गरेको नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) कार्यक्रमले दोस्रो वर्ष पूरा गरेको छ । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसहित आठ विभिन्न विद्यालयबाट देशभर सञ्चालन गरिएको यो कार्यक्रम सामाजिक उद्यमशीलता बढाउन उत्प्रेरक बनेको निष्कर्षसहित दोस्रो वार्षिकोत्सव मनाइएको हो । 

दुई वर्षको अवधिमा तीन सय ३५ जना विद्यार्थीले यो कार्यक्रममा सहभागिता जनाएको बैंकले उल्लेख गरेको छ । जसबाट ५२ वटा उद्यम जन्मिँदा आठ सय ६९ जनाले रोजगारी पाएको जनाइएको छ ।

बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले यो कार्यक्रमका कारण सामाजिक वित्त प्रवद्र्धनमा बैंकको भूमिका थप बढेको बताए । उनले भने, ‘बैंकले सुरु गरेको यस पहलले देशको सामाजिक, वातावरणीय र आर्थिक विकासका लागि सामाजिक वित्त प्रवद्र्धन गर्न मद्दत पुगेको विश्वास लिएका छौँ ।’ 

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले सामाजिक उद्यमीहरूलाई प्रवद्र्धन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको र उद्देश्यपूर्ति भएको बताए । उनले यस कार्यक्रममा सहभागी हुने बैंकका कर्मचारी, विज्ञ, साझेदार तथा विद्यालय प्रतिनिधिहरूलाई विशेष धन्यवाद दिए । उनले भने, ‘हामी दिगो बैंकिङ र सामाजिक उद्यमशीलतामार्फत हाम्रो समाजमा उल्लेखनीय परिवर्तन ल्याउन प्रतिबद्ध छौँ ।’

नवीन विचार भएका नागरिकलाई ज्ञान, वित्तीय पहुँच र सामाजिक उद्यमहरू सुरु गर्नका साथै उद्यमशीलतामा दिगोपना दिन र सञ्जाल विस्तार गर्नका लागि यो कार्यक्रम सहयोगी भएको उद्यमीहरूले बताएका छन् । नबिल एसएसई कार्यक्रमअन्तर्गत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई कार्यक्रम रहेका छन् ।

यसै कार्यक्रममा सहभागी भएका उद्यमी राजविक्रम महर्जन आइसिटी अवार्ड २०२२ र स्टार्ट अप वल्र्डकप जित्न सफल भएको बैंकले जनाएको छ । महर्जनले भने, ‘यो कार्यक्रममा भर्ना भएपछि मैले आफ्नो व्यावसायिक विचार, ब्रान्डिङ, मार्केटिङ र नेटवर्किङका अवसरमा ध्यानकेन्द्रित गर्न सिकेँ, जसले मलाई धेरै मद्दत गर्यो ।’उद्यमशीलतालाई बढावा दिन, सामाजिक उद्यमशीलतामार्फत समाजमा अर्थपूर्ण योगदान गर्न नबिल एसएसई कार्यक्रम प्रतिबद्ध रहेको बैंकले जनाएको छ ।

सुझावित समाचार