
संविधानप्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि सरकारले प्रशासनिक दमन र धरपकड गरेको भन्दै राप्रपाले निन्दा गरेको छ ।
पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रशासनको निशानामा राप्रपाका नेता, कार्यकर्तालाई पारिनु तथा प्रदर्शनमा सहभागी नभएकालाई समेत खोजीखोजी पक्राउ गरिनु दुःखद, आपत्तिजनक र विडम्बनापूर्ण भएको जनाएका छन् ।
‘आफ्ना मागहरू लिएर सडकमा ओर्लिएकालाई घरमा नजरबन्द गर्ने, प्रदर्शनस्थलमा पुग्नुअगावै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा कब्जा जमाउने, घरघरमा पुगेर व्यक्तिव्यक्तिलाई पक्राउ गर्ने, सडकपेटीमा हिँडिरहेका नागरिकलाई विनाकारण जथाभावी गिरफ्तार गर्ने कार्य अलोकतान्त्रिक छ,’ विज्ञप्तिमा भनिएको छ ।
राप्रपाले यस्ता गतिविधि संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्तविपरीत रहेको भन्दै दमन र धरपकडबाट समस्याको समाधान हुनै नसक्ने जिकिर गरेको छ ।
‘यस्ता अलोकतान्त्रिक गतिविधि तत्काल रोक्न एवं संविधान र प्रचलित कानुनले नागरिकलाई प्रदान गरेको अधिकारको रक्षाका लागि राप्रपा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, गिरफ्तार गरिएका सबैको विनासर्त अविलम्ब रिहाइ गर्न राप्रपा सरकारसँग माग गर्दछ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा हिजो काठमाडौंको बल्खुमा प्रदर्शन भएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रसाईंले शुक्रबारदेखि तीनकुनेमा जम्मा भएर निरन्तर प्रदर्शन गर्ने बताएका थिए । उनले बैंकका सिइओ तथा नेतालाई जहाँ भेट्यो, त्यहीँ भकुर्नु (कुटपिट गर्नु) भनी आफ्ना समर्थकलाई उक्साएपछि सरकारले आज बिहानैदेखि तीनकुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो ।
सुरक्षाकर्मीले तीनकुने क्षेत्रमा मानिस जम्मा हुन नदिने भन्दै थुप्रैलाई पक्राउ गरेको थियो । साथै, प्रसाईंलाई घरबाट बाहिर निस्कन दिएको थिएन ।