Skip This
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ५ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o मङ्सिर ५ मंगलबार o७:o२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ को मृत्यु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o मङ्सिर ५ मंगलबार o७:o२:oo

विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी सोमबार ६ जनाले ज्यान गुमाएका छन् । सर्लाही, रुकुम पश्चिम र रुपन्देहीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

सर्लाहीको हरिवनमा विंगरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । सोमबार बिहान हरिवन नगरपालिका– ९, नोचामा विंगरको ठक्करबाट ५२ वर्षीया लक्ष्मी पोखरेलको ज्यान गएको हो । प्रदेश ३–००१ ज ०३४२ नम्बरको विंगरको ठक्करबाट अचेत बनेकी पोखरेललाई उपचारका लागि स्वाभिमान अस्पताल हरिवन पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । 

पोखरेलनजिकै रहेको छठ घाटबाट बिहान घर जानलाग्दा दुर्घटनामा परेको परिवारजनले जनाएका छन् । सोही घटनामा परेर ट्राफिक प्रहरी हवल्दार सुबोधकुमार यादव गम्भीर घाइते भएका छन् । महिलालाई ठक्कर दिएको विंगरलाई रोक्न खोज्दा यादवलाई समेत ठक्कर दिएको हो । अनियन्त्रित रहेको विंगरले पार्किङ गरिराखेको प्रदेश २०३८ प ०३११ नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । घाइते प्रहरी हवल्दार यादवको बायाँ खुट्टामा चोट लागेको र स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । विंगर र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक अनिलराज गिरीले बताए । 

यस्तै, सवारी दुर्घटनामा परी रूपन्देहीमा दुईजनाको ज्यान गएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल– भैरहवा सडकखण्डकको तिलोत्तमामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको हो । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक शोभा पाण्डेले बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु.४९प २२३० नम्बरको मोटरसाइकललाई ना.६ख ८१६१ नम्बरको ट्रकले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको जानकारी दिइन् । दुर्घटनामा तिलोत्तमा– १ का ५० वर्षीय माधवलाल देवकोटा र तिलोत्तमा जानकी नगर बस्ने ४० वर्षकी यादा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । देवकोटा विभिन्न सामाजिक संघसंस्था र सहकारी अभियन्ता हुन् ।

यसैगरी, रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीजिउलामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन् । चौरजहारी–१३ रातामाटाबाट मुसिकोट खलंगातर्फ आइरहेको लु१ज २२९७ नम्बरको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा परी चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सपना बुढाको १७ महिनाको छोरा प्रतीक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । मस्तबहादुरको चौरजहारी अस्पतालमा उपचारका क्रममा र प्रतीकको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमा मृत्यु भएको उनले बताए ।

दुर्घटनामा घाइते भएका चौरजहारी– १३ नाक्लाका भीमबहादुर विक, सहारा परियार, रणबहादुर ओली, प्रेम परियार, कविता परियार र प्रविर पुनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । यस्तै, चौरजहारी–१३ की ढिला विष्ट, सानीभेरी गाउँपालिका–२ की सीता पुन, सीता विष्ट र आठ वर्षीया दिपशिखा पुनको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । अन्य नौजनाको चौरजहारी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए ।

यसैगरी, दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दाङमा एकजनाको मृत्यु भएको छ । तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा.४प८४६४ नम्बरको मोटरसाइकल र घोराहीदेखि तुलसीपुरतर्फ आउँदै गरेको रा.७प६५५४ नम्बरको मोटरसाइकल आइतबार बेलुका ग्वारखोलानजिकै आपसमा ठोक्किँदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लका अनुसार मृत्यु हुनेमा मोटरसाइकलचालक २८ वर्षीय अमृत केसी छन् ।