१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० कार्तिक ३० बिहीबार १४:५१:००
Read Time : > 1 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

जातीय-धार्मिक सदभाव नै मधेशको तागत

धार्मिक द्वन्द्व एक दुईजनाले फैलाउँछन्, सिंगो सभ्य समाजले यसको पीडा भोग्नुपर्छ

Read Time : > 1 मिनेट
२०८० कार्तिक ३० बिहीबार १४:५१:००

पछिल्लो समय मधेशका विभिन्न जिल्लामा धार्मिक तनाव बढ्दै गएको देखिन्छ । धार्मिक तनाव वा दंगा अचानक हुँदैन, द्वन्द्वका बिउ छर्ने र हुर्काउने काम योजनाबद्ध रूपमा भएका हुन्छन् । 

पछिल्लो समय मधेशका केही जिल्लामा धार्मिक जुलुस निकाल्दा होस् या धार्मिक हिंसामा जानेहरूका हातहातमा एकैनासको झन्डा र एकै साइजको डण्डा हुन्छ । यो कहाँबाट बन्यो र कहाँबाट आयो ? यसमा सरकारको ध्यान किन पुगिरहेको छैन ? 

जहाँ–जहाँ प्रशासनले सतर्कता अपनाएको छ त्यहाँ स्थिति सामान्य देखिन्छ, तर जहाँको प्रशासन सतर्क हुन सकेन त्यहाँ कर्फ्यु लगाउनुपर्ने अवस्था बनेको छ । नेपालमा धार्मिक हिंसा हुँदै नभएको होइन, तर यसलाई व्यापकता पाउनुअघि नै नियन्त्रण गर्ने गरिएको छ । 

धार्मिक द्वन्द्व राजनीतिक द्वन्द्वभन्दा नितान्त फरक चरित्रको हुन्छ । त्यस्तो द्वन्द्व पूर्वाग्रह र अहंकारमा अड्किएको हुन्छ । हिंसाको आगो फैलिएपछि त्यसले सामुन्ने आउने सबैलाई भष्म बनाउँछ । एक–दुईजनाले त्यस्तो द्वन्द्व फैलाउँछ, तर सिंगो सभ्य समाजले यसको पीडा भोग्नुपर्छ । 

हिन्दू र मुस्लिमको साझा एकता नै मधेशको तागत हो । मधेश आन्दोलनमा दुवैले सँगसँगै रगत बगाएका छन् । तर, धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकता तोड्ने प्रयास तीव्र गतिमा भइरहेको छ ।

अहिले आफूलाई राजावादी भन्नेहरू हौसिएका छन् । कतै आगो लगाएर न्यानो ताप्ने योजना त छैन ? जनतामा गहिरो आशंका छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकतन्त्रविरोधी गतिविधिको निगरानी गरिनुपर्दछ । संघीय लोकतन्त्र निकै ठूलो संघर्ष र बलिदानबाट आएको हो । कसैले पनि यसलाई मास्ने दुःस्वप्न नदेखोस् । मधेशी जनता जहिल्यै पनि गणतन्त्र र संघीयताका लागि लडेका छन् । 

मधेशको राजनीतिक तागत भनेको हिन्दू र मुस्लिमको साझा एकता हो । मधेश आन्दोलनमा दुवैले सँगसँगै रगत बगाएका छन् । तर, धार्मिक द्वन्द्व फैलाएर मधेसी जनताको एकता तोड्ने प्रयास तीव्र गतिमा भइरहेको छ । यसले राष्ट्रिय एकतालाई पनि खलबल्याउँछ । वर्तमान समय नेपालका लागि निर्णायक छ । नेपाली समाजमा विभाजन र ध्रुवीकरण ल्याउने षड्यन्त्रका कारण राष्ट्रिय सुरक्षा जटिल बन्दै गएको छ । 

धार्मिक द्वन्द्व पूर्वाग्रह र अहंकारमा अड्किएको हुन्छ । त्यस्तो हिंसाको ज्वालाले सामुन्ने आउने सबैलाई भष्म बनाउँछ ।

त्यसैले, द्वन्द्व चर्काउने, हिंसाको लागि उक्साउने, सामाजिक सदभाव भड्काउने अभिव्यक्ति दिनेहरू चाहे जोसुकै महन्थ वा मौलवी, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ । टिकटक, युट्युब, फेसबुकलगायतका सामाजिक सञ्जालमा उत्तेजक सामग्री राख्ने, पुराना भिडियोहरूलाई काँटछाँट गरेर ताजाजस्तै गरी राख्ने, हिंसा फैलाउने, अर्को धर्मावलम्बीलाई अपमान गर्ने, सामाजिक सदभाव भड्काउनेहरूका आइडीलाई तत्काल बन्द गरिनुपर्दछ । धार्मिक सदभाव भड्कन नदिन र सामाजिक सदभाव कायम राख्न सबै सांसद मधेशका जिल्ला जानुपर्छ र अपिल लिएर मधेशका जनताको बीचमा पुग्नुपर्छ ।

(जनता समाजवादी पार्टीका प्रमुख सचेतक रहेका सांसद यादवले १८ असोज २०८० को प्रतिनिधिसभा बैठकमा व्यक्त गरेको मन्तव्यका आधारमा यो सामग्री तयार पारिएको हो ।)