
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा मौलिक तरिकाले समाजवादी क्रान्ति पूरा गर्ने बताएका छन्। शुक्रबार रोल्पाको लिबाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै दाहालले मौलिक तरिकाले नै जनवादी क्रान्ति पूरा गरेको र अहिलेको सरकारले मौलिक रूपमै समाजवादी क्रान्ति पूरा गर्नका लागि आधार तयार गरिरहेको दाबी गरे।
‘मैले अहिले प्रधानमन्त्रीको रूपमा सामाजिक न्यायको पक्षमा केही अभियानहरू गम्भीर रूपले र दृढतापूर्वक अगाडि बढाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘भ्रष्टाचारका अनेक काण्डविरुद्धको अभियान, सुशासन र सामाजिक न्यायको पक्षमा थालिएको अभियान समाजवादकै आधार निर्माणका लागि हुन् ।’ उनले विगतमा सामन्तवाद र निरंकुश राजतन्त्रविरुद्ध तथा जनवादी क्रान्तिका निम्ति रोल्पाले अग्रणी भूमिका खेलेको चर्चा गर्दै मौलिक तरिकाले समाजवादी क्रान्ति पूरा गर्ने अभियानको नेतृत्व पनि रोल्पाजस्तो आधार इलाकाले गर्नुपर्ने बताए।
समाजवादका निम्ति आधार निर्माण भइरहेको दाबी गर्दै दाहालले विदेश गएका लाखौँ नागरिकका लागि सामाजिक सुरक्षा कोष सुरु गर्नु पनि त्यसकै निरन्तरता भएको बताए। ‘अहिलेसम्म झन्डै चार लाख विदेशमा भएका युवा कोषमा आबद्ध भएका छन्। देशभित्र पनि अनौपचारिक सेवामा काम गर्ने मजदुरहरूको निम्ति र स्वरोजगारमा रहेका श्रमिकहरूका लागि पनि सामाजिक सुरक्षा कोषको घोषणा गरिएको छ र त्यसरी कोषमा आबद्ध हुन सक्ने मजदुरको संख्या ४० देखि ५० लाख छ,’ दाहालले भने।
उनले यी घोषणा सामाजिक न्यायको क्षेत्रमा महत्वपूर्ण रहेको दाबी गरे । यसले धनीहरूलाई चाहिनेभन्दा धनी हुनबाट रोक्ने र गरिबहरूलाई धेरै गरिब हुनबाट रोकेर समाजवादको आधार निर्माणको भूमिका खेल्ने उनको भनाइ छ।
सरकारले नेपालकै इतिहासमा नयाँ काम गरेको दाबी
प्रधानमन्त्री दाहालले सो अवसरमा आफू नेतृत्वको सरकारले अहिलेसम्म कसैले गर्न नसकेको काम गरिरहेको दाबीसमेत गरे।
‘भ्रष्टाचारका ठुल्ठूला काण्डहरूका विरुद्ध नेपालकै इतिहासमा कुनै पनि सरकारले गर्न नसकेको काम हाम्रो नेतृत्वको अहिलेको सरकारले गरेको छ,’ दाहालले भने, ‘नक्कली भुटानी शरणार्थीको काण्डमा ठूला नेताहरू र ठूला ब्युरोक्रयाटहरू अहिले जेलमा छन् । भूमाफियाहरूको काण्ड पनि यही सरकारले उजागर गरेको छ। यो काम कसैले गर्न सकेको थिएन, हामीले गर्याैँ।’
प्रधानमन्त्री दाहालले बिस्तारै किसानहको हकअधिकार र जमिनमा सरकारको अधिकार स्थापित गर्ने काम पनि भइरहेको बताए। नेपालको अर्थतन्त्र बिस्तारै संकटमुक्त हुँदै गएको र यसलाई अझै व्यवस्थित गर्न आवश्यक रहेको बताउँदै उनले तिहारलगत्तै बृहत्तर आर्थिक अन्तर्क्रिया गर्ने बताए।
प्रधानमन्त्री दाहालले रोल्पामा चिनियाँ ‘प्रोजेक्ट’ ल्याउने घोषणासमेत गरे। चीन भ्रमणमा जाँदा चीन सरकारसँग कृषि क्षेत्रसँग सम्बन्धित विषयमा सम्झौता भएको उल्लेख गर्दै उनले त्यसमध्येको एउटा ‘प्रोजेक्ट’ रोल्पामा ल्याउने प्रतिबद्धता जनाएका हुन्।