Skip This
आगामी मनसुनअगावै तनहुँ जलविद्युतकाे बाँध निर्माण सकिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक २१ मंगलबार
  • Saturday, 27 July, 2024
रासस दमौली
२o८o कार्तिक २१ मंगलबार १३:३७:oo
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

आगामी मनसुनअगावै तनहुँ जलविद्युतकाे बाँध निर्माण सकिने

Read Time : > 2 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८o कार्तिक २१ मंगलबार १३:३७:oo

तनहुँको ऋषिङ गाउँपालिका– १ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध आगामी मनसुनअगावै सम्पन्न गर्ने गरी निर्माण प्रारम्भ गरिएको छ।

आयोजनाको प्याकेज– १ अन्तर्गतको बाँध निर्माणको प्रक्रिया सोमबारदेखि  सुरु गरिएको हो। त्यसका लागि उक्त गाउँपालिकाको वडा नम्बर १ र व्यास नगरपालिकाको वडा नम्बर ५ सिमाना भएर बग्ने सेती नदीमा मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट एक सय ४० मिटर अग्लो कंक्रिटको ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी पानी फर्काइएको छ। डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रबाट पुनः सेती नदीमा खसालिएको छ।

सन् २०२१ देखि निर्माण सुरु भएको डाइभर्सन टनेल हालै निर्माण भएपछि नदी फर्काउने काम गरिएको हो। सेती नदी अब सोही डाइभर्सन टनेल भएर बग्नेछ।

मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउन करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध (कफर ड्याम) निर्माण गरिने आयोजना प्रमुख राजभाइ सिल्पकारले जानकारी दिए। उनले भने, ‘आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै बाँध निर्माण गरिसक्ने गरी काम अगाडि बढाइएको छ । नदी फर्काइएपछि अब बाँध निर्माणका लागि जग खन्ने काम अब सुरु हुन्छ।’

प्याकेज– १ अन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्दा कर्पोरेसन, भियतनाम–कालिका कन्स्ट्रक्सन (प्रालि) नेपाल जेभीसँगको ठेक्का सम्झौता ०७८ भदौ १४ गतेदेखि कार्यान्वयनमा आएको थियो।

निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड (स्लोप) काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम गरिएको छ।

आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज– २ को निर्माण कार्यका लागि चीनको सिनो हाइड्रो कर्पोरेसनसँग ०७५ असोज १५ गते खरिद सम्झौता गरिएको थियो । निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौताबमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनो हाइड्रोले ०७५ माघ ६ देखि  आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ।

भूमिगत विद्युतगृह खनेर कंक्रिट राख्ने तथा टर्वाइनलगायत उपकरण जडान गर्ने काम भइरहेको र टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ। मुख्य सुरुङ भने खनिरहेको छ। यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ।

प्याकेज– ३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका लागि भारतको केइसी इन्टरनेसनल लिमिटेडसँग ०७५ पुस १० गते भएको खरिद सम्झौता ०७५ फागुन १० मा कार्यान्वयनमा आएको थियो। ३४.७ किलाेमिटर प्रसारणलाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ। यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका– ४ र बन्दीपुर गाउँपालिका– ६ मा ३३/११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । उक्त सबस्टेसनसम्म विद्युत् पुर्‍याउन ३३ केभी लाइन निर्माण गरिएको छ। तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर लाग्ने भएकामा एसियाली विकास बैंकले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार–नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ।