
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्पमा परेका पीडित परिवालाई राहत सामग्री वितरण गर्ने भएको छ। भूकम्पले घरबारविहीन भएका उनीहरूलाई त्रिपाल, खाद्यान्न, लत्ताकपडालगायतका सामग्रीसहित अध्यक्ष डा. बद्री केसीको नेतृत्वको एक टोली प्रभावित क्षेत्रमा आज जाने भएको छ।
अध्यक्ष केसीका अनुसार भूकम्पपीडित चार सय परिवारलाई संघले राहत सामग्री वितरण गर्न लागेको छ। अध्यक्ष डा. केसीसहित महासचिव गौरीराज जोशी, उपमहासचिव प्रवीण गुरुङ, सचिव मनोज गोर्खाली, सहकोषाध्यक्ष अभिमन्यु बस्नेत, एनसिसी यूएईका अध्यक्ष विकास शाहीलगायतको टोली राहत सामग्री लिएर जाजरकोट जान लागेकाे हाे ।
संघले त्रिपाल, खाद्यान्न, ओछ्याउने म्याट्रेस, लगाउने न्यानो कपडा, स्यानिटरी प्याडलगायतका सामग्री वितरण गर्ने राहत अभियानलाई संयोजन गरिरहेका संघका सचिव गोर्खालीले बताए। ‘हामी आइतबार नै त्यहाँ पुग्न कोसिस गर्दै छौँ। त्यहाँका पीडित परिवारलाई निरन्तर सहयोग गर्न हामी खटिनेछौँ,’ उपमहासचिव प्रवीण गुरुङले भने।
जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति ११:४७ मा गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन्। यसअघि संघले पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने जनाएको थियो।
संघले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतका लागि आर्थिक सहयोग संकलन तथा अन्य आवश्यक कार्यमा यथाशक्य छिटो जुट्न सबै राष्ट्रिय समन्वय परिषद्हरू तथा विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रहसमेत गरेको छ।