१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o८:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

सिंगो वडामा ३९ परिवारको मात्र धनीपुर्जा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:o७:oo

इलामको माङसेबुङ गाउँपालिका– ४ की अनन्तमाया देवान (९०) चार दशकदेखि बस्दै आएकी छिन् । यहीँ उनका श्रीमान् बिते । उनले चार दशकदेखि भोगचलन गर्दै आएको ५० रोपनी जग्गाको स्वामित्व अझै उनको भएको छैन । अर्थात् उनी भूमिहीन सुकुमबासी हुन् । ‘यत्तिका वर्ष भयो । अझै जग्गाको धनीपुर्जा पाएका छैनौँ,’ उनले भनिन्, ‘धेरैपटक निवेदन दियौँ । धनीपुर्जा पाएनौँ । जग्गाधनी पुर्जा देख्न पाउँदिनँजस्तै लाग्न थाल्यो ।’ 

तर, शनिबार उनको आँखामा हर्षका आँसु देखिन्थ्यो । किनकि उनलाई जग्गाधनी पुर्जा प्रमाणपत्रका लागि दिएको निवेदनको निस्सा गाउँपालिकाले उपलब्ध गराएको थियो । भूमिहीन सुकुमबासी देवानलाई यसपटकचाहिँ जग्गाधनीपुर्जा पाइन्छ कि भन्ने आस लागेको छ । ‘तीन घन्टा हिँडेर निस्सा लिन आएको छु । यसपटकचाहिँ धनीपुर्जा पाउँछु कि भन्ने लागेको छ,’ उनले भनिन् । 

उनी मात्र होइन, माङसेबुङ– ४ मा ९० प्रतिशत नागरिकको जग्गाको धनीपुर्जा छैन । पुस्तौँ भोगचलन गरेको जग्गाको स्वामित्व नहुँदा सुकुमबासी भएर स्थानीयले जीवन बिताउनुपर्ने बाध्यता छ । माङसेबुङ– ४ का वडाध्यक्ष नवीन लिम्बूका अनुसार यहाँ चार सय ५७ परिवारको बसोवास छ । जसमध्ये ३९ परिवारको मात्र जग्गाधनी प्रमाणपुर्जा रहेको उनले बताए । वडावासीमध्ये १० प्रतिशतसँग मात्र जग्गाधनी प्रमाण पुर्जा रहेको उनले बताए । ९० प्रतिशतसँग अझै जग्गाको स्वामित्व नरहेको वडाध्यक्ष लिम्बूले बताए । जग्गाधनी प्रमाण पुर्जा नहुँदा स्थानीय बसाइँसराइको समस्या रहेको उनको भनाइ छ । 

पुस्तौँ भोगेको जग्गालाई स्थानीयले अझै आफ्नो भन्न सकेका छैनन् । ‘पुस्तौँ भयो भोगचलन गरेको, तर जग्गाको धनीपुर्जा पाएका छैनौँ । आफूनै जग्गालाई आफ्नो भन्ने अधिकार हामीलाई छैन,’ भूमिहीन दलित सुकुमबासी धनबहादुर विकले भने, ‘अहिले वडामा बोलाएर निस्सा दिए । अबचाहिँ धनीपुर्जा पाइन्छ कि भन्ने आस छ ।’

माङसेबुङ– ४ मा दुई सय ५९ परिवार अव्यवस्थित बसोवासी, १४७ परिवार भूमिहीन सुकुमबासी र सात परिवार भूमिहीन दलित सुकुमबासी रहेको माङसेबुङ गाउँपालिकाका प्रवक्ता सुशन राईले जानकारी दिए । जग्गा धनी प्रमाणपुर्जाका लागि निवेदन दिएकालाई शनिबार गाउँपालिकाले निवेदनको निस्सा वितरण गरेको प्रवक्ता राईले बताए । माङसेबुङ गाउँपालिकाकै सबैभन्दा धेरै भूमिसम्बन्धी समस्या माङसेबुङ– ४ मा रहेको गाउँपालिका उपाध्यक्ष विनोद नेम्वाङले जानकारी दिए । 

माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले पुस्तौँ भोगचलन गरेर पनि जग्गाधनी प्रमाण पुर्जा नहुनुको पीडा गाउँपालिकाले महसुस गरेको बताए । उनले भूमि समस्यालाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरिरहेको बताए । ‘आफ्नै जग्गालाई पनि आजसम्म आफ्नो महसुस गर्न पाएका छैनन् । कतिले त धनीपुर्जाको आसमा नै जीवन बिताए,’ उनले भने, ‘भूमिहीनको समस्या चाँडोभन्दा चाँडो समाधान गर्नेछौं ।’

ad
ad