१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० कार्तिक १७ शुक्रबार १०:४६:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० कार्तिक १७ शुक्रबार १०:४६:००

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन महिना कैद र १० हजार जरिवानाको फैसला गरेको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको करिब चार महिनामै अदालतले फैसला सुनाउँदै ११ आरोपीमध्ये १० जनालाई दोषी ठहर गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार अध्यक्ष साहसहित गाउँपालिकाकी पूर्वउपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, वडा नम्बर ६ का तत्कालीन अध्यक्ष हरिबहादुर बानियाँ, वडा नम्बर ७ का नेत्रप्रसाद उप्रेती र वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष मोतीलाल गणेशलाई पनि समान सजायको फैसला भएको छ । गाउँपालिकाका इन्जिनियर अभिशेष दास र सबइन्जिनियर विज्ञान चम्लागाईंलाई तीन महिना कैद र १० हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । 

भ्रष्टाचारमा मुछिएका उपभोक्ता समितिका पदाधिकारी पनि दोषी ठहर भएका छन् । लक्ष्मीमार्ग बाटो उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणीन्द्रप्रसाद खरेल, कोषाध्यक्ष सन्तमाया सुब्बा लिम्बूलाई चार महिना कैद र चार लाख ४१ हजार नौ सय ६४ रुपैयाँ जरिवाना भएको छ । 

गाउँपालिकाका प्रशासकीय अधिकृत चोलाराज दंगालको भने अनियमिततामा प्रस्ट मिलेमतो नदेखिएको भन्दै उनले सफाइ पाएका छन् । आर्थिक वर्ष ०७४/७५ मा झापा गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ मा बाटो ग्राभेल गर्दा वास्तविक कामभन्दा धेरै काम भएको नापी किताब तयार गरी नक्कली बिल बनाएर भुक्तानी गरी भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले गत २७ असारमा मुद्दा दायर गरेको थियो । २२ लाख आठ सय २३ रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबीअनुसार नै विशेषले फैसला सुनाएको हो ।