
जलेश्वर कारागारका कैदीबन्दीले रक्तदान गरेका छन्। पवित्र दिन इदको अवसरमा कारागारमा आयोजित रक्तदान कार्यक्रममा कैदीबन्दीले स्वतस्फूर्त रूपमा रक्तदान गरेका हुन्।
विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि रहेका ४८ कैदीबन्दी, एक सुरक्षाकर्मी र एक कार्यालयका कर्मचारी गरी कुल ५० जनाले रक्तदान गरेका जेलर रामचन्द्र साहले जानकारी दिए।
कारागार कार्यालयको व्यवस्थापन र नेपाल रेडक्रस सोसाइटी महोत्तरीको सहयोगमा बिहीबार गरिएको रक्तदानले रगत अभावमा ज्यान नै जोखिममा परेका आममानिसलाई ठूलो राहत भएको जेलर साहले बताए।
नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंकमा राखिने उक्त रगत आवश्यक परेका बिरामीलाई उपलब्ध गराइनेछ।