१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार o६:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

बर्दिया कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:४४:oo

क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा बर्दिया कारागार व्यवस्थापनमा समस्या परेको छ । धेरैजना एकै ठाउँमा बस्नुपर्दा उनीहरूको जीवन कष्टपूर्ण बनेको छ । एक सय ५० जनाको क्षमता रहेको बर्दिया कारागारमा तीनजना आश्रित बालबालिका गरी चार सय ५१ जना छन् । 

कारागारभित्रको सानो कोठामा कोच्चिएर सुत्नुपर्ने बाध्यता छ । कारागारमा हुनुपर्ने पर्याप्त कोठासमेत नभएको कैदीबन्दीहरूको गुनासो छ । शौच गर्न, नुहाउनलगायत व्यक्तिगत सरसफाइका लागि समेत लामो लाइन बस्नुपर्ने बाध्यता छ । खेल्न र शारीरिक व्यायामका लागि पर्याप्त ठाउँ छैन । खाना पकाउन र खान सास्ती भोग्नुपर्ने अवस्था छ । न्यूनतम सेवा–सुविधा पाउन पनि मुस्किल भएको एक कैदीले बताए । ‘राम्रोसँग सुत्नसम्म पाइँदैन, कोल्टे फर्कने ठाउँसम्म हुन्न,’ उनले भने, ‘अब गर्मीको समयमा झनै सास्ती हुन्छ ।’

बर्दिया कारागारका मूल नाइके खुसीराम चौधरीले संविधानमा कारागारलाई सुधारगृहका रूपमा उल्लेख गरिए पनि व्यावहारिक रूपमा त्यो नभएको बताए । ‘मानव अधिकारका न्यूनतम आवश्यकता पनि कारागारभित्र प्राप्त गर्न सकेका छैनौँ,’ उनले भने । शुद्ध खानेपानी पिउन, व्यक्तिगत सरसफाइ गर्न, समयमा औषधि उपचार गर्न, मनोरञ्जनका लागि खेल्ने ठाउँको कमी भएको चौधरीले बताए । पुरुष कारागारलाई भन्दा आफूहरूलाई बस्न निकै कष्टकर भएको महिला कैदीहरू बताउँछन् ।

बर्दिया कारागारमा चार सय दुईजना पुरुष कैदीबन्दी छन् । जसमध्ये दुई सय ७४ जना कैदी र एक सय २८ जना बन्दी छन् । २५ जनाको क्षमता रहेको महिला कारागारमा २८ जना कैदी, १८ जना बन्दी र तीनजना आश्रित बालबालिका गरी ४९ जना छन् । बर्दिया कारागारका प्रशासक काशीप्रसाद पंगेनीले क्षमताभन्दा धेरै कैदीबन्दी भएकाले उनीहरूलाई न्यूनतम सेवा–सुविधा दिन कठिनाइ भएको बताए । भौतिक संरचनाको अभावमा बस्न खान समस्या रहेको उनको भनाइ छ । कारागारमा कैदीबन्दीलाई बस्न सहज होस् भनेर कोसिस गरिरहेका छौँ,’ उनले भने, ‘क्षमताभन्दा बढी भएकाले पनि सेवासु–विधा दिन कठिनाइ भएको हो ।’ 

बर्दिया कारागारको कैदीबन्दीलाई राख्ने भवन पुरानो छ । पछिल्लो समयमा कारागार भवन भूकम्प प्रतिरोधी बनाउने भनिए पनि वर्षाका वेला बर्दिया कारागारमा पानी चुहिने समस्या छ । समयसमयमा मर्मत–सम्भार गरेर कामचलाउ बनाइरहेको कारागारका एक कर्मचारीले बताए । ‘सकेसम्म नचुहिने बनाएर राखेका छौँ,’ उनले भने, ‘भूकम्प आयो भने त थेग्न सक्दैन होला, जोखिमपूर्ण छ ।’ 

पुरानो भवन भएकाले विद्युत् वाइरिङमा पनि समय–समयमा समस्या आउने गरेको उनले बताए । वर्षौँ पहिले बनेको भवनमा व्यवस्थित विद्युत्, पानी र शौचालय छैन । बर्दिया कारागारको नाममा दुई बिघाभन्दा बढी जग्गा भए पनि महिला र पुरुष ब्लक र कार्यालय प्रयोजनका लागि बढीमा १५ कट्ठा जग्गा प्रयोग भएको कारागार प्रशासनले जनाएको छ । सबै जग्गालाई सुरक्षित रूपमा कम्पाउन्ड गरेर आधुनिक भवन बनाउनुपर्ने आवश्यकता देखिएको बर्दिया कारागारका प्रशासक काशीप्रसाद पंगेनीले बताए । 

कारागारमा रहेकामध्ये २२ जना विदेशी नागरिक
बर्दिया कारागारमा रहेका कैदीबन्दीमध्ये अधिकांश जबर्जस्ती करणीको मुद्दामा थुनिएका छन् । थुनामा रहेका चार सय ४९ मध्ये ३७.४७ प्रतिशत अर्थात् एक सय ६९ जना जबर्जस्ती करणी मुद्दाका छन् । उनीहरूमध्ये एक सय २३ जना कैदी र ४६ जना बन्दी छन् । जबर्जस्ती करणी प्रयासमा २५ जना थुनामा छन् । बर्दिया कारागारमा लागुऔषध तथा औषधिसम्बन्धी कसुरमा ८१ जना छन् । कर्तव्यज्यान मुद्दामा ४९ जना थुनामा छन् । कारागारमा रहेकामध्ये २२ जना विदेशी नागरिक छन् । 

ad
ad