१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o७:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

महासचिव गुटेरेस पोखरामा, आज अन्नपूर्ण आधार शिविर जाँदै 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o७:४६:oo

चारदिने नेपाल भ्रमणका लागि आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेस सोमबार पोखरा आएका छन् । उनी मंगलबार बिहान अन्नपूर्ण आधार शिविर जाने कार्यक्रम छ ।

महासचिव गुटेरेसले पोखराको प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य पुम्दीकोट पुगेर अवलोकन गरे । करिब आधा घन्टा पुम्दीकोटमा बिताएका उनले महादेवको विशाल मूर्तिसँगै यहाँबाट देखिने हिमाली दृश्यावलोकन गरे भने फेवातालसहित पोखराको अवलोकन गरेका थिए । साथै, महासचिव गुटेरेसले फेवातालमा नौका विहार गरेका छन् ।

नेपाली सेनाको जहाजबाट आएका उनलाई पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे र जिल्लास्थित सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर महासचिव गुटेरेसलाई पञ्चेबाजा र विभिन्न सांस्कृतिक झाँकीसहित स्वागत गरिएको थियो । विमानस्थलबाट उनी सीधै फिस्टेल लज पुगेका थिए । उनी त्यहीँ बसेका छन् । फिस्टेल लजदेखि तालबाराही मन्दिरसम्म पुगेर उनले दृश्यावलोकनसँगै ताल र हिमालबारे जानकारी लिएका थिए । 

कास्कीका प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार मंगलबार बिहान गुटेरेस नेपाली सेनाको हेलिकोप्टरबाट ४,१३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर जानेछन् । उनले आधार शिविरमा करिब ३० मिनेट समय बिताउनेछन् । महासचिव गुटेरेसले त्यहाँ स्थानीय बासिन्दासँग जलवायु परिवर्तन र त्यसका असरबारे कुराकानी गर्नेछन् ।

आधार शिविरबाट पोखरा फर्केर उनी बिहानै लुम्बिनी जाने कार्यक्रम छ । त्यसपछि महासचिव गुटेरेसले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधबार कतारको दोहा भएर लन्डन हुँदै न्युयोर्क फर्किने कार्यक्रम छ ।

महासचिवका रूपमा पहिलोपटक आए पनि गुटेरेस यसअघि पनि नेपाल आएका थिए । उनको यो दोस्रो भ्रमण हो । उनी यसअघि सन १९७८ मा पोखरा आएका थिए । 

उनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्ता गरेका थिए । उनले पाटन दरबार क्षेत्रको अवलोकन गरेका थिए । आइतबार साँझ उनको सम्मानमा प्रधानमन्त्री प्रचण्डले रात्रिभोज आयोजना गरेका थिए । 

ad
ad