Skip This
टी–२० विश्वकप एसियन छनोट : नेपाललाई घरेलु मैदानमै छनोट हुने अवसर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १३ सोमबार
  • Saturday, 27 July, 2024
आजदेखि सुरु हुने टी–२० विश्वकप छनोटका लागि त्रिवि मैदानमा प्रशिक्षण गर्दै नेपाली खेलाडी । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
रमेश सुवेदी काठमाडाैं
२o८o कार्तिक १३ सोमबार o६:५२:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० विश्वकप एसियन छनोट : नेपाललाई घरेलु मैदानमै छनोट हुने अवसर

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टी–२० विश्वकपपछि नेपाल छनोट भएको छैन, आजदेखि सुरु हुने एसियन छनोटको शीर्ष दुई स्थानमा रहने टोलीले विश्वकपमा स्थान बनाउनेछन्

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८o कार्तिक १३ सोमबार o६:५२:oo

नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा आजबाट आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोट खेल्दै छ । अर्को वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले सिंगापुरविरुद्ध खेल्दै प्रतियोगिता सुरु गर्नेछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पछिल्लो समयमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । यद्यपि, गत साता त्रिकोणात्मक टी–२० सिरिजको फाइनलमा नेपाल युएईसँग स्तब्ध भएको थियो । 

नेपालले त्रिकोणात्मक सिरिजको फाइनलमा गरेको गल्ती सुधार गरी सिंगापुरविरुद्ध प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ । घरेलु मैदान, दर्शक र खेलाडी लयमा हुँदा नेपाली टोली आत्मविश्वासी छ । कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाई मनोवैज्ञानिक रूपमा तयार भएको बताउँछन् । उनीहरू सबैमा सकारात्मक ऊर्जा भएकाले छनोट हुनेमा विश्वस्त देखिएका छन् । 

कप्तान पौडेलले विश्वकप छनोट खेल्न टोली उत्साहित रहेको बताएका छन् । छनोट प्रतियोगिताको आइतबार भएको प्रि–म्याच कन्फरेन्समा कप्तान पौडेलले पछिल्लो ६–७ महिना ब्याटिङ राम्रो र खेलाडीको लय पनि उच्च रहेको प्रतिक्रिया दिएका छन् । ‘हाम्रो ६–७ महिनायता ब्याटिङमा राम्रो भएको छ । समग्रमा टोलीको प्रदर्शन सन्तुलित छ । सबै लयमा रहँदा विश्वकपमा छनोट हुन्छौँ भन्ने विश्वास छ,’ २१ वर्षीय पौडेलले भने । उनले नयाँ प्रतियोगितामा ध्यान केन्द्रित गर्ने बताएका छन् ।

‘त्रिदेशीय शृंखलाको फाइनलमा आशाअनुरूपको प्रदर्शन हुन सकेन । फाइनलको अन्तिम १० ओभरमा ब्याटिङ राम्रो भएन । तर, हिजो के भयो भन्ने कुरा बिर्सिसकेका छौँ,’ उनले भने, ‘त्यो हाम्रो नियन्त्रणमा रहेन, अबको खेल हामीले नियन्त्रणमा राख्न सक्छौँ । अबको ध्यान आउने प्रतियोगितामा छ ।’ उनले टी–२० विश्वकप छनोटलाई ठूलो अवसरका रूपमा लिएका छन् । ‘अहिले हामीलाई ठूलो अवसर छ, घरेलु मैदानमा हुने हुँदा यसलाई सम्मान गर्दै खेल्नेछौँ,’ उनले भने । 

मुख्य प्रशिक्षक देसाईले पौडेलको कप्तानीमा १५ सदस्यीय खेलाडी छनोट गरेका छन् । टोलीमा लेग स्पिनर सन्दीप लामिछानेले पुनरागमन गरेका छन् । सन्दीपले त्रिदेशीय शृंखला खेलेका थिएनन् । पारिवारलाई समय दिने भन्दै उनले टोलीबाट नाम फिर्ता लिएका हुन् । 

शृंखला खेलेको टोलीबाट लोकेश बम, सूर्य तामाङ, श्याम ढकाल र सागर ढकालले स्थान बनाउन सकेनन् । टोलीमा विवेक यादव र अनुभवी विनोद भण्डारीले स्थान बनाउन सफल भएका छन् । टोलीमा कप्तान रोहित, सन्दीप, विनोद र विवेकसँगै कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी समावेश छन् ।

दुई टोली विश्वकपमा छनोट हुने
आइसिसी टी–२० विश्वकप छनोटमा नेपालसहित कुल आठ टिम सहभागी छन् । दुई समूहमा चार–चार टोली रहेका छन् । समूह ‘ए’का सबै खेल त्रिवि मैदानमा हुनेछ । यो समूहमा आयोजक नेपालसहित सिंगापुर, मलेसिया र ओमान छन् । नेपालले १४ कात्तिकमा मलेसिया र १६ कात्तिकमा ओमानसँग खेल्नेछ । समूह ‘बी’का सबै खेलसहित सेमिफाइनल मूलपानी माथिल्लो मैदानमा हुनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोलीले सेमिफाइनल स्थान बनाउनेछन् । फाइनल पुग्ने दुई टोलीले टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् ।

अर्ना बियरले एक रनको एक हजार नगद दिने
अर्ना बियरले टी–२० विश्वकपको एसिया छनोटमा नेपाली खेलाडीका लागि नगद पुरस्कार घोषणा गरेको छ । अर्ना बियरले विश्वकप छनोटमा नेपालका खेलाडीले बनाउने प्रत्येक रनको एक हजार रुपैयाँ, चौकाको थप १० हजार रुपैयाँ, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।त्यस्तै, बलिङतर्फ एक डट बलबराबर एक हजार रुपैयाँ, मेडन ओभरको १० हजार रुपैयाँ र हरेक विकेटमा २५ हजार रुपैयाँ दिने कम्पनीले जनाएको छ । 

नेपाललाई स्वर्णिम अवसर
मोन्टी देसाई, मुख्य प्रशिक्षक, नेपाल

नेपालका लागि विश्वकपमा छनोट हुने स्वर्णिम अवसर हो । हामीले सन्दीपसहित केही मुख्य खेलाडीलाई विश्राम दियौँ । सबै खेलाडी ऊर्जावान् छन् । प्रतियोगिताका लागि तयार छौँं । हाम्रो लागि विश्वकप छनोट हुने स्वर्णिम अवसर हो । पछिल्लो समय नेपाली क्रिकेटले राम्रो प्रदर्शन गर्दै आएको छ । नेपालले एकदिवसीय र टी–२० खेलहरूमा सानदार प्रदर्शन गरेको छ । सहभागी सबै टोलीको लक्ष्य विश्वकप हो । हामीलाई दबाब पनि छ । तर, हामी यो दबाब थेग्दै विश्वकपमा छनोट हुनेछौँ । टी–२० मा सबै टोली उत्कृष्ट हुन्छन् । यो छोटो खेल उत्तिकै महत्वपूर्ण हुन्छ । सबैको योजना च्याम्पियन बन्ने हो । त्रिकोणात्मकको फाइनल के भयो, त्यसमा ध्यान दिन्नौँ । ड्रेसिङ रुम नयाँ छ । 

जसरी पनि छनोट हुन्छौँ
रोहितकुमार पौडेल, कप्तान, नेपाल 

त्रिकोणात्मक सिरिजको फाइनलको नतिजा बिर्सेका छौँ । त्यो फाइनल हाम्रो नियन्त्रणमा थिएन, अबको खेल नियन्त्रणमा राख्न चाहन्छौँ । प्रतियोगिताका लागि सबै खेलाडी उत्साहित छौँ । घरमा खेल्न उत्साहित छौँ । जसरी पनि छनोट हुनुपर्छ । अहिले पनि सन् २०१४ को फिलिङ आउँछ । सन्दीप आउँदा टोली राम्रो भएको छ । दिनको वातावरण हेरेर बलरलाई प्रयोग गर्छाैं । ६–७ महिनायता राम्रो भएको छ । दर्शक समर्थन गर्न आउँदा वातावरण पनि सहज हुन्छ । दर्शकको साथ सधैँ महत्वपूर्ण हुन्छ ।